PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

के नारायणी ७२ घण्टाभित्र जनरल अस्पताल बन्ला? जनता, मेयर, चिकित्सकको यस्तो छ अडान



राधेश्याम पटेल

वीरगंज : संघ सरकार मातहत रहेको वीरगंजस्थित नारायणी अस्पताल सोमवारसम्म कोभिड-१९ का बिरामीहरुको उपचारमा खटिरहेको थियो। सोमवार एकै दिन ४३ जना संक्रमितहरु कोरोनालाई जितेर घर फर्किएपछि नारायणी अस्पताल अब पुनः जनरल अस्पताल बन्ने आशा पलाएको छ।

गत चैत २९ गते वीरगंजमा पहिलो पटक भारतीय नागरिकमा कोराना संक्रमण पुष्टि भएपछि तयारी बिना नै नारायणी अस्पतालले कोभिड-१९ अस्पतालको सेवा प्रारम्भ गरेको थियो।

वीरगंजका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि आइसोलेसन वार्ड बनाउने स्थानीय प्रशासनलाई आश्वासन दिएतापनि कसैले पनि कोरोना संक्रमितको उपचाकरको लागि महानगरका जनप्रतिनिधि तथा जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आग्रह वा निर्देशनलाई टेरेनन्।

अन्ततः पर्सा, बारा, रौतहट र सर्लाहीका दैनिक हजारौँ बिरामीलाई उपचार गर्ने जनरल अस्पताललाई नै सरकारले हतारमा कोभिड-१९ अस्पताल बनाएर जनरल सेवा नेकपा निकट नेता बसरुद्दीन अन्सारी प्रबन्ध निर्देशक रहेको वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लाई जिम्मेवारी दिइयो।

तर, जुन रुपमा नेशनल मेडिकल कलेजले कोभिड-१९ बाहेकका बिरामीलाई स्वास्थ्य सेवा दिनु पर्थ्यो, उसले दिन सकेको छैन। अहिले मेडिकल कलेजमा अर्कै लफडाले हाल बेहाल भएको छ। उपचारको क्रममा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको शव कोरोनाको रिपोर्ट नआउँदै परिवारलाई बुझाएपछि अस्पताल विवादमा तानियो। जसकारण एक हजार बेडको मेडिकल कलेजको उपचार सेवा प्रभावित भएको छ भने ४० बेडको आईसीयु कक्षमा प्रशासनले ताला लगाई सिल गरेको छ।

यस्तो अवस्थामा वीरगंजको तराई, भवानी, वयोधा, हेल्थ केयर, आशाराम, प्रभु, इन्डो नेपालले मात्र आंशिक रुपमा सेवा दिइरहेका छन्। गण्डकस्थित गण्डक अस्पताल ७० बेडको अस्थायी कोभिड १९ विशेष अस्पताल बनाएर उपचार शुरु भइसकेको अवस्था छ।

यसैक्रममा कोरोनाको महामारीका बीच अन्य रोगले वीरगंज आसपासमा मानिसहरुको मृत्यु हुन थालेको वीरगंजकै चिकित्सकहरुले बताएका छन्।

तराई हस्पिटल एण्ड रिचर्स सेन्टरका सञ्चालक डा रोशन कुर्मीले भने, ‘सरकार, जनप्रतिनिधि र स्थानीय प्रशासनले मिलेर कोरोनाको उपचारलाई प्राथमिकतामा राखेर हेर्नु पर्छ भने अन्य बिरामी नमरुन भनेर पनि वीरगंजमा जनरल सेवाको अस्पताल सञ्चालनमा ल्याउनु पर्छ।’

यसैको जनरल अस्पतालको अभावमा वीरगंजमा दैनिक मानिसहरु सास्ती खेपिरहेका छन्। सोमवार बाराका एक जना दमका बिरामीको आईसीयु नपाएर मृत्यु भएको कुर्मीले बताए।

उनले भने, ‘वीरगंजमा आईसीयु कक्षको अभाव भएको छ, मानिसमा कोरोनालाई लिएर त्रास र विभिन्न कारणले तनावमा जनता छन्। जसले गर्दा पनि अन्य रोगले सर्वसाधारणलाई गम्भीर रोगी बनाउन थालेको छ।’

यातायात बन्द छ। बिरामीले उचित औषधि उपचार पाएका छैनन्। पहिलेदेखि खाँदै आएको औषधी किन्न वीरगंज आउँदा प्रहरीले बाटोमा मोटरसाइकलव रोकेर ४ घण्टा घाममा राख्ने गरेको छ। कलकारखाना र कामधाम बन्द हुनुले सबैमा आर्थिक संकट बढदै गएकोले दैनिक पोषिलो खाना र अन्य कुराको बोझले जनता पीडामा छन्। जसले गर्दा श्वासप्रश्वास, उच्च रक्तचाप, दम, मुटु रोग, गर्भवतीलाई दिइने प्रसुति सेवा, थाइराइडलगायत रोगले पनि दैनिक मानिसहरुलाई सताउन थालिसकेको छ।

लकडाउनमा तनावका कारण पर्सा र बारामा आत्महत्याको घटना पनि भइरहेका छन्। त्यसकाराण प्रोटोकल परिवर्तन गरी वीरगंजका जनरल सेवा पुनः शुरु गर्न सबैले ध्यान दिइनु पर्नेमा उनको जोड छ।

७२ घण्टामा जनरल अस्पताल बन्छ - मेयर सरावगी

नारायणी अस्पताललाई कोभिड १९ अस्पतालबाट सारेर जनरल अस्पताल बनाउनु पर्ने अडानमा वीरगंजका मेयर विजय सरावगी लागि पर्दै आएका छन्। जस स्वरुप उनी महानगरको खर्चमा गण्डक अस्पताललाई अस्थायी कोभिड १९ अस्पताल सञ्चालन गराउन सक्रिय थिए।

सोमवार नारायणी अस्पताल कोरोना मुक्त भएपछि उनी निकै खुशी थिए। निको भएका सबै संक्रमितलाई पुष्प गुच्छा प्रदान गरी ईदको शुभकामना पनि दिए। सोमवार राति उनले फेसबुकमार्फत आफूले ७२ घण्टाभित्र नारायणीलाई विसंक्रमित गराई जनरल अस्पतालको रुपमा सञ्चालनमा ल्याउन कोशिस गरिरहेको जनाउ दिए।

मंगलवार बिहानै उनले महानगरका स्वास्थ्यकर्मीहरु लिएर सरसफाई (स्यानिटाइज) एवं विसंक्रमित गराई तीन दिनभित्र अस्पताललाई जनरल अस्पताल बनाउन पहल गर्ने बताएका छन्। उनले नारायणीलाई जनरल अस्पताल बनाउन वीरगंजका राजनीतिक नेता, उद्योगी व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मी सबैलाई धन्यवाद दिएका छन्।

१० दिनअघि मन्त्रालयको ‘क्लिन चिट’

नारायणीलाई कोभिड १९ बाट जनरल अस्पताल बनाउने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरिसकेको छ। मन्त्रालयको पत्रमा नारायणी अस्पतालाई कोभिड १९ बनाएपछि यस क्षेत्रको स्वास्थ्य सेवामा प्रतिकुल असर परिरहेको प्रति मन्त्रालयको ध्यानकर्षण भएको र नारायणीमा उपचाररत संक्रमितहरुको डिस्चार्ज गरेपछि नारायणीलाई जनरल अस्पताल बनाउने निर्णय गरिएको उल्लेख थियो।

नारायणीका चिकित्सकले भने - हतार नगरौँ

नारायणी अस्पतालका चिकित्सकहरुले कोरोना संक्रमित डिस्चार्ज भएपछि ३ दिनमै अस्पताललाई जनरल बनाएर चलाइ हाल्ने मेयर सरावगीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नारायणीका चिकित्सकहरुले उपचार तथा स्वास्थ्य सेवाको बारेमा नारायणी अस्पतालको व्यवस्थापन पक्षलाई जनप्रतिनिधिले हस्तक्षेप नगर्न र सकारात्मक काममा सघाउन अपिल गरेका छन्।

नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव एवं नारायणी अस्पतालका कोरोना विभाग प्रमुख डा उदय नारायण सिंहले भने, ‘हामी पनि चाहेका छौँ, नारायणी जनरल अस्पताल बनोस्, जनताले सेवा पाउन्। तर, यति दिन उति दिनमा भनेर दबाब दिएर हुँदैन। डब्लुएचओको आफ्नै गाइडलाइन छ। त्यसैमा टेकेर नारायणीलाई विसंक्रमित गरी नन कोभिड अर्थात जनरल अस्पताल बनाउन सकिन्छ।’

उनले पर्सामा फेरि संक्रमितको संख्या बढ्यो भने ७० बेडको गण्डकले मात्र धान्न नसक्ने भएकोले अर्को कोभिड-१९ अस्पताल बनाएर मात्र नारायणीलाई जनरल अस्पतलामा फर्काउनु पर्ने सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell