लखनउ : उत्तर प्रदेश (युपी)मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सयभन्दा माथि पुगेको छ। सोमवारमात्रै युपीमा २ सय २९ नयाँ संक्रमित थपिएका छन्। हिजो एकै दिन थप ८ जनाको मृत्यु भएपछि नेपालसँग लामो सीमा जोडिएको युपीमा कोरोनाका कारण मर्नेहरुको संख्या १ सय ६९ पुगेको छ।
युपीमा ६ हजार ५ सय २८ जना संक्रमितमध्ये ३ हजार ६ सय ६० जना ठीक भइसकेका छन्। पछिल्लो समय कोरोना संक्रमितको संख्या भने बढिरहेको छ। त्यसका लागि अन्य राज्यबाट घर फर्केका आप्रवासी मजदूरहरु मुख्य कारण भएको बताइएको छ।
युपीमा ८ लाख ५ हजार आप्रवासी मजदूरको स्क्रिनिङ गरिएको थियो। त्यसमध्ये अन्य राज्यहरुबाट आएका ५४ हजार ८ सय ४९ जना आप्रवासी मुजदूरको परीक्षण गर्दा १६ सय ६३ जनामा संक्रमण देखा पर्यो।
आप्रवासी मजदूरको संख्या कूल युपीमा देखिएको संक्रमितमध्ये ६० प्रतिशत रहेको देखिन्छ।
