PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

रक्सौलबाट बिहानैबाट नेपालीलाई भित्र्याउने क्रम सुरु, २५ जिल्लाका नागरिक देश भित्रिँदै

रक्सौलबाट बिहानैबाट नेपालीलाई भित्र्याउने क्रम सुरु, २५ जिल्लाका नागरिक देश भित्रिँदै

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : भारतबाट आज बिहान १० बजेसम्म ३ सय ७५ जना नेपाली भित्रिएका छन्। वीरगंजको सीमावर्ती भारतीय शहर रक्सौलमा अलपत्र रहेका ६ सय नेपालीलाई फिर्ता गराउने क्रमसँगै उनीहरु आउन थालेका हुन्।

नेपाल भित्रनेलाई लिन प्रमुख जिल्ला अधिकारी देखि मेयर र नेताहरु सीमाको पुलमा पुगेका छन्।

स्थानीय प्रशासनको पहल अनुसार बुधवार बिहानदेखि रक्सौलको विभिन्न क्वारेन्टाइनमा रहेका करिब ६ सय नेपाली नागरिकलाई  स्वदेश फिर्ता ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी गराए।

‘रक्सौलका अधिकारीहरुले बुधवारदेखि नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने भारतको माथिल्लो निकायको निर्देशन आएको छ, तपाईँहरु तयार रहनु होला भनेर सिडिओ सावलाई फोन आएको थियो,' बस्नेतले भने, 'सोही अनुरुप हामीले तयारी थालेका हौं। बुधवार विहानदेखि साँझसम्म जति रक्सौलमा फसेका नेपाली नागरिकहरु हुनुहुन्छ, सबैलाई नेपाल ल्याउछौं।’

भारतको विभिन्न राज्यका करिब ५ सय भारतीय नागरिकलाई मंगलवार भारत पठाइएको पनि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए। यसअघि गत मंगलवार पनि वीरगंज र पर्साको विभिन्न क्वारेन्टाइनमा फसेका २१० भारतीय नागरिकलाई आईसीपी भन्सार नाकाबाटै उद्धार गरी भारत पठाइएको थियो।

भारतीय नागरिक नेपालबाट भारत जान पाउने तर नेपालका नागरिकहरु भारतमा अलपत्र पर्ने घटनाले वीरगंजका मेयर, प्रदेश २ का मुख्यमन्त्री र नेपाल सरकारमाथि नै आलोचना भइरहेको थियो।

६ सय नेपाली नागरिकमध्ये नेपालका २५ वटा जिल्लाका बासिन्दा रहेको हुँदा सम्बन्धित जिल्लाका प्रजिअसँग छलफल भइरहेको र बसबाट उनीहरुलाई जिल्लामा पठाउने तयारी भएको छ।

भारतबाट आएकालाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा १४ दिन राखी पीसीआर नेगेटिभ आएपछि ७ दिनको होम क्वारेन्टाइनमा पठाइने तयारी भएको पर्साका सहायक प्रजिअ बस्नेतले स्पष्ट पारे।



ट्रेन्डिङ पोस्ट

Ncell