काठमाडौः 'सर केही मानिसले एउटा शङ्कास्पद मृत्युको शव जलाउन लागेका छन्। के हो बुझ्नु पर्यो।'
सोमवार साँझ प्रहरीकहाँ फोन आयो। महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको प्रहरी टोली घाटतर्फ लाग्यो।
शंकरापुर नगरपालिकाको शारदा मावि नजिकै रहेको घाटमा ५०/६० जना मलामी शव जलाउन तयारीमा थिए। चितामा रहेको शव प्रहरीले जलाउन नदिई झिक्यो। किन कि मृत्यु सामान्य थिएन।
शङ्खरापुर नगरपालिका–२, पटापमा १५ वर्षीय बालक झुन्डिएर मरेका रहेछन्। आत्महत्याको घटनामा प्रहरीलाई जानकारी नदिई र पोस्टमार्टम नगरी अन्त्यष्टि गर्न मिल्दैन। त्यसैले प्रहरीले घाटबाट नै शव उठायो। अनि पुर्यायो त्रिवि शिक्षण अस्पताल टिचिङ।
'झुन्डिएर मृत्यु भएको केस प्रहरीलाई खबर नै नगरी अन्तिम संस्कार गर्न खोजेपछि नियन्त्रणमा लिएका हौँ,' प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले भने।
१५ वर्षीय बालक सुनबहादुर तामाङ सहचालकका रूपमा काम गर्दै आएका थिए। उनको आफ्नै भिनाजुको गाडी। सोमवार दिउँसो १ बजे तामाङ आफ्नै घरको बार्दलीमा झुन्डिएको अवस्थमा भेटिए। जसलाई आफन्तले आत्महत्या भएको दावी गरेका छन्।
'घरमा नै पासो लागेको आफन्त र अन्यले जानकारी दिएका छन्। हामीले घाटबाट ल्याएको भएकाले कहाँ कस्तो अवस्थामा झुन्डिएका थिए भन्ने मुचुल्का उठाउन पाएनौं,' प्रहरी निरीक्षक पन्थीले भने।
प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ। घाटबाट आत्महत्या गर्दा बालकले लेखेको भनिएको एउटा सुसाइट नोट समेत बरामद गरेको छ। प्रहरीले बरामद गरेको सुसाइट नोटमा बालकले ४/५ लाइनमा आफूले आत्महत्या गर्नुको कारण खुलाएका छन्।
परिवारमा माया नपाएकाले आत्महत्या गरेको उल्लेख गरेका छन् उनले। प्रहरीले शवलाई पोस्टमार्टम लागि अस्पतालमा पठाएको छ। सुसाइट नोट पनि परीक्षणका लागि प्रहरीको ल्याबमा लगिएको छ। 'घटना अनुसन्धानमा नै छ। आत्महत्या वा के हो खुल्दै जाला,' निरीक्षक पन्थीले भने।