PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

मोदी नेपालसँग लिम्पियाधुराको विवाद अन्त्य होस् भन्ने चाहँदैनन् : प्रा. अशोक स्वैन (अन्तर्वार्ता)



सहयोग रञ्जित

मोदी नेपालसँग लिम्पियाधुराको विवाद अन्त्य होस् भन्ने चाहँदैनन् : प्रा. अशोक स्वैन (अन्तर्वार्ता)

लिम्पियाधुरालाई लिएर नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ। भारतले नेपाली भूमिमा सडक बनाएर त्यसको उद्‌घाटन समेत गर्‍यो कोरोनाको कहरको समयमा। त्यसको नेपालमा चर्को विरोध भयो। नेपालीको विरोधलाई सांकेतिक रुपमा चीनको प्रायोजन रहेको 'राजनीतिक' अभिव्यक्ति दिए भारतीय सेनाका प्रधान सेनापतिले। त्यसको काउन्टरमा सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्‍यो। नक्सालाई 'ऐतिहासिक प्रमाणबिनाको' भन्दै भारतले अस्वीकार गर्‍यो। यिनै सन्दर्भमा भारतीय मूलका स्विडिस् प्राध्यापक अशोक स्वैनले भारतले उक्त नक्सा स्वीकार गर्छ भनेर कसैले नसोचेको भन्दै प्रश्न गरे : 'म्याप वार' कसले सुरु गरेको?

भारतको मोदी सरकारले गत वर्ष नोभेम्बरमा कश्मिरको नयाँ मानचित्र सहितको नयाँ राजनीतिक नक्सा एकलौटी रुपमा सार्वजनिक गरेको उल्लेख गर्दै स्वैनले 'नेपाल कश्मिर नभएको' टिप्पणी गरेका थिए। स्वीडेनको उपसाला विश्वविद्यालयमा शान्ति तथा द्वन्द्व अनुसन्धान विभागमा प्राध्यापक रहेका स्वैन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुटनीतिक असफलताका कारण नेपालसँगको सम्बन्ध केही वर्षयता बिग्रिँदै गएको तर्क गर्छन्। युनेस्कोको अन्तर्राष्ट्रिय जल सहयोगका अध्यक्ष र उपसाला विश्वविद्यालयको पहिलो युनेस्को अध्यक्ष समेत रहेका स्वैनसँग सहकर्मी सहयोग रञ्जितले सोधे : 

भारतले नेपाली भूमि हुँदै सडक बनाएपछि नेपालले नयाँ नक्सा जारी गर्‍यो। दुवै देशबीच हाल उत्पन्न नक्सा विवादलाई कसरी लिनुभएको छ?

दुई देशबीचको सीमा नयाँ विवाद होइन। तर, नयाँ नक्सा प्रकाशित गर्दैमा सबै समस्या हल हुने होइन। कुनै पनि देशले नयाँ नक्सा जारी गर्छ भने त्यो एउटा पोलिटिकल बार्गेनिङ हो। भारत र नेपालले आ-आफ्नो नयाँ नक्सा जारी गरेको छ। नेपालका लागि यस नक्साको छुट्टै महत्व छ।

नेपाल र भारतबीचको सम्बन्ध निकै पुरानो हो। दुवै देशबीच खुल्ला सीमा छ। नेपालले लिम्पियाधुरासहितको भूभागको बारेमा पहिलादेखि नै भारतसँग कुरा गर्ने प्रयास गरिरहेको हो। तर, केही वर्षायता दुवै देशबीच विवाद बढ्दो छ। नक्सा विवाद त्यसैको उपज हो।

सुगौली सन्धिमा त प्रष्टरुपमा लिम्पियाधुरा नेपालको भन्ने उल्लेख छ। भारत किन यो मान्न तयार छैन?

सुगौली सन्धिअनुसार लिम्पियाधुरा नेपालकै जमिन हो। तर, सुगौली सन्धिमा हस्ताक्षर गरिसकेपछि ब्रिटिस इन्डियाले फेरि नयाँ नक्सा बनायो जसमा सन्धि अनुसार नेपाललाई दिइएको भूभाग भारतमै देखाइयो। उक्त क्षेत्रबाट चीनमाथि नजर राख्न सक्ने भएकाले बेलायतीहरुले रणनीतिक कारणले उक्त क्षेत्र फेरि आफैँले राखे। काली नदीको मुहान या भनौं काली नदी कहाँबाट बग्छ भन्ने कुरामा उक्त सन्धि केन्द्रित छ। सुगौली सन्धि त्यसबारेमा प्रस्ट छ। तर, बेलायतीले पछि धेरै गडबड गरे।

नेपालले लिम्पियाधुरा क्षेत्रमा निर्वाचन गराएको, कर तिरेको प्रमाणहरु छन् भनिरहेको छ। नेपालकै सहमतिमा नेपालका धेरै क्षेत्रमा भारतीय सेना राखियो। १९६२ पछि पनि कालापानीमा नेपालकै सहमतिमा भारतीय सैनिकहरु बस्दै आए। पछि उक्त क्षेत्र भारतकै नियन्त्रणमा रह्यो।

बेलायतले सन्धि विपरीत नदीको मुहान नै परिवर्तन हुनेगरी नयाँनक्सा बनाएर गल्ती गरेको देखियो। अब दुई देशबीचको सीमा विवाद टुंग्याउन बेलायत कुनै भूमिका हुन्छ?

यस्तो विवाद धेरै स्थानमा छ। अफ्रिका र एसियाका धेरै स्थानमा सीमा विवादको कुरा हुँदा ब्रिटेनको कुरा उठ्छ। ब्रिटिस उपनिवेशमा हुँदा भएका सन्धि पालना भएको छैन। यहाँ पनि त्यही भएको हो।

यदि नेपाल र भारतले सीमा विवादलाई अन्तर्राष्ट्रिय न्याय अदालतमा लग्छ भने त्यहाँ बेलायत एक पार्टीका रुपमा हुन्छ कि हुँदैन भन्ने छुट्टै कुरा हो। तर, बेलायत यस विषयमा प्रवेश गर्छ भन्ने मलाई लाग्दैन। यदि सीमा विवादमा बेलायत एक पार्टीका रुपमा आए पनि उसले गल्ती गरिसकेको छ। अहिलेको अवस्थामा यस विषयलाई सम्बोधन गर्न बेलायतसँग कुनै शक्ति छैन। बेलायत हुनु नहुनुमा केही असर गर्दैन। भारतले उक्त कुरा मान्न तयार पनि हुँदैन।

सीमाका सम्बन्धमा नेपालका प्रधानमन्त्रीले आफ्नो धारणा राखिसकेका छन्। तर, भारतीय प्रधानमन्त्री यस विषयमा किन मौन छन्?

मोदीले चाहेको भए यस विषलाई पहिला नै साम्य पार्न सक्थे। तर, उनले त्यसो गर्न चाहेनन्। किन भने सायद उनी यो विवाद केही समय कायम नै रहोस् भन्ने चाहन्छन्। मोदी सरकार भारतमा कोभिड १९ नियन्त्रण गर्न असफल भएको छ। यस्तै आर्थिक व्यवस्था समेत बिग्रिएको छ। यस्तो अवस्थामा सीमा विवादको विषय बढ्दा असफलताको विषयलाई मोड्न उनलाई सजिलो भयो। भारतको आन्तिक राजनीति व्यवस्थापनमा सीमा विवादको विषयान्तरले मोदीलाई फाइदा पुग्छ।

भारतले इपिजी रिपोर्ट लिन अस्वीकार गर्‍यो। भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले विषेश दूत पठाउन खोज्दा भारतले अस्वीकार गर्‍यो। अहिले पनि भारत कोभिड १९ को कारण देखाउँदै वार्ताबाट भागिरहनुको कारण के होला?

यस विषयमा नेपालको आफ्नो कथा छ। भारतको आफ्नो कथा छ। यस विषयमा मोदी अगाडl आएर यो छलफल गरेर टुंगो लगाउने विषय हो, अहिले नै वार्ता गरौं भनेर भन्न सक्नुपर्छ। तर, सन् २०१५ देखि मोदीले नेपाललाई धेरै गलत सिग्नल दिइरहेका छन्।

तपाईँले कश्मीर नेपाल होइन भनेर टिप्पणी गर्नुभयो। तपाईँले के सन्देश दिन खोज्नुभएको हो?

भारत र नेपालमा नै नेपाललाई सिक्किम जस्तै भारतले लिन सक्न भन्ने कुराहरु धेरै चर्चामा रहे। भारतले नयाँ नक्सा सार्वजनिक गरेर कश्मिरको मानचित्र परिवर्तन गरे जस्तै नेपाललाई पनि त्यस्तै असर गर्न सक्ने भन्ने हल्लाहरु सुनिए। तर, यो सम्भव छैन। यो २०२० हो र भारतले यस्तो काम गर्ने अहिले सोच्न सक्दैन।

कश्मीर भारत र पाकिस्तानबीचको विवादित क्षेत्र हो। कश्मीरको दुई तिहाई भाग पहिला नै भारतको नियन्त्रणमा थियो। नरेन्द्र मोदीलाई त्यहाँ उथलपुथल गर्न सजिलो थियो किन भने त्यहाँ भारतको नियन्त्रण थियो।

तर, नेपाल एक स्वतन्त्र राष्ट्र हो। नेपाल भारतको नियन्त्रणमा छैन। कश्मिरको नयाँ नक्सा बनाएर सार्वजनिक गर्दा भारतले कसरी नेपालको क्षेत्रलाई आफ्नो नक्सामा देखाउन सक्छ? मेरो प्रश्न यही हो।

यो महामारीको बेलामा सबैभन्दा राम्रो छिमेकीसँग यो विवाद निकाल्ने समय नै होइन। मैले अघि नै भनिसकेँ। यो गर्नुको कारण मोदी सरकारको असफलताबाट कुरा मोड्नु हो।

जबजब भारत नेपालबीच विवाद हुन्छ तबतब भारतले चीनमाथि दोष लगाउँछ। के भारतले भनेको जस्तै नेपालमा 'चाइना कार्ड' प्रयोग भइरहेको छ?

चीनमाथि दोष लगाउन सजिलो छ। चीन पनि नेपालको छिमेकी हो। चीनको पनि आफ्नो केही चाहना होलान्। तर, भारतले चीनमाथि दोष लगाउनुको सट्टा आफूले के गलत गरेको छ भनेर हेर्नुपर्छ। अरुमाथि दोष लगाएर आफ्नो गल्तीहरु हेर्न नचाहने प्रवृत्ति हावी भएको छ।

जब प्रधानमन्त्री बनेपछि मोदी पहिलो पटक नेपाल आए। तब उनलाई हालसम्मकै सबैभन्दा धेरै सम्मान दिइएको थियो। त्यस्तो सम्मान अरु कसैलाई नेपालले दिएको छैन होला। २०१४ मा नेपालबाट सम्मान पाएका मोदीले क्षुद्र राजनीतिक कारणका लागि २०१५ मा नेपालमाथि नाकाबन्दी लगाए। त्यसबेला नेपाल भूकम्पसँग जुधिरहेको थियो। त्यस्तो व्यवहार कुनै पनि राष्ट्रले सहँदैन। त्यसैले आफू सुध्रिनुको सट्टा चीनलाई दोष लगाएर समस्या समाधान हुँदैन। किनभने चीनले आफ्नो राष्ट्रिय हितका लागि जे गर्नुछ, उसले गर्छ।

मोदी आएपछि मात्रै नेपाल भारतको सम्बन्धमा समस्या आएको होइन। समस्या त्यस अघि पनि थियो। त्यसैले नेपालसँगको सम्बन्ध सुधार्न भारतले आफूले कहाँ गल्ती गरेको छ भनेर पहिल्याउँदै कमजोरी सच्याउनुपर्छ। सन् २०१५ यता भारतले नेपालसँगको सम्बन्ध बिगार्दै आएको छ।

भारतले नेपाललाई एक छिमेकी राष्ट्र भन्दा' सानो भाइ' (ब्रडर कार्ड) का रुपमा व्याख्या गर्दै आइरहेको छ। जब नयाँ नक्सा जारी भयो भारतले नेपालले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्छ भन्ने तर्क गर्‍यो। भारतले चाहिँ नेपालको सार्वभौमिकताको सम्मान गर्न पर्दैन?

यो हिन्दु अतिवादबाट प्रेरित कुरा हो। उनीहरुसँग यस विषयमा भन्नु केही छैन। त्यसैले भावनात्मक कुरा गर्नुबाहेक उनीहरुसँग अरु केही छैन। यस्तो 'मदर ब्रदर फादर' भन्ने शब्दले कुनै अर्थ राख्दैन जब तिमी त्यो व्यक्तिलाई सम्मान गर्न सक्दैनौं। भाइको समान हैसियतको जबसम्म कदर हुँदैन तबसम्म त्यस्ता शब्दको कुनै अर्थ राख्दैन।

नेपाल भारतको छिमेकी हो। भारतले नेपाललाई 'ब्रदर' भन्दा असल छिमेकीको रुपमा व्यवहार गर्नुपर्छ। यदि नेपाल भारतको 'सानो भाइ' हो भने पाकिस्तान के हो? पाकिस्तानमा भारतका सबैभन्दा धेरै भाइहरु छन्।

नेपाल ब्रिटिस इन्डियाको अधिनमा कहिल्यै रहेन। तर, पाकिस्तान बंगलादेश त ब्रिटिस इन्डियाको अधिनमा थिए। हामी त्यसबेला एउटै राष्ट्र थियौं। त्यसैले यदि नेपाल भारतको 'ब्रदर' हो भने पाकिस्तान भारतको 'बेटर ब्रदर' हो। भारतले नेपालको समान हैसियतलाई सम्मान गर्न सक्दैन भने यो भावनात्मक 'ब्रदर कार्ड'ले कुनै अर्थ राख्दैन।

सीमा विवादका क्रममा भारतीय विज्ञहरुले नेपालमा हिन्दू राज्य हटाउन भारतले सहयोग गरेको स्वीकार गरेका छन्। त्यसबेला नरेन्द्र मोदी सरकार थिएन। अहिले भारतमा समेत हिन्दुत्व विचारधारा बढ्दै गएको छ। नेपालमा पछिल्लोपटक देखिएको अस्थिरता नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने रणनीति हो भनिन्छ। कति सत्यता छ यसमा?

हाल मोदी आफ्नै आन्तरिक राजनीतिमा व्यस्त छन्। मोदी नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा लाग्ने कुरा अहिले सम्भव छैन। यसले समस्या धेरै बढाउँछ।

तर, भारतमा हिन्दुत्वको वकालत गर्ने एउटा समूह पक्कै यस्तो चाहन्छ। भारतीय अधिकारी र सैनिक जनरलहरुले नै यस्तो कुरा गरिरहेका छन्। यस्तै, मानिसहरुको कारण नेपाल भारतको सम्बन्ध बिग्रिँदै गएको छ। नेपालसँग मात्रै होइन, आफूलाई ठूलो राष्ट्रका रुपमा प्रस्तुत गर्दा अन्य दक्षिण एसियाली राष्ट्रहरुसँगको सम्बन्ध पनि राम्रो हुन सकेको छैन भारतको। टिभीमा उनीहरु धेरै बोलिरहेका छन् तर उनीहरुलाई ग्राउन्ड रियालिटी थाहा छैन।

सीमा विवादको विषयमा नेपालको कमजोरी कहाँ रह्यो?

यो सीमा विवाद निकै पुरानो हो। पहिलो त नेपालले पहिलादेखि नै यो विषय उठाए पनि त्यसलाई निरन्तरता दिन सकेन। भारतसँग बसेर वार्ताको माध्यमबाट समस्या हल गर्न सकेन।

दोस्रो, नेपाल सरकार र यहाँका नेताहरु कहिले 'प्रो चीन' त कहिले 'प्रो भारत' देखिए। नेपाली नेताहरु अब चीन र भारत समूहबाट बाहिर आउनुपर्छ। अब उनीहरुले 'प्रो नेपाल' बनेर काम गर्नुपर्छ। राष्ट्रिय मुद्दामा उनीहरु एकसाथ आउनुपर्छ।

अहिले परिस्थितिमा छलफल गरेर समाधान निकाल्नु भन्दा अर्को विकल्प छैन।

तपाईँको हिसाबले समाधानको बाटो के होला त अब?

नेपालकै सहमतिमा भारतीय सेना नेपालको भूमिमा बसेको यथार्थ हो। तर, यसको अर्थ अरुको भूमि आफ्नै ठान्नु होइन। होला, त्यसबेला उक्त क्षेत्र रणनीतिक हिसाबले भारतका लागि महत्वपूर्ण थियो। तर, अहिले पनि उक्त क्षेत्रमा सेना नै राखेर निगरानी गर्नुपर्छ भन्ने छैन। भारतले नयाँ प्रविधिको प्रयोग गरेर आफ्नो क्षेत्रमा निगरानी गर्नसक्छ। भारतले पहिलाजस्तै नेपालसँग छलफल गरेर काम गरेको भए यो समस्या आउँदैन थियो। तर, नेपालले त्यहाँ भारतीय सेनालाई बस्न दियो भन्दैमा त्यसलाई आफ्नै ठानेर बस्नु भएन।

हाल सीमा विवादलाई दुई तरिकाले टुंगो लगाउन सकिन्छ। पहिलो, दुवै देशले छलफल गरेर सीमा विवाद अन्त्य गर्न समाधानका बाटाहरु निर्क्यौल गर्ने। नेपालले वार्ताका लागि पहिले नै पहल गरिसकेको छ। भारत वार्ताको टेबुलमा आएर समाधान निकाल्नै पर्छ।

दोस्रो, यदि दुवै देशले विवाद गर्न सकेनन् भने तेस्रो पक्ष खोज्ने जसले मध्यस्थता गर्न सकोस्। अरु कतै जानु नि पर्दैन। सार्कबाट नै यस विषयको मध्यस्थता गर्न सकिन्छ।

तर, पाकिस्तानको नाममा भारतले सार्कलाई बन्धक बनाएको छ। भारतले सार्कको महत्व नदिए पनि नेपाल बंगलादेश र अन्य राष्ट्रहरुका लागि सार्कले धेरै महत्व राख्छ। सार्कका प्राय: राष्ट्रहरुसँग भारतको सीमा विवाद रहेकै छ। पछिल्लो दिनमा भारत र सार्क राष्ट्रहरुको सम्बन्ध त्यति राम्रो छैन। यही समय हो सार्कलाई चलायमान बनाउँदै दक्षिण एसियाली देशमा देखिने यस्ता विवादहरु समाधान गर्ने। तर, भारतले यसो गर्ने छैन।

नेपाल र भारतबीचको सम्बन्ध पौराणिककाल देखि रहँदै आएको छ। दुवै देशबीच राम्रो सम्बन्ध छ। पहिला अरुलाई खोज्नुभन्दा एकआपसमा सल्लाह गरेर समाधान खोज्नु राम्रो हो। भारतले नेपालजस्तो छिमेकी राष्ट्रसँग यस विषयलाई लिएर अनावश्यक रुपमा विवाद सिर्जना गर्न हुँदैन।

म फेरि भन्छु, भारतले नेपाललाई असल मित्र भन्छ भने असल व्यवहार पनि गर्नुपर्छ। म साथी मान्छु तर तिमीलाई नभनी तिम्रो जमिन लिन्छु भन्ने दोहोरो चरित्र देखाउनु भएन।

केहीले त युद्धसम्मको अवस्था आउन सक्छ भनेका छन्। यो असम्भव कुरा हो। यस्तो कुरा गर्नु मुर्खता हो। युद्ध समाधान होइन, युद्धले अहिलेसम्म केही राम्रो गरेको छैन। त्यसैले द्वन्द्व बढाउनु भन्दा दुवैले कुटनीतिक वार्ता मार्फत् छलफल गरेर सीमा विवाद टुंग्याउनुपर्छ। नेपाल वार्ताको टेबलमा बलियो भएर प्रस्तुत हुनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell