काठमाडौँः जाजरकोटका तीन युवाको रुकुम पश्चिममा भएको सामूहिक हत्याको घटनाले अहिले सडकदेखि सदनसम्म तातेको छ। तीन युवाको ज्यान गएको उक्त घटनामा अझै तीन जना बेपत्ता छन्। जाजरकोटबाट प्रेमिका लिन भन्दै चौरजहारी पुगेका नवराज विकसहित तीन जनाले ज्यान गुमाएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले घटनामा राजनीतिकरण भएको भन्दै संसदीय छानबिन माग गरेको छ। पूर्व गृहमन्त्रीद्वय शक्ति बस्नेत र जनार्दन शर्माले घटनाको तथ्यलाई ढाकछोप गर्न खोजेको आरोप प्रतिपक्षले लगाएको छ। शर्माले भने घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्।
हालसम्म घटनाको कारण जातवात मानिएको छ। माथिल्लो जातकी केटीलाई प्रेम गरेर भगाउन खोज्दा तीन युवक मारिएको आरोप लगाइएको छ।
त्रासदीपूर्ण मानिएको उक्त घटनाको आलोचना भइरहेका बेला मंगलबार संघीय संसद्का दुबै सदनमा लामो चर्काचर्की भयो। दुबै सदनमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिए। प्रतिनिधिसभामा त प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तारुढ दलका केही सांसद्बीच भनाभन नै चल्यो। सदनमा अवरोधको स्थिति बन्यो।
के भयो प्रतिनिधिसभामा?
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुवातमै कांग्रेसका सबै सांसदले उठेर घटनाप्रति विरोध जनाए। सभामुख अग्निप्रसाद सापकोटाले एक जनालाई बोल्न अनुमति दिँदै बस्न आग्रह गरे।
त्यसपछि कांग्रेस सांसद मीन विश्वकर्माले घटनाको निन्दा गरे। स्थानीय स्तरमा राजनीतिकरणको प्रयास भइरहेको भन्दै विश्वकर्माले छानबिनका लागि संसदीय समिति माग गरे।
विश्वकर्मापछि पार्वतीकुमारी विशुन्के, रेनुका गुरुङले पनि घटनाको निन्दा गरे।
त्यसपछि बोल्ने पालो आयो रुकुम पश्चिमकै जनप्रतिनिधि जनार्दन शर्माको। शर्माले सविस्तार घटनाक्रम सुनाउँदै गए। र, रुकुम पश्चिममा यस्ता घटनामा राजनीतिकरण नहुने र सत्यतथ्य छानबिन हुने बताए।
यति भन्नसाथ कांग्रेसका सबै सदस्यहरुले हो–हल्ला सुरु गरे।
उनीहरुले गृहमन्त्रीका रुपमा घटना विवरण र जवाफ नखोजेको भन्दै सरकारको धारणा माग गरे।
हल्ला बढेपछि सभामुख सापकोटाले सम्हालिनुस् भन्दै कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरे। तर, मानेनन्।
त्यसपछि शर्मा पनि आक्रोशित बने। शर्माले आफू उक्त क्षेत्रको जनप्रतिनिधि भएकाले घटना विवरण र धारणा राख्न पाउनुपर्ने अडान राखे।
कांग्रेस सांसदको होहल्ला जारी रह्यो। शर्मा यथास्थानमा उभिनै रहे। बोल्न पाउनुपर्ने आफ्नो अधिकार रहेको दोहोर्याए।
आक्रोशित बनेका शर्माले फेरि दोहो¥याए, ‘त्यस क्षेत्रको सांसद्को हिसाबले मैले कुरा राख्न नपाउने कुन नियमावली हो । दिएको समयमा बोल्दा आपत्ति हुने कुन नियमावली हो?
शर्मालाई त्यसपछि नेकपाका अन्य सांसदले साथ दिए।
हल्लाबीचमै उनले थपे, ‘मैले कुनै मन्त्रीको जवाफ दिनु छैन। तर, जनप्रतिनिधिका हिसाबले मैले आफ्ना कुरा राख्ने, घटनाबारे जानकारी दिने अधिकार छ कि छैन?
सभामुखले कांग्रेस सांसदलाई बोल्न समय दिने भन्दै बस्न आग्रह गरे तर, पुनः मानेनन्।
शर्माले दोषीमाथि कारबाहीको माग गर्दै भनाइ टुंग्याए। आवश्यक परे संसदीय छानबिन समिति बनाउन पनि उनले सम्बोधनमा भने।
त्यसपछि सभामुखले कांग्रेसका एक सदस्यलाई बोल्न अनुमति दिए। त्यसमा बोले प्रकाश रासाइली। रसाइलीले सदनमा गृहमन्त्रीको जवाफ मागिएको बताए। दुई जिल्लाका सिडिओ र डिएसपीले गरेको छानबिन मान्य नहुने बताए ।
उनले जाजरकोट र रुकुम पश्चिमका दुई पूर्व गृहमन्त्री घटना ढाकछोपका लागि लागेको भन्दै शक्ति बस्नेत र शर्मालाई जोडे।
जनार्दनले लगत्तै प्रतिवाद गरे। सभामुख र रसाइलीप्रति औँला ठड्याउँदै उनले प्रतिवाद गरे।
त्यसपछि पछिल्लो स्थानमा रहेका नेकपाका सांसदहरु झपट रावल, रामकुमारी झाँक्रीलगायत पनि उठे। रावलले रसाइलीतर्फ संकेत गर्दै औँला ठड्याए। तर बोल्नका लागि माइक अन भएन।
शर्मा, रावल र झाँक्री बसेपछि उठेका नेकपाका अर्का सांसद गणेश पहाडी। पहाडीले दुई गृहमन्त्रीलाई जोडेको उक्त प्रसंग रेकर्डबाट हटाउन माग गरे। सभामुखले यसमा कुनै रुलिङ गरेनन्।
त्यसपछि गृहमन्त्री रामबहादुर थापालाई बोल्नका लागि समय दिए।
