कैलाली: मंगलबार ३ घण्टाका लागि गौरीफन्टा नाका खोलियो। त्यहाँबाट ५ हजार २४२ नेपाली स्वदेश फर्किए। आफ्नो माटो टेके।
त्यही भीडमा मिसिएका थिए उनी जो देश फर्किएर सोझै अस्पताल पुगेका थिए। जसले अस्पतालमा कोरोना परीक्षणको लागि पालो कुर्दाकुर्दै ज्यान गुमाए।
कैलालीको गौरीगंगा नगरपालिका ९ का ६५ वर्षीय ती पुरुषले बुधबार बिहान देहत्याग गरेका हुन्। करिब ६ बजे, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डेका अनुसार उनको मंगलबार आकस्मिक कक्षमा सामान्य उपचार गरिएको थियो। चिकित्सकहरुले मास्क र पञ्जामात्रै लगाएर उनको स्वास्थ्य परीक्षण गरेका थिए।
‘अवस्था सामान्य देखिए पनि कोरोना परीक्षण गर्नुपर्छ भनेर कुरा थियो। त्यसैले संक्रमित राख्ने भन्दा छुट्टै शंकास्पद बिरामी राख्ने आइसोलेसनमा राखेका थियौं’, डाक्टर पाण्डेले भने, ‘तर एकदिन नबित्दै उनको अवस्था जटिल बन्यो। उपचार सुरु गर्नुअघि निधन भयो।’
बिहीबार बिहान १० बजेपछि स्वाब संकलन गर्ने तयारी थियो।
मृत्युपछि भने तत्काल स्वाब लिइयो र परीक्षणका लागि पठाइयो। बुधबार दिउँसो उनको रिपोर्ट नेगेटिभ आयो।
पुर्ख्यौली घर सुर्खेत भएका मृतक २०५८ सालमा कैलाली बसाईँ सरेका हुन्। गत पुस पहिलो साता भारत गएका थिए उनी। आँप टिप्ने सिजनमा त्यहाँ जानु र सिजन सकिएपछि नेपाल फर्कनु उनको बाल्यकालदेखिकै मजदुरी हो। उनीजस्तै मजदुरीका लागि जानेहरुको आधा वर्ष नेपालमा बित्छ अनि आधा वर्ष भारतमा।
जेठ ११ गते महाराष्ट्रको रत्नागिरीबाट स्वदेशका लागि ३७ जनासँग गाडी रिजर्भ गरेर हिँडेका थिए उनी। सुरक्षाका लागि थोरै मानिस मिलेर रिजर्भ गरेका हुन्। प्रति व्यक्ति साढे ७ हजार रुपैयाँ भाडा तिरेर।
१३ गते १२ बजेतिर गौरीफन्टा नाकामा आइपुगेका हुन् उनीहरु। १ दिनका लागि खानाको जोहो गरेर हिँडेका उनीसँग १३ गतेसम्म खानका लागि औषधिबाहेक अन्य केही थिएन।
उनीसँगै फर्किएका ढकबहादुर जेठारका अनुसार मृत्यु भएको पछिल्लो १२ घण्टा अघिदेखि भोकै थिए उनी। लामो समयदेखि दम र टाउको दुखाइ भोगिरहेका उनले मंगलबार १० बजेतिर खाली पेट ५ वटा ट्याब्लेट एकसाथ खाएका थिए।
‘नियमित औषधि खाने मानिस हुन्’, जेठारले भने, ‘१२–१३ घण्टा भएको थियो हामी खाना नखाएको। भोक र दुखाइको झोकमा ५ वटा ट्याब्लेट एकसाथ खाए। सायद औषधिले नै असर गर्यो।'
गाडीमा छँदै उनको छट्पटाहट महसुस गरेको सँगै आएका साथी शेरबहादुर ताडीले बताए। नाकामा आइपुगेपछि भने एक्कासी बेहोस भएको बताउँछन् उनका साथीहरु। लगत्तै उद्धार गरी सेती अस्पताल पुर्याइएको हो।
ताडीका अनुसार भारतको अस्पतालमा जाँच गराउँदा चिकित्सकले उनलाई टाउकोको अपरेशन गर्नुपर्ने र खर्च धेरै लाग्ने बताएका थिए। तर आर्थिक अभावका कारण उनले उपचार गराउन सकेनन्। औषधिको भरमा दुखाई मेट्ने असफल प्रयास गरिरहे।
उनका छिमेकी मिलन ओलीका अनुसार उनी धेरै अघिदेखि बेलाबेला बेहोस भइरहन्थे। स्थानीय स्वास्थ्य संस्थामा परीक्षण गराउँदा समस्या पत्ता लागेको थिएन। ओलीले भने,'उनकै कमाइले चलेको परिवार थियो। अब झन् लकडाउनका बेला यस्तो समस्या आइपर्यो।’
उनको घरमा श्रीमती, र ४ जना नातिनातिना छन्। उनका ४ जना छोराबुहारी भने मजदुरीका लागि भारतमै छन्।
उनीसँगै आएका ३५ जनालाई मसुरीयास्थित महादेव माविको क्वारेन्टाइनमा राखिएको गौरीगंगा नगरपालिका ९ का वडाध्यक्ष हरि तिवारीले बताए। स्वास्थ्य सामग्री अभावका कारण परीक्षणमा भने समस्या भइरहेको उनको भनाई छ। उक्त क्वारेन्टिनमा ६० जना छन्।