काठमाडौं : प्रदेश नम्बर १ को कोरोना संक्रमणमा हटस्पट बनेको उदयपुरको भुल्केको जीवन सामान्यतर्फ उन्मुख भएको छ। एक महिना भन्दा बढी समयदेखि लगाएको भुल्केको सिल आजबाट खुला भएको छ। संक्रमण फैलिन नियन्त्रण भएपछि आजदेखि सिल खोलिएको हो।
'अब धेरै सामान्य भएको छ। संक्रमण फैलिन रोकिएको छ। त्यसैले आजबाट सिल खोलेका छौं,' त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले भने।
भुल्केमा वैशाखको पहिलो साता एकै दिन १२ जनासम्म संक्रमिति देखिए थिए। त्यसपछि भुल्केमा एक घरबाट अर्को घरमा जान समेत निषेध गरिएको थियो। भुल्केमा संक्रमित संख्य ३३ सम्म पुग्यो र अहिले स्थिर रह्यो।
'सिलमात्र खोल हौं। तर, लकडाउन भने जारी छ,' मेयर चौधरीले भने।
एक महिनाको अवधिमा ३३ जनामा कोरोना सङ्क्रमण देखियो जसमा ३२ जना भुल्केका र एक जना बाहिरका मानिस थिए। सुरुमा भारतबाट आएका जमातीमा कोरोना संक्रमण देखिएको थियो। यी सबै अहिले संक्रमणमुक्त भएर अस्पतालबाट फर्किसकेका छन्।
त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार वडा नम्बर ३ को जनसङ्ख्या ८ हजार ६ सय ३० छ। त्यसमध्ये १५ सय जनसङ्ख्या भुल्के क्षेत्रको हो। त्यहाँका ५७ घरमा २ सय ८६ जना मुस्लिम समुदायका नागरिक बस्छन्। सङ्क्रमण देखिएका ५३ घर परिवार पहिलो ट्रेसिङमा परे। १ सय ३२ जनाको परीक्षण गरियो।
स्थानीय निकायले मुस्लिम समुदायमा संक्रमण देखिएपछि उनीहरुको परीक्षण गरिएको थियो। तीन पटकसम्म पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि सिल खोलिएको हो।
'अन्तिम पटक गरिएको परीक्षणमा सबैको रिजल्ट नेगेटिभ आयो। क्वारेन्टाइनमा भएकाको पनि नेगेटिभ देखियो,' मेयर चौधरीले भने।
अहिलेसम्म त्रियुगा नगरपालिकाको १२ सय ५० जनाको पीसीआर परीक्षण भइसकेको छ। त्यसमध्ये ५३ मुस्लिम समुदायका घरको तेस्रो पटक स्वाब परीक्षणको लागि पठाइएकोमा परिणाम नेगेटिभ आएको हो।