PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीलाई रिझाउने गरी चुनावी क्षेत्रका लागि योजना ल्याउन अर्थ मन्त्रालयको पत्राचार!



खेमराज श्रेष्ठ

प्रधानमन्त्री ओलीलाई रिझाउने गरी चुनावी क्षेत्रका लागि योजना ल्याउन अर्थ मन्त्रालयको पत्राचार!

काठमाडौं : खुद्रा र अध्ययनविनाका योजनालाई बजेटमा पेश गर्न नहुने आधारभूत तथ्यलाई लत्याउँदै अर्थ मन्त्रालय आफैँले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा योजना पार्नेगरी प्रस्ताव ल्याउन पत्राचार गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पुलका दुईवटा योजना आफ्नो सूचीमा पारेर बजेट माग गर्न अर्थ मन्त्रालयले भौतिक योजना मन्त्रालयलाई पत्राचार गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रधानमन्त्री रिझाउन उनको निर्वाचन क्षेत्रका लागि योजना माग गरेका हुन्।

आव २०७७/७८ को बजेट सार्वजनिक गर्न तीन दिन बाँकी रहँदा अर्थले भौतिक पूर्वाधार योजना मन्त्रालयलाई दबाब दिएको हो। झापाको कमल बनियानी नदी र कच्चुदह जोड्ने कन्काई नदीमा पुल निर्माणका योजना समावेश गर्न भनेको स्रोतले बताएको छ।

कमजोर आर्थिक स्रोत र कठिन चुनौतीबीच आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तयारी अर्थ मन्त्रालयले अन्तिम चरणमा पुर्‍याएको छ।

गत बिहीवार नै राजश्व परामर्श समितिले राजश्व दर सम्बन्धि निर्क्योल गरिसकेको थियो। नौ वटा राजश्व उप-समितिले तयार पारेका दर सम्बन्धि प्रतिवेदन शुक्रवार अर्थ सचिव शिशिरकुमार ढुंगानाले अर्थमन्त्री युवराज खतिवडालाई बुझाएका थिए। शनिवार बजेटको विभिन्न पक्षमा छलफल गरी आइतवारबाट अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिरहेका छन्।

आइतवार बिहान ११ बजेतिर निस्किएका मन्त्री तथा कर्मचारी दिनभर बालुवाटारमा छलफल गरी बेलुकामात्रै फर्किएका थिए। स्रोतका अनुसार बजेटको खाका तयार गरेपछि प्रधानमन्त्रीसँग छलफल सुरु गरेको हो। छलफल सोमवार पनि भएको थियो।

योजना बैंकको नीतिमा बेवास्ता

अर्थ मन्त्रालयले खुद्रे आयोजनालाई अन्तिम समयसम्म बजेटमा समावेश गरेको छ। राट्रिय योजना आयोग मातहतको योजना बैंकको नीति विपरीत मन्त्रालयले खुद्रे योजना समावेश गर्न मन्त्रालयलाई दवाब दिएको हो।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले वैशाख २९ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै प्रधानमन्त्री र अर्थमन्त्रीको गृह जिल्ला झापामा दुई वटा पक्की पुल निर्माण गर्नका लागि योजनामा समावेश गर्न भनेको थियो।

अन्तिम समयमा दिइएको पत्रमा 'मन्त्रालयको २०७७/०१/९ को पत्रमार्फत् शिव सताक्षी - ४ पाङगाक्षी पदन आङकित चोक डाडागाँउदेखि सालमारा जोड्ने कमल बनियानी नदीमा पक्की पुल, झापा र शिव सताक्षी- ५ र ६ को सिमाना शिवगञ्ज पुरानो बजारदेखि झापा गाँउपालिका-७ कच्चुदह जोड्ने कन्काई नदीमा पुल निर्माण गर्न योजनामा समावेश गर्नेगरी एलएमबीआईएस संशोधन भई विषय निर्णयार्थ पेश हुँदा आवश्यकता र औचित्यका आधारमा आगामी वर्षको बजेट छलफलको क्रममा प्रस्ताव गरी ल्याउन लेखी पठाउने भनी मिति २०७७/०१/ २७ मा निर्णय भएको व्यहोरा अनुरोध छ,' उल्लेख छ।

योजना आयोगले आयोजना बैंकमा समाविष्ट बाहेकका योजनालाई स्थान नदिने बताइरहँदा अर्थ मन्त्रालयले नै नयाँ योजना थप्न दवाब दिएको हो। तयारीबिनाको आयोजना बजेटमा समावेश गर्दा बजेट खर्च हुन नसक्ने समस्या वर्षेनी दोहोरिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell