PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कहाँबाट सर्‍यो गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण ?



पहिलोपोस्ट

कहाँबाट सर्‍यो गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण ?

काठमाडौं : गुल्मीमा दुई जनामा संक्रमित पुष्टि हुँदा एकजना भारतबाट आएका व्यक्ति रहे भने अर्का गाउँपालिका अध्यक्ष।

धुर्कोट गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण देखिएको हो। तर, उनी लकडाउनको अवधिमा गाउँपालिका बाहिर तम्घासमात्र गएको बताएका छन्। उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर भैरहवा पठाइएको थियो। त्यहाँको रिपोर्टमा पोजेटिभ आएको हो।

'उहाँ हामी भन्दा धेरै सचेत हुनुहुन्थ्यो। उहाँबाट कसरी सर्‍यो अचम्म लागेको छ,' धुर्कोट गाउँपालिका प्रशासकीय अधिकृत काशीराम पन्थीले भने।

गाउँपालिका अध्यक्षले आफैँले विज्ञप्ति जारी गर्दै आफ्नो स्वास्थ्य सामान्य भएकाले कोही पनि नआत्तिन र सचेत हुन आग्रह गरेका छन्।

'यो रोग पहिचान भएकाले केही हप्ता म एकान्तवास बस्नुपर्ने भएको छ। यस संक्रमणलाई मैले अवसरको रुपमा लिएको छु,' विज्ञप्तिमा भनिएको छ।

संक्रमण देखिएका अर्का युवा भने भारतबाट आएका हुन्। उनी भारतबाट आएदेखि नै गाउँपालिकाको पञ्चायन माविको क्वारेन्टाइनमा बसिरहेका छन्। उनी दीर्घ रोगी समेत हुन्।

गाउँपालिका अध्यक्षसँग सम्पर्कमा आएका सिडिओदेखि प्रहरी कर्मचारीसम्मको परीक्षणको लागि स्वाब संकलन गरिसकिएको छ।

यसअघि गुल्मीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। यससँगै गुल्मीमा संक्रमितको सङ्ख्या चार पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell