काठमाडौँ : बर्दियाको गुलरियामा क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिकाको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका पुरुषको मृत्यु भएको हो।
'आज बिहान मृत्यु भएको छ। थप टेस्ट गरिरहेका छौँ,' गुलरिया नगरपालिका मेयर मुक्तिनाथ यादवले भने।
मृत्यु भएका पुरुष हिजो रातिमात्र अछामबाट गुलरिया आइपुगेका थिए। १३ जनाको समूहमा हिँड्दै आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो। बाटोबाट नै आफू मर्न लागेको भन्दै आएको जानकारी मेयर यादवले दिए। 'उनी हिँड्दै विरामी भएका थिए। परिवारलाई फोन गर्दै मर्न लागेँ भन्दै आएका थिए,' मेयर यादवले भने।
उनी अछामबाट ७ दिन अघि हिँडेका थिए। अछामबाट डोटीसम्म हिँडेर त्यसपछि बीच बीचमा गाडीबाट आएका थिए। उनको अहिले कोरोना सङ्क्रमणको परीक्षणको लागि टेस्ट गरिदैंछ। 'दमका बिरामी पनि हुन्। त्यसैले कोरोनाले नभएर अरू कारणले मृत्यु पनि भएको हुनसक्ने देखिन्छ,' मेयर यादवले भने।
