PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

भेरीको भेलमा बगेको न्याय : त्यो हत्याकाण्ड जसले देशलाई नै तरङ्गित बनायो



पी बी खड्का

भेरीको भेलमा बगेको न्याय : त्यो हत्याकाण्ड जसले देशलाई नै तरङ्गित बनायो

रुकुम पश्चिम, चौरजहारी। जेठ १० गते बेलुकी बग्दै गरेको भेरी नदीले एक किशोरको शव किनारमा ल्याएर छोड्यो र बग्यो आफ्नै गतिमा। शरीर र अनुहारभरी चोटसहित किनारमा देखिएको नवराज विकको शवले संकेत गर्‍यो – उनीसँगै बेपत्ता अन्य ६ जना पनि भेरीको गहिराई र बेगमा कतै भेटिनेछन्। साससहित भेटिन्छन् भन्ने झिनो आश र शव बनेर तैरन्छन् भन्ने त्रासबीच भेरी, रानागाउँका मानिसहरु पर्खिरहे।

भोलिपल्ट साँझ अर्को शव किनारमा देखियो। उनी थिए, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार। बेपत्तामध्ये एक। उनी नवराजका साथी। यी दुईको मृत भेटिइसक्दा घटनाबारे सार्बजनिक खबरले तरंग पैदा गरिसकेको थियो। उनीहरुको मृत्युको कारण र स्थानीय सरकारमाथि प्रश्न उठ्न थालिसकेको थियो।

मृतकहरुको परिवारको शोक अनि बेपत्ता युवाहरुको परिवार छट्पटाहटमाथि घ्यू थप्दै थियो 'अपराधको आरोप'ले।

नवराजसँगै चौरजहारी नगरपालिका ८, सोती पुगेका १८ जना किशोरहरुमाथि आरोप थियो – 'लकडाउनको समय हुल बाँधेर अरुको गाउँमा पसेको। त्यो पनि प्रेमिकालाई विवाह गर्नका लागि लिन गएको।'

एउटा गाउँबाट अर्कोसम्म पुग्दा सुरक्षाकर्मीले रोकेनन्। नियमले छेकेन। जब नवराजकी प्रेमिकाको गाउँमा टेके तब पूरा गाउँलेले देखे। तब उनीहरुले हुल बाँधे। गाउँलेले हुल बाँध्दा कोरोना भाइरस वा लकडाउनको पर्वाह भएन। अनि सबै मिलेर लखेटे ती किशोरहरुलाई। प्रहार गरे मिलेरै।

जसका कारण तीन जनाले ज्यान गुमाएको पुष्टि भइसकेको छ। नवराज र टीकारामपछि जेठ १२ गते साँझ उनीहरुकै साथी गणेश बुढाको शव भेटिएको हो। समूहका तीन जना अझै बेपत्ता छन्। बाँकी भागे, जोगिए।

भेरी नगरपालिका रानागाउँका १९ वर्षीय नवराज विक रुकुमपश्चिम चौरजहारी, सोतीकी सुष्मा मल्लको अन्तर्जातीय प्रेमकै कारण घटना भएको इंगित गर्छन् सबै। भलै घटनाबारे अनुसन्धान भइरहेको दावी गर्छन् जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक कविराज रोकाय।

‘घटनाको कारण केटा र केटीबीचको प्रेम सम्बन्ध हो भन्ने देखिन्छ,’ उनले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'तर उनीहरुको केही समय अघि ब्रेकअप भएको पनि सुनिएको छ।'

तर, उनीहरुको सम्बन्ध छुटेको मान्न तयार छैनन्, पीडितका आफन्त। उनीहरु एकअर्काको घरमा आवत् जावत् समेत गर्ने गरेको बताउँछन् उनीहरु। पीडक जोगाउन सम्बन्ध टुटेको कथा बुनेको उनीहरुको आरोप छ।

यसअघि जाजरकोट मेलामा आउँदा सुष्मा नवराजको घरमा तीन दिन बसेकी थिइन्। त्यस समय केटीका आफन्तले जातको कारण देखाउँदै छोरी फर्काएका थिए।

देश छुवाछुत मुक्त घोषणा भएको १३ वर्ष बितिसक्दा 'अन्तर्जातीय प्रेम सम्बन्ध'कै कारण मारिएका नवराज र उनका साथीहरुको दोषीलाई कानुनी सजाय दिलाउनु पर्ने माग गरेका छन्।

'जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन, २०६८’ तत्कालीन व्यवस्थापिका संसदबाट छुट्टै कानुन समेत पारित भएको छ। सामाजिक संरचना र चेतमाथिको गम्भीर व्यङ्ग्य त के भने – अन्तर्जातीय प्रेम सम्बन्ध राखेकै कारण गाउँलेहरु मिलेर नवराजको समूहमाथि प्रहार गरिएको स्थानीय पालिका तामझामका साथ 'छुवाछुत मुक्त र सद्भाव युक्त' घोषणा भएको थियो।

पीडित नवराजकी आमा उर्मिला विक ती तामझामलाई स्थानीय नेताहरु माथि उक्लने भर्‍याङ मात्र भएको बताउँछिन्। भन्छिन्, 'हामीले त त्यस्ता घोषणा पछि पनि पटक पटक दलित भएकै कारण गालीगलौज सहनु पर्‍यो। अपमानजनक शब्दहरु सहनु पर्‍यो।'

केही समय अघि मात्र हो उनका मृत छोरा नवराजकी प्रमिका सुष्मा मल्लको परिवारले 'डुम आए डुम' भन्दै बीच बाटोमै उछितो काडेको।

'सहँदा सहँदै छोरालाई भेरीमा हालिदिए,' रुँदारुँदै सुन्निएका आँखा चिम्म गर्दै भन्छिन्, 'दोषीलाई कानुनले च्यापोस्। हदैसम्मको कारवाही गरियोस्। मानिस ज्यूँदो रहुन्जेल निदाएको कानुन पीडितलाई न्याय दिलाउन त जाग्ला नि।'

न्यायको आशा त छ तर पीडक अर्थात् कथित उपल्लो जातकाहरुसँग कसरी लड्नु? न्यायका निम्ति त पैसा लगानी गर्नु पर्छ। आर्थिक हिसाबले निकै कमजोर उर्मिला भन्छिन्, 'जाजरकोटबाट रुकुमसम्म के लिएर मुद्दा लड्न जाने? हामीसँग त पैसा छैन।'

उर्मिलाको श्रीमान् शारीरिक समस्याका कारण हिँडडुल गर्न सक्दैनन्। गरेर खाने छोरोको लाश आइपुगेको केही दिन भयो। आफू पनि कानुनी लडाई भन्दै हिँड्दा मारिने डर छ उनमा। 'हाम्रो त अघि पछि लागिदिने पनि कोही छैनन्,' उनले भनिन्।

समस्याहरु छन्। तर, छोरालाई कुटपिट गरेर भेरीमा फाल्ने दोषीहरुलाई कारवाही नभएसम्म शव नबुझ्ने उनको अठोट छ। भन्छिन्, 'अपराधीहरुलाई जन्मकैद घोषणा होस् अनि मात्र बुझ्छु लाश।'

सोतीस्थित केटीका आफन्तले भने जातीय विभेदका कारण घटना नभएको दावी गरिरहेका छन्।

‘यो जातभातको सवाल नै होइन’, सुष्माका काका बेदबहादुर मल्लले भने, ‘हाम्रा छोरी, नाति नातिनाका पनि दलितसँग विवाह भएको छ। बालबच्चा छन्।’

+++

जाजरकोट भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीका अनुसार नवराज सुष्मासँग विवाह गर्ने योजनासहित शनिवार राती उनको गाउँ गएका थिए। साथमा थिए उनका १७ जना साथीभाइ।

उनीहरुलाई देखेर सुष्माकी आमा जोडजोडले कराएकी थिइन्। लगत्तै नवराज र उनका साथीहरुमाथि ढुंगामुडा हुन थाल्यो। त्यहाँको वडा अध्यक्षसहितका गाउँलेले उनीहरुलाई लखेट्दै भेरी नदीसम्म पुर्‍याएका थिए।

केही नदीबाट पौडिएरै पारी पुगे। भागे। पौडन नसक्नेलाई गाउँलेले प्रहार गर्न छाडेनन्। सिपी घर्तीका अनुसार ठीक त्यस समय प्रहरी घटनास्थलमा पुग्यो र बाँकी किशोरहरुलाई नियन्त्रणमा लियो।

प्रहरीको प्रारम्भीक अनुमान र गाउँलेको भनाइ अनुसार सुष्माले परिवार र गाउँलेले उनीसँग भाग्न नदिने भएकाले नवराजलाई साथीहरुसहित आउन अह्राएकी थिइन्। नवराजले सोही अनुसार केटीको घरमा पुगे।

तर, उनको प्रेमी लिन एक भएर गएकाहरु फरकफरक दिशामा बाँढिए। कसैले ज्यान गुमाए। कोही गिरफ्तारीमा परे।

घटना भएको रात नै नवराजको शव भेटियो। त्यस पछिको दुई दिन टीकाराम र गणेश मृत भेटिए। उनीहरुसँगै भेरीमा हाम्फालेका लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक सम्पर्कविहीन छन्।

यसअघि प्रहरी नियन्त्रणमा रहेका नवराजका १२ जना साथीलाई प्रहरीले आफन्तको जिम्मा लगाइसकेको छ।

+++

यस घटनालाई शान्ति प्रक्रियापछिकै ठूलो हत्याकाण्ड भएको बताउँछन् भेरी नगरपालिका प्रमुख सिपी घर्ती। भन्छन्, ‘निकै दुःखद घटना घट्यो। शान्ति प्रक्रियापछिकै ठूलो घटना हो। यसलाई हामीले हत्याकाण्डका रुपमा बुझेका छौँ।’

उनका अनुसार यसअघि पनि सुष्माले नवराजलाई आफ्नो घरमा बोलाएकी थिइन्। नवराजले दुई जना केटा साथी लिएर गएका पनि हुन्।

'तर केटीको घरमा पुग्दा जातीय छुवाछुतको कारण देखाएरै कुटपिट गरेर प्रहरीमा बुझाएका रहेछन्,’ उनले भने, 'अहिले घटनाले विकराल रुप लियो।'

घटनाबारे अधिकारकर्मीसहित आमनागरिकले घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरिरहेका छन्।

रुकुम प्रहरीका अनुसार चौरजहारी नगरपालिका–८ का वडा अध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा, आमा र केटीसहित अन्यलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।

‘हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका हौं', प्रहरी निरीक्षक रोकायले भने, ‘घटना के कसरी भएको भन्ने बारे थप अनुसन्धान भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell