PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

नेपालका कुल संक्रमितको ४२ प्रतिशत प्रदेश ५ मा मात्रै, पाँच दिनमा थपिए सयभन्दा धेरै



विधुर ढकाल

नेपालका कुल संक्रमितको ४२ प्रतिशत प्रदेश ५ मा मात्रै, पाँच दिनमा थपिए सयभन्दा धेरै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार कोरोना संक्रमितहरुको संख्या देशभर हालसम्म सात सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये करिब ४२ प्रतिशत बढी संक्रमित प्रदेश ५ मा मात्र छन्।

प्रदेश ५ मा स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार हालसम्म तीन सय ३० पुगेको छ। वैशाख १९ गते पहिलोपटक रुपन्देहीका २५ वर्षे युवक र बाँकेका ६० वर्षे पुरुषमा संक्रमण पुष्टि भएको थियो।

Made with Flourish

त्यसको दुई दिनपछि वैशाख २१ गते बाँकेमा एकै पटक १५ जनामा संक्रमण पुष्टि भयो। भारतको भ्रमण गरी आएका बाँकेका पहिलो संक्रमितको ट्रेसिङबाट ती संक्रमित पुष्टि भएका हुन्।

यसको दुई दिनपछि पुन: ७ जनामा संक्रमण पुष्टि भयो। पहिलो संक्रमण पुष्टि भएपछिको तीन सातामा यहाँ दुई सय ११ पुग्दा सबैभन्दा बढी जेठ ५ गते एकैपटक ६१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै वैशाख २९ र ३१ गते २३/२३ जनामा संक्रमण पुष्टि भयो।

जेठ ७ गते पनि यहाँ २० जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै वैशाख ३० गते १७ र जेठ २ गते ११ जना गरी दोहोरो अंकमा संक्रमण पुष्टि भएको थियो।

मंगलबार एकै पटक कपिलवस्तुमा २६ जनामा संक्रमण पुष्टि हुँदा यो संख्या तीन सय ३० पुग्यो।

पछिल्लो पाँच दिनमा एक सयभन्दा धेरै संक्रमित

पहिलो संक्रमण पुष्टि भएको दुई सातामा प्रदेश ५ मा संक्रमितको संख्या एक सय नाघेको थियो। संक्रमण पुष्टि भएको १० दिनमा ५० नाघेको संक्रमितको संख्या त्यसको चार दिनमा जेठ २ गते बढेर १०५ पुगेको थियो।

त्यसपछिको एक सातामा संक्रमितको संख्या पुन: एक सयभन्दा बढीले माथि लाग्दै दुई सय नाघ्यो। त्यसको पाँच दिनमा संक्रमितको संख्या अर्को सयले बढ्दै तीन सय ३० पुगेको हो।

भारतसँग सीमा जोडिएको प्रदेश ५ का १२ जिल्लामध्ये तराईका सबै जिल्लामा संक्रमण पुष्टि भएको छ। भने पहाडी जिल्ला गुल्मी र अर्घाखाँचीमा पनि संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमण आठ जिल्लामा पुगेको छ।

यहाँ मृत्यु हुनेको संख्या दुई रहेको छ।

गुल्मीका एक जनामा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भयो। उनको ८ गते उपचारकै क्रममा मृत्यु भएको हो।

यो प्रदेशको दोस्रो तथा देशकै कोरोना भाइरसका कारण भएको तेस्रो मृत्यु हो। यसअघि जेठ ४ गते बाँके जिल्लाका एक युवाको क्वारेन्टाइनमा नै मृत्यु भएको थियो।

यहाँ देखिएका अधिकांश संक्रमितहरुको कनेक्सन भारतसँग जोडिएको देखिएको छ।

कुन जिल्लामा कति संक्रमित?

कोरोना भाइरसको संक्रमणमा यहाँका दुई जिल्लाले १०० को आँकडा पार गरेका छन्। बाँके जिल्लामा एक सय ५४ जनामा संक्रमण पुष्टि हुँदा कपिलवस्तु जिल्लामा १०९ जनामा संक्रमण पुष्टि भएको छ। मंगलवारमात्र कपिलवस्तुको यशोधरा गाउँपालिकाका २४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। कपिलवस्तु जिल्लामा पुष्टि भएका अधिकांश भारतबाट फर्किएका नागरिक हुन्।

Made with Flourish

बाँके जिल्लामा पहिलो संक्रमण पुष्टि भएका नागरिकको कनेक्सन भारत थियो। सुरुवातमा जिल्लामा उनको कन्ट्र्याक्ट ट्रेसिङमा परेका व्यक्तिमा संक्रमणको पुष्टि भयो। तर, पछि भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढ्न थालेसँगै संक्रमण पनि उच्च दरमा बढ्दै गयो।

जिल्लाको नरैनापुर गाउँपालिकामा मात्र एकसय बढी संक्रमित छन्। यहीँ एक जनाको क्वारेन्टाइनमै मृत्यु भएको थियो।

त्यस्तै, रुपन्देही जिल्लामा ४४ जना संक्रमित फेला परेका छन्। उनीहरु सबै भारतबाट आएका हुन्। त्यस्तै, बर्दियामा ७, नवलपरासी पश्चिममा ५, दाङमा ५, गुल्मीमा ४ र अर्घाखाँचीमा २ जना संक्रमित पुष्टि भएका छन्।

गुल्मीमा फेला परेका एक जना भारतबाट आएका भए पनि बाँकी तीन जनाको ट्राभल हिस्ट्री छैन। ८ गते मृत्यु भएका एक जना स्थानीय विद्यालयका प्रधानाध्यापक हुन भने उनको कन्ट्र्याक्ट ट्रेसिङबाट पुष्टि भएका अर्का व्यक्ति स्थानीय एक बैंकमा काम गर्ने छन्। त्यस्तै अर्का एक जना गुल्मीकै एक गाउँपालिकाका अध्यक्षसमेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell