PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कर्णालीमा सेना परिचालनको तयारी, अनुमतिका लागि केन्द्र सरकारलाई अनुरोध



पी बी खड्का

कर्णालीमा सेना परिचालनको तयारी, अनुमतिका लागि केन्द्र सरकारलाई अनुरोध

सुर्खेत : भारतबाट फर्किरहेका नागरिकको उचित व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले सेना परिचालनको अनुमति माग गरेको छ। भारतबाट आउने नागरिकको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने भन्दै सेना परिचालनको स्वीकृति लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन्।

भारतबाट आएका नागरिकमध्येमा संक्रमण देखिएको छ। जसले गर्दा पनि प्रदेशमा महामारी फैलिन सुरु गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षासम्बन्धी अन्य कार्यहरुमा खटिरहेको भन्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य प्रभावित हुने हुँदा सेनालाई परिचालन गर्न लागिएको जनाएको छ।

८० हजार कर्णालीवासी भारतमा रहेको र अहिले लकडाउनकै अवधिमा झण्डै ३० हजारको हाराहारीमा आउने अनुमान छ। तर, अहिलेसम्म प्रदेशमा आवश्यक व्यवस्थापन कमजोर भएकै कारण सेना परिचालनमा जोड दिएको हो।

पछिल्ला दिनमा भित्रिएका नागरिकका लागि आवश्यक क्वारेन्टाइनको व्यवस्था छैन। प्रदेशमा अहिलेसम्म स्थानीय र प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन बेड संख्या १८ हजार १६४ मात्रै छ। जसमा अहिले चार हजार एक सय ९० जना महिला क्वारेन्टाइनमा बसिरहेका छन् भने चार हजार ६ सय ६८ जना पुरुष दुवै सरकारले निर्माण गरेका क्वारेन्टिनमा छन्।

नाम मात्रका क्वारेन्टाइन पर्याप्त नहुँदा कर्णालीका स्थानीय र प्रदेश सरकारले भित्रिएका नागरिकको व्यवस्थापन गर्न सकेका छैनन्। प्रदेश सरकारको अनुरोधमा नेपाली सेनाले वीरेन्द्रनगरमा बनाएको चार सय क्वारेन्टाइन मध्ये दुई सयको मात्रै मापदण्ड पुरा छ। बाँकी मापदण्ड अनुसारका छैनन्।

यसअघि चिकित्सक तथा स्वास्थ्यकर्मीले भारतबाट आउने नागरिकको उद्धार तथा क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिन सुझाव दिएका थिए। आवश्यक बन्दोवस्तका लागि नेपाली सेनालाई नदिए कर्णालीको अवस्था भयावह हुने चेतावनी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell