काठमाडौं : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको ५८ वर्षको उमेरमा निधन भएको छ।
वडा नम्बर ७ स्थित राष्ट्रिय माविमा थप क्वारेन्टाइन स्थापना गर्ने क्रममा वडाध्यक्ष रानालाई मंगलवार राती हृदयघात भएको र लगत्तै निधन भएको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले जानकारी दिए।
नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सह सचिव लेखराज जोशीले क्वारेन्टाइन बनाउने क्रममा राती ११ बजेतिर एक्कासी ढलेर बेहोस भएको र लगत्तै निधन भएको बताए।
उनका अनुसार रानाको शवलाई सेती प्रादेशिक अस्पताल लगिएको छ। अस्पतालमा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
राना काँग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए।

