काठमाडौं : आइतवार बिहानै डिल्लीबजार कारागारभित्र झडप भयो। विभिन्न अपराधमा कैदी भएका बन्दीहरुको दुई समूह झगडामा उत्रियो। झडप भएपछि थप प्रहरीको टीम नै मगाउनु पर्यो। झडपमा कैदीबन्दी शम्शेरबहादुर तामाङ घाइते भए। उनलाई वीर अस्पताल पुर्याइयो।
कारागारभित्र झडप भएपछि कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटालाई छानविन गर्न जिम्मेवारी दिइयो। दुवै जनाले छानविन गरेर प्रतिवेदनसमेत बुझाइसकेका छन्। उनीहरुले बुझाएको प्रतिवेदन झगडाको कलह बन्यो, उधारो व्यापार।
सांसददेखि प्रहरीका पूर्व उच्च तहका कर्मचारी रहेको कारागारमा ६ सयभन्दा धेरै कैदीबन्दी रहेका छन्। त्यहाँ कैदी बस्नको लागि 'क' र 'ख' गरेर दुईवटा ब्लक छुट्टाइएको छ। दुईवटा ब्ल्कमा ४ वटा पसल संचानलमा छन्। चियादेखि खानासम्म र अन्य सामाग्रीसमेत त्यही पसलमा किन्न पाइन्छ।
आइतवार चिया खान भन्दै कैदीहरु पसलमा पुगे। तर, पसलेले उधारोमा चिया नदिने बताए। सरकारले घोषणा गरेको लकडाउन र सामाजिक दुरीका कारण अहिले कारागारमा रहेका कैदीबन्दीलाई भेट्न रोक लगाइएको छ। त्यसैले कैदीसँग भएको खर्च पनि सकियो। उनीहरुसँग सरकारले उपलब्ध गराएको दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ नगदबाहेक अन्य कुरामा आफ्नै रकम खर्च गर्नुपर्छ। आफन्तले भेट्न नआएपछि खल्तीमा पैसा भएन, पसलले उधारो दिएनन्।
'आफन्त भेट्न नआएसम्म उधारोमा सामान दिनुपर्यो भन्ने कैदीको माग। पसलेले उधारोमा नदिने। यही विषयमा झगडा भयो,' कारागार व्यववस्थापन विभागका सूचना अधिकारी तथा छानविन समिति सदस्य देवर्षी सापकोटाले भने।
पसलले उधारो नदिने भन्ने विवाद चर्किँदै गयो। त्यसैबीचमा कारागारका नाइके गोकुल गिरी आइपुगे। उनले पनि उधारोमा सामान नदिने भन्दै पसलेलाई उक्साए। किनकि गिरी पसलबाट पनि भत्ता बुझ्थे। केही लगानी समेत रहेछ उनमा।
त्यसपछि झनै विवाद चर्कियो। गिरी २०६५ साउनमा डाक्टर उपेन्द्र टेवकोटाकी छोरी अपहरण तथा फिरौती मुद्दामा सजायँ कटाइरहेका व्यक्ति हुन्। उनी २०७५ असोजमा चौकिदार नियुक्ति भएका थिए। त्यसपछि उनी कारागारको आन्तरिक व्यापारमा लागे। आइतवार कैदीबन्दीको आक्रोश पनि उनीमाथि नै थियो- चौकीदार फेरिनु पर्ने।
कारागार व्यवस्थापन नियमावलीमा एक वर्षमा चौकीदार फेरिनुपर्ने नियम छ। तर, उनी फेरिएनन्। 'गिरीले उधारो नदिने पक्षमा उभिएका रहेछन्। त्यसैले दुई पक्षबीच झडप भएको रहेछ,' छानविन समिति सदस्य सापकोटाले भने।
अहिले झगडा भएपछि कैदीबन्दीलाई 'ख' ब्लकमा सारिएको छ। त्यस्तै, चौकीदार भने खारेज गरिएको छ। 'अहिले चौकीदार कोही छैन। केहीलाई स्थानान्तरण पनि हुन्छ होला, ' सापकोटाले भने।