
एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० मा नेपालले सहभागिता जनाएको छ।
कोभिड-१९ को प्रकोप बढेका बेला खेलाडीलाई क्रियासिल गर्दै मानसिक पीडाबाट मुक्त गराउँदै स्वस्थ बनाउने उद्देश्यले आजदेखि प्रतियोगिता शुरु भएको हो।
४ जुनसम्म संचालन हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष तर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र महिलातर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी दिइन्।
प्रतियोगिता स्विस प्रणाली अन्तर्गत ९ चरणको हुने छ। ३.२ जोन अन्तर्गत हुने प्रतिस्पर्धामा नेपाललगायत बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स गरी ५ राष्ट्रले सहभागिता जनाउने छन्। च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउने छन्।
नेपाल रहेको जोनको प्रतियोगिता बिहान पौने १० बजे देखि अपरान्ह ३ बजे सम्म हुने छ।