अमेरिकन गीतकार जोन बोन जोभीले भनेका छन् : जीवनमा प्यासनभन्दा महत्वपूर्ण केही छैन। जीवनमा जे चाँहिएको छ त्यसका लागि प्यासोनेट बन। जोभीको विचारसँग मेल खान्छ दक्षिण एसियाली खेलकुदमा कराँतेमा स्वर्ण पदक हात पारेकी अनु अधिकारीको करियर। उनको खेलप्रतिको प्यासन लोभ लाग्दो छ।
सन् २०१० मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा उनले रजत पदक जितिन। लक्ष्य थियो स्वर्ण जित्ने। रजत पदकमा रोकिँदा उनलाई बुझ्न कठिन भइरहेको थियो कि यति बेला खुसी हुने या दु:खी। तै पनि अझ मेहनत गर्ने मनोबलका अगाडि बढिन।
तर दुर्भाग्य सन २०१६ मा भारतको सिलोङ र गुवाटीमा भएको सागमा कराँते समावेश नै गरिएन। सागमा पदक जित्न भनेर तम्तयार अनु र अरु खेलाडीको सपनामा तुषारापात भयो। कति खेलाडीहरु खेल क्षेत्रबाट पलायन पनि भए। केही भने आफ्नो प्यासनलाई पुरा गर्न पर्खिए १३औं साग। पर्खिनेमा अनु पनि थिइन्। नेपालमा सम्पन्न १३ औं सागमा उनले स्वर्ण जित्ने सपना पुरा गरेरै छाडिन्।
कराँते प्रशिक्षक दीपक श्रेष्ठ अनुलाई नेपाली महिला कराँते खेलाडीमध्येको अब्बल खेलाडीका रुपमा लिन्छन्।
‘राष्ट्रिय खेलाडीका रुपमा लामो लामो समय बिताइसकेकी छिन्,’ श्रेष्ठले भने, ‘राष्ट्रिय टिममा परेको दशक भइसक्दा उनले धेरै उतावचढाव देखिन। सागमा स्वर्ण र रजत सागमा जितेकी छिन्। महिलातर्फ स्वर्ण र रजत जित्ने उनी मात्र हुन्।’
अधिकारीले स्वर्ण र रजत पनि एकैपटक जितेको होइनन्। रजत पदकबाट स्वर्ण जित्न उनले ९ वर्ष कुर्नु पर्यो।
+++
अधिकारी नुवाकोटको पन्चकन्यामा जन्मिइन् तर उनको बाल्यकालदेखि नै बसाइ काठमाडौं रह्यो। कक्षा ६ मा पढ्दादेखि कराँते खेल्न सुरु गरिन्। यात्रा राष्ट्रिय अन्तर्राष्ट्रिय हुन्छ भन्ने सोचेकी थिइनन्।
‘त्यतिबेला फिजिकल्ली फिट हुनका लागि खेल्थेँ। देशका लागि मेडल ल्याउँछु भन्ने थिएन,’ उनी सम्झिन्छिन्, ‘खेल्दै जाँदा खेलकुद फिजिकल फिटनेस मात्र होइन देश चिनाउने माध्यम र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएर नाम प्रस्तुत गर्नसक्ने एउटा अवसर रहेछ भन्ने महसुस भयो।’
बालाजु डोजोबाट व्यवसायिक रुपमा कराँते खेल्न थालेकी उनलाई राष्ट्रिय टिममा पर्न समय लागेन। त्यसयता पछाडि फर्किएर हेर्नु परेको छैन। तर, संघर्षका दिनहरु यादगार छन्। ‘सुरुवाती चरणमा कराँते खेल्दा आर्थिकदेखि लिएर विभिन्न समस्याको सामना गर्नुपर्यो,’ उनी सम्झिन्छिन्, ‘छोरीलाई किन खेलाउने भन्ने पनि हुन्थे।’
खेलकुदका बारेमा धेरै नबुझेका बुवाआमाले खेलेर के हुन्छ? हातखुट्टा भाँचिन्छ भनेको कुरा पनि उनको स्मरणमा ताजै छन्। त्यसमाथि खेल्न बाहिर जाँदा छिमेकी र गाउँलेले आमालाई कुरा लगाएको विषय सम्झदा उनलाई खिन्न बनाउँछ।
सुरुमा प्रश्न उठ्दा नराम्रो लागे पनि उनले हरेश खाइनन्। सफलता हात पार्दै गएपछि एउटा विश्वासको वातावरण बन्दै गयो। समाजले पनि राम्रो काम रहेछ भनेर बुझे।
+++
१३ औं साग सकियो। अलि पछिसम्म पुरस्कारको चर्चा चल्यो। त्यो पनि टुङ्गियो। सागमा पदक जितेका खेलाडीहरुको ध्यान थियो टोकियो ओलम्पिकमा।
तर बीचमा कोरोना महामारी आइदियो। टोकियो ओलम्पिक एक वर्षलाई स्थगित भयो। छनोटका खेलहरु प्रभावित बने। खेलाडीको अभ्यास पनि प्रभावित बन्यो।
अहिले सबै खेलाडीहरु घरमै छन्। प्रतिक्षा छ खेल सुरु हुने दिनको।
‘घरमै बसेर भए पनि सामान्य अभ्यासहरु गरिरहेका छौं। ट्रेनिङ भएन भने गाह्रो हुन्छ,’ अनुले भनिन्, ‘भोलिको दिनमा वेट मेन्टेन गर्नेदेखि लिएर विभिन्न समस्याहरु हुन सक्छ।’
सुरुमा छिट्टै सामान्य अवस्था आउला भन्ने हिसाबले उनले अभ्यास गर्दै थिइन्। तर अवस्था झन बिग्रियो। साथै चिन्ता पनि बढायो। भन्छिन्, ‘पछिल्लो अवस्था फेरिँदा अलि निराशा र अलि मोटिभेट हुन नसकिएको हो कि जस्तो लाग्न थालिसक्यो।’
शंकरदेव क्याम्पसमा एमबिएस दोस्रो सेमेस्टरमा अध्ययनरत अनु सामाजिक सञ्जालमा सक्रिय देखिन्छिन्। आजकल बिहान कलेजको भर्चुअल कक्षा पनि चल्छ ७ देखि ८ बजेसम्म।
त्यसबाहेक दुईवटा स्कुलमा बच्चाहरुलाई कराँते सिकाउँथिन् उनी। अहिले एउटा स्कुलमा अनलाइनबाट सिकाइरहेकी छिन् मंगलबार र बिहीबार गरी दुई दिनमात्र। अनि आफू पनि अभ्यास गर्छिन् घरमै। सबै सुनाइ सकेर ठट्टा गर्दै उनले भनिन्: ‘म त ब्यस्त पो रहेछु।’
लकडाउनयता ओलम्पिक कमिटीले साताभर मोटिभेसन कक्षा चलाएको थियो। त्यसमा खेलाडीलाई मनोविज्ञानबारे राम्रो परामर्श मिलेको उनी बताउँछिन्। तर त्यसबाहेक अरु तयारी गर्न पाएकी छैनन्।
५० केजीभन्दा मुनीको समूहमा खेल्ने अनुलाई फिटनेसलाई लिएर चिन्ता छ। ‘म आँफै पनि माइनस ५० मा खेल्ने मान्छे। हिजो वेट जोख्दा ५४ पुग्न लागिसकेकी रहेछु,’ उनले सुनाइन्, ‘४ केजी तौल बढ्दा असर गरिरहेको छ जस्तो लाग्छ। घर बसेपछि एक्ससाइज खानेकुरा लगायतमा मेन्टेन हुँदैन।’
घर बस्दा ट्रेनिङलाई सम्झिन्छिन उनी।
‘हामी बिहान र बेलुका दुई टाइम ट्रेनिङ गर्थ्यौं। त्यसले गर्दा फिजिकल फिटनेस कायम राख्न सजिलो थियो। टेक्निकहरु दिमागमा बसिरहन्थ्यो। अहिले त्यो हराउँदै गएको छ,’ उनले भनिन्।
अझ कोरोनाको बढ्दो संक्रमणले मनोवैज्ञानिक रुपमा पनि असर गर्दै लगेको छ।
प्रतियोगिता अगाडि आउँदा जस्तो अभ्यास गर्न सकेकी छैनन्। ‘टुर्नामेन्टहरु हुँदा अहो! भोलि गेम छ भनेजस्तो हुन्छ र अलर्ट भइन्छ। अनि ट्रेनिङ डाइटहरुमा ध्यान जान्छ। अहिले चाहीँ सबै नै शून्य जस्तो भएको छ,’ अधिकारीले भनिन्, ‘खेलकुदको गतिविधि भइहाल्यो भने पनि सोचेजस्तो अलि दिन सकिँदैन कि जस्तो महसुस गरिरहेको छु।’
+++
त्यसो त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पनि खेललाई विस्तारै फर्काउँदै लैजाने बताएका छन्। यसका लागि छलफलहरु पनि अघि बढेको छ। त्यसमा पनि सुरुमा व्यक्तिगत खेलको अभ्यासलाई सुरुमै फर्काउने चर्चा छ। यसो भएको खण्डमा अनु अभ्यासमा फर्कन सक्नेछिन्।
यसबारे उनलाई खासै केही जानकारी त छैन। तर अब पनि अभ्यासमा नफर्किए ढिला हुन्छ कि भन्ने चिन्ता उनमा छ।
‘यसरी त स्पोर्टमै भनेर लागि परेका हामी जस्ता खेलाडीको त फ्युचर नै डामाडोल हुन्छ। टेस्ट गराएर या मापदन्डहरु बनाएर विदेशमा पनि विभिन्न लिगहरु चलिरहेका छन्। यहाँ पनि असम्भव नै त छैन होला,’ उनी भन्छिन्, ‘सबै पूर्वाधारहरु बनिसकेको छ। ठाउँहरु छ। अहिले खेलाडी छनोट पनि सजिलो छ। साग सकिएको धेरै भएको छैन। भोलिको दिनमा खेल भयो भने हामी पनि तयार रहन्छौं।’
बरु त्यहीँ बस्ने ट्रेनिङ लगायतको ब्यवस्था गर्नसके धेरै समस्या होलाजस्तो उनलाई लाग्दैन। ‘हामी यसरी नै बसिरह्यौ भने चाहीँ एकदमै करियर नै भोलि के होला भन्ने हुन्छ जस्तो लाग्न थालिसक्यो,’ उनले भनिन्।
त्यसो त ओलम्पिक पनि पछि धकेलिएको छ। तर सामान्य अवस्था छिट्टै भयो भने त नयाँ मितिमै ओलम्पिक हुने सम्भावना पनि छ। त्यसको लागि तयारी अहिले नगरे ढिला हुने निश्चित छ। त्यसमा पनि छनोट चरण खेल्नै छ।
‘ओलम्पिक भइहाल्यो भने पनि हामी तयार त बस्न पर्यो नि। नेपाललाई वाइल्ड कार्ड अनि सेलेक्सनको माध्यमबाट जाने अवसर छ। कराँते पनि इन्भल्भ हुँदैछ। फ्रान्समा सेलेक्सन हुने थियो। त्यो पनि रोकियो,’ उनले भनिन्।
+++
दोस्रो हुनुको पीडा
जीवनमा उनी दुईपटक दोस्रो बनिन्। पहिलो ११ औं सागमा। दोस्रो आठौं राष्ट्रिय खेलकुदमा।
सागमा दोस्रो हुँदा उनले बुझ्न सकिरहेकी थिइनन् खुशी हुने या दुखी?
त्यतिबेला उनलाई लागेको थियो गोल्डबाहेक अरु मेडलको भ्यालु बराबरी हुने रहेछ। यही सोचले उनलाई बारम्बार गोल्डको सपना देखाइरह्यो। दोस्रो हुँदा दु:खलाग्छ त भन्ने प्रश्नमा उनी यो परिस्थिति हेरेर हुने बताउँछिन्।
‘आफ्नो समूहमा कसैले मेडल हान्न सकेको छैन आफूले मात्र रजत हानियो भने त खुशी लाग्ला तर आफूले मात्र हान्न नसक्दा चाहीँ नराम्रो लाग्दो रहेछ, अधिकारीले थप स्पस्ट पार्दै भनिन्, ‘फाइनलमै पुगेको त हो तर त्यसको भ्यालु फरक हुने रहेछ। गोल्ड कै मात्र कुरा अघि आउँछ।’
दोस्रो हुँदा मनोविज्ञान पनि वढी कल्पना गर्ने किसिमको हुने उनको बुझाइ छ। ‘पछिसम्म पछुतो हुनेरहेछ। फेरि यो गेम भइदिए हुन्थ्यो। फेरि खेल्न पाए जित्थेँकी भन्ने लाग्दो रहेछ। पछिसम्म पनि सोच्न गार्हो हुनेरहेछ। मनमा औडाहा हुने रहेछ,’ उनले सुनाइन्।
उनलाई गोल्ड जित्न नसक्नुको पीडाले पछिसम्म छाडेन। सँगैको गोल्ड जित्नेले सेवासुविधा राम्रो पाए पनि फाइनलसम्मै पुगेर गर्न नसकेकोमा दुख लागिरह्यो उनलाई।
‘त्यतिबेला मैले गोल्ड ल्याउन सकिन। त्यतिबेला गोल्ड ल्याउनेले धेरै अवसर पाएका थिए जुन हामीले गुमायौं। त्यसपछी चाहीँ मैले पनि गर्नै पर्छ भन्ने भयो,’ अधिकारी भन्छिन्, ‘एउटा डेस्टिनेसन र प्लान र लक पनि चाहिने रहेछ। त्यसलाई मनन् गरेर बोकिराख्यो भने चाहीँ हुने रहेछ भन्ने म आँफै पनि उदाहरण हो कि जस्तो लाग्छ।’
११औं सा साग सकियो। २०१० देखि २०१९ सम्म आइपुग्दा उनले कुनै पनि राष्ट्रिय खेलमा पराजित भइनन्। तर सागको मुखैमा आठौं राष्ट्रिय खेलकुदमा त्यहाँ उनी पराजित हुनपुगिन्।
‘लामो समयसम्म सबैले चिन्दा चाहीँ सबैले जित्छ जित्छ भन्ने खालको थियो। तर म त्यहाँ हार्न पुगेँ,’ उनी सम्झन्छिन्, ‘यत्रो लामो समयसम्म नहारेको अब नेसनल टिममा बस्दाखेरी हार्ने जित्ने भइरहेको थियो। म मात्र नहारेको खेलाडी थिएँ। त्यहाँ हारेको पल चाहिँ कहिल्यै विर्सिँदिन।’
आठौं राष्ट्रिय खेलकुद सकियो। साग मुखमै थियो। त्यो हारबाट पाठ सिक्दै फेरि सेलेक्सन भयो र हारेको मान्छेले पनि जित्न सक्छ भन्ने एउटा उदाहरण बन्न सकिन् उनी।
‘सागमा पनि मैले उत्कृष्ट नतिजा नै हात पारेँ। किनभने नकाउटमा 0-8 0-8 ले कसैले पनि ल्याएको छैन। मैले प्रतिस्पर्धीलाई एकस्कोर पनि दिइन। यो मेरो लागि एकदमै ठूलो उपलब्धि थियो।’ उनी सम्झन्छिन्।
यसबाहेक उनले दुईवटा एसियन गेम खेलिन्। पछिल्लो इन्डोनेसियामा भएको एसियाडमा दुई फाइट जितेकी थिइन्।
+++
खेलको पाटो त छँदैछ। उनी सामाजिक कार्यमा पनि सक्रिय देखिएकी छिन् पछिल्लो समय। लकडाउनले समस्यामा परेकाललाई उनले सहयोग गरेको थिइन्। यद्यपि यो विषय सामान्य चर्चामा आयो तर सबै विषयहरु उनले सार्वजनिक गरिनन्।
उनी मान्छेले सम्पत्तिमा मात्र होइन भावनालाई पनि बुझ्नुपर्ने बताउँछिन्।
‘हामीले सरकारबाट केही रकम पाएका थियौं। जे जति भए पनि आँखा अगाडि चाहीँ अपाङ्ग समाज भन्ने थियो। त्यहाँ चाहीँ खान लाउन समस्या भएको भन्ने चर्चा चलिरहेको थियो,’ उनले भनिन्, ‘खेलाडीसँग पैसा प्रशस्त त कोहीसँग पनि छैन। समस्या हुन्छन्। तर अहिले आएको बेलामा चाहीँ धेरथोर भए पनि सहयोग गरौं भन्ने हिसाबले उहाँहरुलाई सँधै दिन सकिने त होइन जति सकिन्छ त्यति सहयोग गरेको हो।’
सहयोग गरेर आफुलाई सन्तुष्टि मिलेको उनी बताउँछिन्। ‘त्यसअघि पनि मैले एकल महिला लगायत दुई तिन तिर सहयोग गरेको थिएँ तर त्यो मैले चर्चामा ल्याइन,’ उनले भनिन्।
+++
सागमा स्वर्ण जित्ने एउटा सपना थियो अनुको, जुन पुरा भयो। अब उनको पुरा ध्यान छ ओलम्पिकमा।
‘जुनसुकै खेलाडीको पनि एउटा सपना हुन्छ ओलम्पिक खेल्ने। यसकै लागि चाहीँ हामी सिरिजहरु खेल्ने तयारीमा छौं हामी,’ उनी भन्छिन्, ‘हाम्रो लागि ओलम्पिकमा मेडल ल्याउनु भनेको तयारी एकदमै राम्रो भएको खण्डमा मात्रै हो। सम्भावना कम देख्छु।’
तर उनले यहाँ सम्भावना कम देख्छु भन्नुको मतलब हिम्मत हारेको भन्ने चाहिँ होइन। ओलम्पिकमा राम्रो प्रदर्शन गर्नसके भोलिको दिनमा मनोबल उच्च हुने उनको ठम्याइ छ।
‘हाम्रो चाहीँ त्यहाँ गएर प्रतिस्पर्धा राम्रो गर्न पायो भने भोलिका दिनमा ओहो ओलम्पिकमा पनि छ रहेछ है भन्ने खालको अवस्था हुनसक्छ भन्ने लाग्छ, आफूले १०० प्रतिशत दिन सके,’ उनले भनिन्, ‘ओलम्पिकका लागि छनोट भएको खण्डमा राम्रो गर्ने भन्ने छ।’
+++
लकडाउनले अहिले फुर्सदिलो बनाएको छ उनलाई। बिगत सोच्ने। सामाजिक सञ्जालमा रम्ने। भविष्यका योजना बुन्ने। अनि पढाइमा ध्यान दिने।
‘आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहेको छु। गेमले गर्दा पढाइमा खासै ध्यान दिन पाइरहेको छैन। कहिले के कहिले के भइरहेको थियो,’ उनले सुनाइन्, ‘अहिले फुर्सद भएकाले पढाइमा केन्द्रीत छु। साथसाथै स्पोर्टस करियरमा राम्रो गर्नसके यसैमा लाग्ने नसके अन्य प्राइभेट सेक्टरमा केही गरौं कि भन्ने छ।’
+++
जीवनमा सफल हुन मानिसलाई कसैको प्रेरणा मिलेको हुन्छ। अनुलाई कराँतेमा लागिरहनका लागि गुरु दीपक श्रेष्ठले धेरै इन्स्पायर गरेको जस्तो लाग्छ।
‘उहाँले चाहीँ हाम्रो लागि यति धेरै गर्नु भएको छ कि धेरै नराम्रो अवस्थाहरु आउँदा समेत खेलाडीलाई नकारात्मक प्रभाव पर्न दिनुहुन्,’ उनले भनिन्, ‘फोकस गर्नेदेखि लिएर डिसिजनसम्म हामी प्लेयरहरुलाई धेरै कुराहरु सिकाउनु भएको छ।’
खेलाडीहरु खेलमा केही छैन भनेर पलायन हुने मनस्थितिमा पुग्दा पनि श्रेष्ठले अझै यस्तो गर्नुपर्छ भनेर मोटिभेट गरेको उनी सम्झन्छिन्। ‘उहाँ नै मेरो लागि इन्स्पायर हुनुहुन्छ। गुरु या अझ भनौ न अभिभावककै रुपमा हुनुहुन्छ। उहाँ उदाहरण कै रुपमा हुनुहुन्छ। यो मैले मात्र होइन धेरै साथीहरुको मुखबाट सुन्ने गर्छु।’