
काठमाडौँ : लकडाउनको समयमा भारतबाट ठूलो सङ्ख्यामा नेपाली आउँदै छन् भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले सक्रियता देखाएको छ। लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट जोगवनी नाका हुँदै नेपाल छिरेका ३ सय ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बेलुका करिब ७ बजेतिर उद्धार गरी उनीहरूलाई विराटनगर स्थित डिएभी स्कुलमा पुर्याइएको छ। उनीहरूलाई सामाजिक दुरीका साथ स्कुलको होल्डिङ स्टेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।
यसरी प्रहरीले उद्धार गरेका मध्ये २३ जनालाई जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षले बुझी सुनसरी लगेका छन्। प्रहरीले सम्बन्धित जिल्लाका स्थानीय प्रतिनिधिलाई खबर गरेर उनीहरूलाई आफ्नो ठाउँमा पुर्याउने व्यवस्था मिलाइरहेको छ।