
काठमाडौँ : सरकारले रुकुम पश्चिममा भएको जातीय घटनाप्रति पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मङ्गलवार प्रतिनिधिसभा बैठकमा सांसदहरूले गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृह मन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।
उनले छानबिन समितिले यथाशीघ्र दोषी पत्ता लगाउने बताए। उनले घटनाको दोषीलाई कानुनी कठघरामा ल्याउन र कारबाहीको प्रक्रिया अघि बढाउन प्रतिबद्ध रहेको बताए।
रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा नवराज विकसहित दुई जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्।
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबिच झडप भएको थियो।
भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बिच भागमा फेला परेको छ। उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको गृहमन्त्रीले जानकारी दिए।
फेला परेका शव पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको उनले बताए। हालसम्म फेला नपरेका नपरेकाहरूको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए। बेपत्ताहरूको खोजिका लागि गोताखोर प्रयोग गरिएको बताए।