PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

संक्रमित श्रीमान् कोरोनाको क्याम्पमा, श्रीमती चाहिँ सडकको ड्युटीमा

संक्रमित श्रीमान् कोरोनाको क्याम्पमा, श्रीमती चाहिँ सडकको ड्युटीमा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : इमोबाट भिडियो कल अन हुन्छ। दैनिक सम्पर्कलाई यसैले जोडेको छ। तर, यसपटक भने भिडियोमा देखिएका दृश्यले लीलाको आँखामा केही बिझाएँ झै भयो। नियमित देखेभन्दा फरक दृश्य। मानिस उही तर ठाउँ फरक। सधैँ एउटै पृष्ठभूमिबाट बोलिरहने लीलाका श्रीमान् फरक ठाउँमा देखिए। स्थान परिवर्तनले उनको मनमा शङ्का उब्जिनु स्वाभाविक बन्यो।

'तपाईँ कहाँ हो? तपाईँ मसँग झुट बोलिरहनु भएको हो?'

उनले प्रश्नपछि प्रश्न गरिन्।

'जो हो त्यही भन्नु।'

भिडियो कलबाटै उनले कौतुहलता सहित प्रश्न गरिन्। उनले अब श्रीमतीलाई झुट बोल्न सक्दैन थिए। तरऽ उनले हत्तपत्त केही भन्न सकेनन्।

अन्ततः नभनिरहन पनि सकेनन्।

'मेरो रिपोर्टमा पोजेटिभ देखायो। त्यसैले कोठाबाट यहाँ ल्याएर राखेका छन्,' उनले श्रीमतीलाई भने।

श्रीमानको कोरोना सङ्क्रमण रिपोर्ट पोजेटिभ आएको सुनेपछि उनको होसहवास नै गुम्यो। मन चिसो भयो। हातखुट्टाहरू कापे जस्तै भए। दिनै सङ्क्रमितको सङ्ख्या र मृत्युको खबर सुनिरहेका बेला आफ्नै श्रीमानले आफूलाई कोरोना भएको छ भन्दा कसको मनले ठाउँ नछोड्ला र! उनमा पनि भयो त्यही।

लीलालाई त्यो क्षण सम्झँदा पनि ऐठन हुन्छ। त्यो अवस्था सम्झिएर बोल्ने शब्द नै भेट्दिनन्। उनलाई खोज्नु पनि छैन। उनमा आत्मबल बलियो छ। थाहा छ कोरोना संक्रमित उनका पति सजिलै जितेर फर्किने छन्। कतारमा कोरोना संक्रमित भएका नेपालीको संख्या ७ हजारभन्दा धेरै छन्। लीलाका श्रीमान् तिनैमध्येका एक प्रतिनिधि पात्र पनि हुन्।

+++

सरकारले लकडाउन घोषणा गरेपछि लीलाको दैनिकी फेरिएको छ। बिहान १० बजेसम्म घरको सबै काम सकाउँछिन्। छोरीलाई पकाएर खुवाउँछिन् अनि सुरु हुन्छ पेशागत काम।

पोशाक लगाउँछिन्,स्कुटर लिएर निस्किन्छिन्। साथमा स्यानिटाइजर, मास्क, पन्जा, चस्मा लगायत कोरोना सङ्क्रमणबाट जोगिन लगाउने सुरक्षाका सामाग्री भने टुट्दैन। झन् आफ्नै विरादरीका मानिसमा कोरोना सङ्क्रमण देखिन थालेपछि झनै सजकता अपनाउनु पर्ने देखिएको छ। त्यसैले उनी सचेत छिन्।

श्रीमान् कोरोना सङ्क्रमण भएर आइसोलेसनमा, श्रीमती ड्युटीमा। त्यसैले केही खल्लो अनि भरिएको मन लिए उनी सडकमा खटिन पुग्छिन्। लीला अर्थात् प्रहरी सहायक निरीक्षक (असई) लीला भट्टराई।

सोमवार पनि उनी ड्युटीमा नै थिइन्। उनी फुर्तीका साथ खटिरहेकी थिइन्।

'उहाँलाई संक्रमण भयो भनेर चिन्ता गरेर ड्युटीमा नखटिएर कामै नगर्न पनि भएन। सम्झना आइरहेको हुन्छ त्यसैले आत्मादेखि नै भगवानसँग चाँडो निको होस् भनेर पुकार गरिरहेको छु,' मनमा जे भए पनि उनको बोलीमा चाहिँ आत्मविश्वास सुनियो।

उनको ड्युटी अहिले सडकमा गुड्ने सवारीको चेक गर्ने हो। सम्वन्धित निकायबाट अनुमति लिएर गुडेका छन् कि छैनन्? कामको चाप र खाजा पानी खाने समयमा श्रीमानलाई सम्झिएर कुराकानी पनि भ्याइहाल्छिन्। हामीसँग कुराकानी हुनु केही अघिमात्रै श्रीमानसँग कुरा भएको सुनाइन्।

श्रीमानसँग केहीबेर कुराकानीले मन थोरै नै सहि ढुक्क हुने सुनइन्। उनका श्रीमानले केही नहुने र चाँडै निको भएर फर्किने आश्वासन दिएका छन्। समुन्द्रपारबाट भएको भर्चुअल भेटले उनको आत्मबल थप बढेको छ।

'यतिखेर झनै ड्युटी गर्नुपर्‍यो। बिदा पनि त मिल्दैन। मिल्यो भने पनि के गर्नु? बरु काम गर्दा नै मन भुल्छ। ‌यही नै ठीक लाग्यो,' लीलाले भनिन्। प्रहरी प्रधान कार्यालय नक्सालले आफ्ना मातहतका कार्यालयमा पत्राचार गर्दै अत्यावश्यक कामबाहेक बिदा नदिन परिपत्र गरेको छ। त्यो उनका हकमा पनि उत्तिकै लागू हुने भइगो।

जेठको चर्को घाम। गुम्म परेको वातावरण। केही नभनी फुर्तीका साथ सडकमा खटिनुपर्ने पेशा। त्यसमाथि कोरोना संक्रमणको जोखिम प्रहरीमा उच्च देखिएको छ। पछिल्लो समय संक्रमितको संख्या थपिँदा ड्युटीमा खटिइरहेका प्रहरीहरु सधैं नै भेटिने गरेका छन्। त्यसैले सचेत हुनको विकल्प छैन। 'विभागले दिएको सबै सामाग्री प्रयोग गरेको छु। यति सजकता अपनाउँदा पनि कोरोना लाग्यो भने के गर्नु? भगवान भरोसा न हो। आत्मबल बढाउनु बाहेक अन्य औषधी पनि छैन त,' उनले भनिन्। उनलाई सुरक्षाका लागि चाहिँ सामग्री विभागले उपलब्ध गराएको छ।

घरमा बसेर सहजकता अपनाउनु र सडकमा खटिएर ड्युटी गर्दा सावधानी उपनाउनुमा धेरै अन्तर छ। किनकि सडकमा कुनबेला कस्ता मानिससँग जम्काभेट हुने हो भर हुन्न।

उनकी १८ वर्षीय जेठी छोरी कोठामा आमा आउने आशामा बसिरहेकी हुन्छिन्। ११ वर्षीय कान्छी छोरीलाई परीक्षा सकिएपछि मामघर झापा पठाएकी थिइन्। पठाएको दुई दिनमा नै सरकारले लकडाउन घोषणा गर्‍यो। झापाबाट काठमाडौं आउने सबै बाटो बन्द भए। त्यसपछि चार जनाको परिवार तीनतिर भएको छ। त्यसैले लीलाको मन कहिले कतारमा संक्रमित भएका श्रीमानतिर पुग्छ। कहिले झापामा रहेकी कान्छी छोरीतिर। कोठामा भएकी जेठी छोरी के गर्दै होलिन् भन्ने पनि उतिकै।

श्रीमानलाई कोरोना भएको उनले आफ्नो परिवारबाहेक अरुलाई भनेकी छैनन्। किन हो उनलाई सुनाउन मन लागेन।

'धेरैलाई थाहै छैन। सुनाएर के गर्नु? मैले यसरी काम गरिरहेको देखेर पनि कतिले थाहा नै पाएका छैनन्। आजमात्र मेरो इन्चार्जले थाहा पाएर सोध्नु भयो,' लीलाले भनिन्।

‍‍‍‌+++

एक दशक बढी भयो लीलाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेका। दशैं तिहार मनाउन आएका उनी गएको मंसिर १० मा कतार पुगेका थिए।

वैशाख २५ गते लीलाको श्रीमानसँग पहिलै झै इमोमा कुराकानी भयो। लकडाउनका कारण कतारमा पनि कसैलाई बाहिर निस्किन दिइएको थिएन। उनी पनि कोठामा लक भए। २५ गते भने एकाएक सन्चो नभएको सुनाए। श्रीमानले सन्चो नभएको र लक्षण सुनाए पनि पहिले नै कोरोना भएको हुन सक्ने आशंका भयो। उनले श्रीमानलाई पटकपटक एम्बुलेन्स बोलाएर अस्पताल जान आग्रह गरिन्। तर, केही दिन ठीक हुने आशमा नै बसिरहे उनी।

तीन दिनपछि लीलाले श्रीमानलाई सम्पर्क गर्न खोजिन्। सम्पर्क भएन। उनी अनलाइनमा समेत नदेखिएको धेरै भएको थियो। लीलालाई झनै चिन्ता भयो। तर केही समयपछि श्रीमान् आफैँले फोन गरे - भिडियोमा श्रीमानको लोकेसन फेरिएको थियो।

कोठाबाट क्वारेन्टाइनमा राखिएको थियो।

'खै त्यहाँको आर्मीले व्यवस्थापन गरेको क्याम्प छ रे। साउदीको बोर्डर पनि पर्दो रहेछ। त्यहाँ बसेको १७ दिन भइसक्यो,' लीलाले भनिन्।

२० वर्षअघि लीलाले उनीसँग अन्तर जातिय बिवाह गरेकी थिइन्। श्रीमान् क्षेत्री, उनी बाहुन। उनका श्रीमान् पनि पहिले त प्रहरीमा नै थिए। २०५८ सालमा रोल्पामा खटिएका। लीलाले छोरी जन्माइन्, न्वारनमा बुबा आउनुपर्ने भयो।

देशमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको थियो। लीलाका श्रीमान छोरीको न्वरानका लागि २०५८ असार अन्तिम साता रोल्पाको होलेरी छाडेर आए। उनी आएको भोलिपल्ट माओवादीले उनी कार्यरत चौकीमा आक्रमण गर्‍यो - एक जना मारिए, बाँकी प्रहरी अपहरणमा परे।

त्यसपछि उनले फेरि जागिर खाने सोच नै बनाएनन्।

'भाग्यले त्यतिखेर त बचाएछ। यो कोरोनाबाट कसो नजोगिएला?,' लीलाले पीडा मिसिएको आवाजमा हाँस्दै भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell