काठमाडौं : नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ४ पुग्यो। मृत्यु भएका चार मध्ये तीन जनामा मृत्यु भइसकेपछि मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भयो। त्यसमध्ये एक जनाको कोरोना पुष्टि हुँदा सम्म अन्तेष्टिसमेत भइसकेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भएका मृत्युको कारण कोभिड-१९ नभई डब्लुएचओको गाइडलाइनकै कारण कोरोना भाइरस भन्नुपरेको बताएका थिए। यस्तोमा, विश्व स्वास्थ्य संगठनले यस अवधिमा भएका सबै मृत्युको तथ्याङ्क राख्न निर्देशन दिएको छ।
विश्व स्वास्थ्य संगठनले यस अवधिमा भएका र हुने सबै मृत्युका घटनालाई निगरानीमा राख्न निर्देशन दिएको हो। विशेष गरी निम्न आय भएका देशहरुमा मृत्युका घटना दर्ता २० प्रतिशत भन्दा कम रहेको भन्दै यस्तो निर्देशन दिएको हो। मृत्युको तथ्याङ्कको स्रोत अस्पताल भएको भन्दै निम्न आय भएका देशमा धेरै मृत्यु अस्पताल बाहिर हुने भन्दै त्यस्ता घटनालाई पनि 'रियल टाइम सर्भिलेन्स'मा राख्न निर्देशन दिएको हो। डब्लुएचओले निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो।
'सबै देशहरुले मृत्युको कारण सहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य प्रमाणपत्र दिन सकेका छैनन्। यसले मृत्युको संहिता सम्बन्धी अन्तर्राष्ट्रिय रोगको वर्गीकरण (इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज) लागू गर्न सकेका छैनन्, डब्लुएचओले भनेको छ, 'यसले मृत्युको कारणसम्बन्धी तथ्याङ्कलाई विश्लेषण गर्न कठिन बनाएको छ।'
डब्लुएचओले मृत्यु सम्बन्धी तथ्याङ्क डिजिटाइज, एकीकृत र दर्ता प्रक्रियालाई ध्यानमा दिन भनेको छ। अस्पताल, स्वास्थ्य सेवा, घर अथवा जेल कहाँ मरेको हो भन्ने एकीन भए मृत्युको तथ्याङ्कले विश्लेषण गर्न सजिलो हुने भनेको छ। उसले निम्न तथा मध्यम आय भएका देशहरु मध्ये ७० प्रतिशत मृत्यु समुदायमा हुने र त्यस्तो अवस्थामा कोभिड-१९ जस्ता केसहरुको प्रमाणिकरणमा गाह्रो भएको समेत बताएको छ।
त्यसैले पनि डब्लएचओले स्वास्थ्य संस्थाभन्दा बाहिर हुने मृत्युलाई निगरानीमा राख्न भनेको हो।
'कोभिड-१९ सम्बन्धी मृत्युको पहिचान विश्वव्यापी रुपमा कठिन भइरहेको छ,' डब्लुएचओले भनेको छ, 'धेरै देशहरुमा परीक्षणको सीमितता छ। यसले संक्रमणको लक्षण भएका व्यक्तिहरुको परीक्षणमा पनि बन्देज लगाइरहेको अवस्था देखिन्छ। यसले परीक्षणको नतिजा, कोभिड-१९का केस तथा मृत्युहरुलाई सामान्यीकरण गर्न तथा विश्लेषण गर्न कठिन भएको छ।'
उसले मृत्युका घटनालाई वर्गीकरमा हुने असमर्थताले गलत वर्गीकरण हुने सम्भावना बढाएको समेत बताएको छ।
त्यसैले पनि डब्लुएचओले दर्ता भएका सबै मृत्युका घटनाहरुको तथ्याङ्क उपलबध गराउन आग्रहसमेत गरेको छ।
'रेपिड मोर्टालिटी सर्भिलेन्सको उद्देश्य भनेको निर्णयकर्ताहरुलाई महामारीको बारेमा निर्णय लिन सहज हुने गरी निर्देशन दिन पनि हो,' डब्लुएचओले भनेको छ।
मृत्युको गणना उच्च आय भएका देशहरुमा भए पनि निम्न तथा मध्यम आय भएका देशमा हुन नसकेको उसले जनाएको छ।
'वर्तमानमा सबै मृत्युलाई रिपोर्ट गर्ने त्यस्तो कुनै स्पष्ट मापदण्ड र प्रोटोकल छैन। केही मध्यम आय भएका देशहरु उदाहरणका लागि ल्याटिन अमेरिकी देशहरुले तथ्याङ्क राखेका छन्। पहिलो पटक महामारीको सन्दर्भमा यसलाई विश्लेषण गरिरहेका छन्। दक्षिण अप्रिकामा यस्तो तथ्याङ्क डिजिटाइज्ड जनसंख्या दर्ताबाट लिइएको छ। र, र्यापिड मोर्टालिटी सर्भिलेसन सिस्टमले समयमै तथ्याङ्क उत्पादनमा सहयोग पुर्याएको छ।'
डब्लुएचओले मृत्युको निगरानी गर्ने प्रक्रियासमेत तय गरेको छ। जसमा मृत्यु हुँदाको मृतकको उमेर, लिंग, उसको बासस्थान, मृत्यु भएको एकीन समय तथा मृत्यु भएको स्थान - अस्पताल, घर, वा अन्य स्थानलाई खुल्ने गरी निगरानी राख्न भनेको छ।
यो प्रक्रियामा सहभागी हुने तथ्याङ्क संकलक तथा उत्तरदाताबीच दुरी कायम गर्न समेत डब्लुएचओले भनेको छ।
यसरी सर्भिलेन्स गर्दा मृत्युको सूचना डब्लुएचओको मृत्युको कारण सम्बन्धी मेडिकल सर्टिफिकेट वा सम्बन्धित देशको फारम प्रयोग गर्न सकिने उल्लेख छ। त्यस्तै दैनिक/साप्ताहिक रुपमा मृतकको तथ्याङ्क उमेर, लिंग र स्थानको बारेमा संकलन गर्ने तथा यसलाई केन्द्रीय तहमा विश्लेषण गरी महामारी नियन्त्रण टिमले मृत्युको सबै ट्रेन्डको अध्ययन गर्न भनेको छ।
त्यस्तै, मृत्युको निगरानी समुदायमा आधारित रहेर समेत गर्नुपर्ने डब्लुएचओले निर्देशिका तयार गरेको छ। यस्तो अवस्थामा समुदायका नेता धार्मिक नेताहरुले मृत्युको जानकारी पाएको तथ्याङ्कलाई केन्द्रसम्म पहिचान खुल्ने गरी पठाउने र अन्य निगरानीको जस्तै तथ्याङ्कको विश्लेषण गर्न सकिने बताएको छ।
यस्तो अवस्थामा समुदायमा हुने मृत्युको सूचनाको पहिलो स्रोत फ्रन्टलाइनमा खटिएका चिकित्सक हुन सक्छन्। उनीहरुले समुदायका सदस्यबाट स्थापित माध्यमहरुबाट जानकारी पाउन सक्छन्। यस्ता माध्यमहरुको समेत मृत्युको निगरानीका लागि प्रयोग गर्ने डब्लुएचओले जानकारी गराएको छ।
विगतमा भएका मृत्युको तथ्याङ्क एकीन वा अनुमानित समेत राख्न डब्लुएचओले भनेको छ। निम्न आय भएका देशहरुका लागि यस्तो तथ्याङ्क निकाल्न कठिन भए पनि यसको लागि जनसंख्याको अनुमान, राष्ट्रसंघको जनसंख्या सम्भावना-२०१९ को मृत्यु सम्बन्धी तथ्याङ्कलाई हेर्न भनेको छ।
२०१५ देखिको यस्तो तथ्याङ्कलाई डाउनलोड गर्न मिल्ने गरी एक्सलमा तयार गर्नुपर्ने समेत डब्लुएचओले भनेको छ। यस्तो तथ्याङ्कले हिजो र आजको मृत्युको विश्लेषण गरी रणनीति तय गर्न सहज हुने डब्लुएचओले बनेको छ। कोभिड-१९ बाट हुने मृत्युको अवस्थालाई पनि यसले विश्लेषण गर्न सकिने डब्लुएचओको भनाइ छ।