PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

तथ्यांकमा कोरोना भाइरस : कुल संक्रमित मध्ये ७६ प्रतिशत काम गर्ने उमेर समूहका



विधुर ढकाल

तथ्यांकमा कोरोना भाइरस : कुल संक्रमित मध्ये ७६ प्रतिशत काम गर्ने उमेर समूहका

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट हालसम्म नेपालमा ८८६ जना संक्रमित भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सातै प्रदेशका ४६ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।

 

पछिल्लो तथ्यांकअनुसार ५८ हजार २७७ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गर्दा ८८६ जनामा पोजेटिभ देखिएको हो। संक्रमितमध्ये १८३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। चार जनाको मृत्यु हुँदा ६९९ जना अहिले उपचारका क्रममा आइसोलेसनमा रहेका छन् भने ७० हजार ३०५ जना हाल क्वारेन्टाइनमा रहेका छन्।

संक्रमितमध्ये ९० जना अर्थात कुल संक्रमित मध्ये १० प्रतिशतमात्र महिला संक्रमित देखिएका छन्। संक्रमित पुरुषहरु ९० प्रतिशत छन्। कुल संक्रमितमध्ये ७९६ जना पुरुष संक्रमित छन्।

उमेर समूहका आधारमा संक्रमित

नेपालको तथ्यांकअनुसार संक्रमितमध्ये काम गर्ने उमेर समूहका बढी छन्। कुल संक्रमितमध्ये ७६ प्रतिशत काम गर्ने उमेर समूह अर्थात २० देखि ५० वर्षसम्मका छन्। जसमध्ये २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी ३६ प्रतिशत संक्रमित छन्। त्यस्तै ३१ देखि ४० वर्षसम्मका २५.१ प्रतिशत र ४१ देखि ५० वर्ष उमेर समूहका १० प्रतिशत संक्रमितजसमध्ये भएका छन्।

त्यस्तै ११ वर्ष देखि २० वर्ष उमेर समूहका २०.४ प्रतिशत संक्रमित छन्। ५१ देखि ६० वर्ष उमेर समूहका संक्रमित हरु ३.४ प्रतिशत रहेका छन्। संक्रमित मध्ये ६१ देखि ७० वर्ष उमेर समूहका १.६ र ७१ देखि ८० वर्ष उमेर समूहका ०.५ प्रतिशत संक्रमित भएका छन्।

सबैभन्दा बढी प्रदेश ५ मा

संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश ५ मा संक्रमित छन्। प्रदेश ५ मा ३६५ जना संक्रमित भएका छन्। प्रदेश ५ का ९ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै प्रदेश २ का सबै ८ जिल्लामा संक्रमण पुगेको छ। यहाँ संक्रमितको संख्या तीन सय कटेको छ। यहाँ संक्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै प्रदेश १ मा पनि संक्रमितको संख्या एक सय कटेको छ। यहाँ संक्रमित १०३ रहेका छन्।

प्रदेशगत रुपमा डिस्चार्ज हुनेमा प्रदेश २ अगाडि छ। यहाँ ९७ जनाले कोरोना भाइरसलाई पराजित गर्दै डिस्चार्ज भइसकेका छन्। त्यस्तै प्रदेश ५ मा ३८ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा ३० जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। बागमतीमा ११ सुदुरपश्चिममा ५ र गण्डकीमा दुई जना उपचार पछि डिस्चार्ज भएका छन्।  

 

 

Made with Visme Infographic Maker



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell