PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बारामा बुधवार स्वास्थ्यकर्मीसहित ८ जनामा देखियो संक्रमण



राधेश्याम पटेल

बारामा बुधवार स्वास्थ्यकर्मीसहित ८ जनामा देखियो संक्रमण

वीरगंज : बारामा बुधवार एकै दिन एक स्वास्थ्यकर्मीसहित आठ नयाँ कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिका वडा नम्बर १ स्थित क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीसहित आठ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण भएको स्वाबको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये स्वास्थ्यकर्मी रौतहटका हुन् भने अन्य सात पचरौता नगरपालिका वडा नम्बर १, २, ५ र ७ का हुन्।

संक्रमित हुनेमा एक महिला समेत रहेकी छिन्। गत वैशाख ३१ गते सीमा नाका भएर भारतको विभिन्न राज्यबाट भित्रिरहेको अवस्थामा सुरक्षाकर्मीहरुले उनलाई क्वारेन्टाइनमा राखेका थिए। सोही क्वारेन्टाइनमा खटेका दुई सैनिक पनि मंगलवार संक्रमित भइसकेका छन्।

पिपरपाती क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र भारतबाट आएका नेपाली नागरिक गरी ५८ जनाको स्बाव संकलन गरी गत जेठ ७ गते काठमाडौं पठाइएकोमा बुधवार नतिजा आएको हो। ५७ जनाको परीक्षण गर्दा १३ संक्रमित भेटिएका छन् भने एक जनाको रिपोर्ट आउन बाँकी छ।

संक्रमित आठ जनालाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय बाराका कोरोना फोकल पर्सन शंकर गुप्ताले जानकारी दिए। बारामा अब संक्रमितको संख्या ५५ पुगेको छ।

यसअघि बारामा सात प्रहरी, दुई सेना, महागढीमाई नगरपालिकामा २१, सिम्रौनगढ नगरपालिकामा ७, करैयामाई गाउँपालिकामा तीन, पचरौता गाउपालिकामा तीन, आदर्श कोतवाल गाउँपालिकामा दुई, जीतपुरसिमरा उपमहानगरपालिकामा एक र बिश्रामपुर गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन्।

संक्रमितमध्ये करैयामाई गाउँपालिकाका ७० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो। अन्य संक्रमितमध्ये जीतपुरसिमरा उपमहानगरपालिका एक र सिम्रौनगढ नगरपालिकाका एक गरी दुई जना उपचारपछि घर फर्किएका छन्।

बिश्रामपुर गाउँपालिकाका एक पुरुषको वीरगंजको गण्डक अस्पतालमा उपचार भइरहेको छ भने बाँकी कलैया अस्पतालको आइसोलेसनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell