काठमाडौं : गुल्मीमा थप दुई जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका एक जना गाउँपालिका अध्यक्ष समेत भएको खुलेको छ। संक्रमण देखिएपछि उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ।
'दुई जनामा संक्रमण देखिएको भन्ने कुरा आएको छ। कसरी सर्यो भन्ने खोजी भइरहेको छ,' जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भने।
गाउँपालिका अध्यक्षमा संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका मानिसको कन्ट्रयाक्ट ट्रेसिङ गर्न सुरु गरिएको छ। अध्यक्षसँग सिडिओदेखि जिल्लाका प्रहरी अधिकृतसमेत सम्पर्कमा आएका थिए। संक्रमित भएका गाउँपालिकाका अध्यक्ष कार्यालयको क्वाटरमा नै बस्दै आएको खुलेको छ।
'यस्तो बेला मिटिङ भेटघाट त भइरहेको थियो। उहाँलाई लागेपछि हाम्रो पनि परीक्षण गर्नै पर्यो,' जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत एक अधिकृतले भने।
उनीसँग सम्पर्कमा आएका कर्मचारी र प्रहरीको पनि स्वाव संकलन गरिएको छ।
यसअघि गुल्मीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। यससँगै गुल्मीमा संक्रमितको सङ्ख्या चार पुगेको छ।
Made with Visme Infographic Maker
