PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किट सकिएपछि भक्तपुर अस्पतालमा रोकियो आरडीटी, पीसीआरका लागि स्वाब संकलन भने जारी



रासस

किट सकिएपछि भक्तपुर अस्पतालमा रोकियो आरडीटी, पीसीआरका लागि स्वाब संकलन भने जारी

भक्तपुर : भक्तपुर अस्पतालमा किट सकिएपछि सोमवारदेखि आरडीटी रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिएकी छिन्। अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब संकलन भने जारी राखेको छ।

सोमवार दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब संकलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले जानकारी दिइन्। अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडीटी र ६०५ जनाको पीसीआर गरी कूल एक हजार ३९२ को कोरोना परीक्षण गरेको छ।

त्यसैगरी, भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। नगरपालिकाले शुरुमा गरेको आरडीटीमा एक वडा सचिव र अर्की सफाइ मजदूरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए।

नगरपालिकाले गरेको पीसीआर परीक्षणमै उक्त नगरपालिकाको वडा नम्बर ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो। उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको उनले जानकारी दिइन्। भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी २०० को पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ।

त्यसैगरी, भक्तपुर नगरपालिका भेलुखेलका एक पुरुषमा कोरोना संक्रमण भएपछि यहाँका १६ जनामा गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै, कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्ने भक्तपुरका दुई युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

भक्तपुरका स्वयंसेवी अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको शव गाडीमा राखेर पशुपतिस्थित विद्युतीय शवदाह गृह पुर्‍याई व्यवस्थापन गरेका थिए। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दुवैजना आजै क्वारेन्टाइनबाट निस्किएर भक्तपुर अस्पतालमा विगतझै स्वयंसेवकको काममा फर्किएका छन्।

युवा सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर काम गर्दै आएका छन्। सैंजू र गाइँजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर कोरोनाको परीक्षणमा आउने व्यक्ति तथा स्वाब संकलन गरी पुर्‍याउने, आइसोलेसनमा रहेका बिरामीको रेखदेख गर्ने लगायतका काम गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell