PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रहरीको 'फोकस' सवारी साधनमा, पसलहरू फाटफुट खुल्ला



पहिलोपोस्ट

प्रहरीको 'फोकस' सवारी साधनमा, पसलहरू फाटफुट खुल्ला

काठमाडौँ : सरकारले लकडाउन घोषणा गरेको दुई महिना पूरा भएको छ। तर लकडाउन अझै जारी नै छ। सरकारले लकडाउनलाई थप कडाइ गर्ने बताइरहेको छ। तर पहिलेको महिनाभन्दा अहिले काठमाडौँ उपत्यकाभित्रका सडकमा मानिसको चहलपहल केही बढेको छ। कीर्तिपुर, मैतीदेवी, नक्साल, जोरपाटी, चाबहिल, गौशाला लगायत स्थानमा बिहान मानिसको चहलपहल बढेको छ।

पहिलै झैँ सुरक्षाकर्मीको उपस्थिति कम देखिएको छ। सडकमा रहेका सुरक्षाकर्मीले पनि मानिसलाई घर फर्काउने गरिरहेका छैनन्। अत्यावश्यक पसलदेखि अन्य पसलहरू समेत खुल्न थालेका छन्। तर ट्राफिक प्रहरीले भने सडकमा गुड्ने सवारी साधनलाई चेक गरिरहेको छ।

'हामीलाई सवारी साधन आवतजावतमा कडाइ गर्ने निर्देशन छ। त्यसैले पनि हाम्रो फोकस छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

गृह मन्त्रालयले उपत्यकाभित्र थप कडाइ गरेको छ। अत्यावश्यक कामको लागि आउने मानिसले पनि आफ्नो स्वास्थ्य चेक गराएको आरडीटी रिपोर्ट देखाउनुपर्ने छ। प्रहरीले नाकामा पनि कडाइ गरेको छ।

'नाकामा चेक गरेर। सम्बन्धित निकायले अनुमति दिएको छ छैन बुझेरमात्र प्रवेश गराउँछौँ,' एसएसपी ढकालले भने।

काठमाडौँ उपत्यकाभित्र अहिले पनि अनावश्यक रूपमा सवारी साधन लिएर निस्किनेको सङ्ख्यामा कमी आएको छैन। दैनिक २/३ सय सवारी चालक कारबाहीमा पर्ने गरेका छन्। 'काम नै नभई निस्किने मानिस पनि छन्। त्यस्ता सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिरहेका छौँ,' महाशाखाका एसएसपी ढकालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell