PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नवराज विकको हत्याविरुद‍्ध प्रकाश सपुतको कविता : कुरी कुरी कानुन



पहिलोपोस्ट

नवराज विकको हत्याविरुद‍्ध प्रकाश सपुतको कविता : कुरी कुरी कानुन

जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा एक क्रुर घटना घट्यो। तीन वर्ष लामो अन्तर्जातीय प्रेमलाई विवाहमा परिणत गर्न हिँडेका नवराज विक र उनका साथीहरु मारिए।

चौरजहारी वडा नम्बर ८ की सुष्मा मल्ललाई विवाहको लागि लिन पुगेका थिए १९ वर्षीय नवराज र उनका १८ जना साथीको टोली। प्रहरीको प्रारम्भिक अनुमान र गाउँलेहरुको भनाइ अनुसार सुष्माले नै उनलाई साथीहरुहसहित आफूलाई लिन बोलाएकी थिइन्।

त्यहाँ केटी पक्षले उनीहरुविरुद्ध प्रहार परिचालन गरे। त्यसपछि झडप भयो।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव फेला पर्‍यो। अन्य ३ जना घाइते छन्। भाग्न सफल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आवश्यक सोधपुछ पछि उनीहरु घर फर्किएका छन्।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि घटनालाई लिएर अनुसन्धान र दोषीलाई कारवाहीको माग भइरहेको छ। यसैबीच गायक प्रकाश सपुतले घटनामा पीडितको पक्षमा बोलेका छन्। उनले फेसबुकमा कविता सेयर गर्दै सरकारलाई प्रश्न गरेका हुन्।

उनले दलित भएकै कारण, प्रेम गरेकै कारण मर्नुपर्ने नियती देशकै लागि लज्जास्पद भएको जनाएका छन्। भनेका छन्, 'कुरी -कुरी समाज, कुरी कुरी कानुन।'

यस्तो छ कविता

सरकार !
खुकुरी उदाएर निस्किएकै हो
जान्छु देशको सिमानामा र थापिन्छु
कि काट्छु कि काटिन्छु भनेर
तर रुकुम पुगेर रोकिए
सरकार !
त्यहाँ त झन् कत्रो ठुलो पर्खाल रैछ नि
जातीय विभेदको
वर्गीय विभेदको
सीमाना भित्रैका यी पर्खालहरु भत्काउँदा भत्काउँदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिइहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा 'मान्छे' मानिन्छु कि मानिन्न?

कवितासँगै उनले नवराज विकलाई सम्बोधन गर्दै लेखेका छन्,'तिमीसँगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ। हार्दिक श्रद्धाञ्जलि।'

यस विषयमा सरकारले रुकुम पश्चिममा भएको जातीय घटनाप्रति पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा सांसदहरूले गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell