
काठमाडौं : कोरोना भाइरसबाट चिकित्सक तथा स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयले सिफ्टअनुसार ड्युटी मिलाउन निर्देशन दिएको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले ड्युटी सिफ्ट मिलाउन निर्देशन जारी गरेको हो।
कोभिड १९ रोकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित हुन गइ सेवा प्रवाह निरन्तरता दिन कठिनाइ हुनसक्ने भन्दै सबै अस्पताललाई यस्तो निर्देशन जारी भएको हो। जारी भएको निर्देशनअनुसार अब अस्पतालमा रहेका सबै जनशक्तिलाई दुई समूहमा विभाजन गरी एक सातामा एउटा समूह र अर्को साता अर्को समूहले सेवा दिने व्यवस्था मिलाउन भनिएको छ।