
काठमाडौं : संविधान संशोधनको विधेयक प्रतिनिधि सभाको सम्भावित कार्यसूचीबाट हटेको छ।
बुधवार दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले तयार पारेको थियो।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर जारी गरेको नक्सा स्वीकृत गर्नेगरी संशाोधन विधेयक तयार गरेको छ। जसलाई संसदले पारित गर्नुपर्छ।
तर, सरकारले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखसँगको बैठकपछि आजको कार्यसूचीबाट हटाउन सभामुखलाई आग्रह गरेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालवुटारमा मंगलवार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिबाट औपचारिक निर्णय गर्ने भन्दै केही समय माग गरेको थियो।
बैठकमा मधेसवादी दलहरुले भने आफूहरुले उठाउँदै आएका पूर्ववत् विषयहरुलाई पनि समेट्न आग्रह गरेको थियो। तर, प्रधानमन्त्री अहिले अन्य विषय समेटिन नसक्ने जवाफ दिएका थिए। कांग्रेसले पनि अरुले उठाएको विषय अहिले समावेश नगर्ने विषयमा सहमत भएको छ।
मधेशवादी दलहरुले राष्ट्रिय सहमतिबाटै संविधान संशोधन गर्न सुझाव दिँदै सहमतिको वातावरण प्रधानमन्त्रीले नै बनाउनुपर्ने बताएका छन्।