PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दाङका सबै कोरोना संक्रमित भारतका विभिन्न स्थानबाट फर्किएका



रासस

दाङका सबै कोरोना संक्रमित भारतका विभिन्न स्थानबाट फर्किएका

घोराही : दाङमा बुधवार कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन्। दाङमा बुधवार कोरोना संक्रमित पुष्टि भएका १५ जनासहित संक्रमितको संख्या १८ पुगेको छ। उनीहरु सबै विभिन्न मितिमा भारतबाट फर्किएका हुन्।

जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणबाट बुधवार एकै दिन कोरोना पुष्टि भएका १५ जनामध्ये घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ जना छन्। घोराही १० र १८ ले निर्माण गरेको क्वारेन्टाइनमा बसेका सात संक्रमित सबै भारतको नयाँ दिल्लीबाट गत जेठ ९ गते फर्किएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिए।

उनीहरुलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उपमहानगरपालिकाले ल्याएर सिधै क्वारेन्टाइनमा राखी स्वाब परीक्षणको लागि पठाइएको बताइएको छ। संक्रमण पुष्टि भएका सातै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेसनमा लगिएको घोराही उपमहानगरपालिका कोरोना फोकल पर्सन विकेश रेग्मीले जानकारी दिए।

यस्तै, लमही नगरले जेठ ९ गते २२ र ११ गते ४७ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाएकामध्ये बुधवार कोरोना संक्रमण पुष्टि भएका आठ जना पनि भारतका विभिन्न ठाउँबाट फर्किएका व्यक्ति रहेको नगरपालिकाले जनाएको छ। संक्रमितमध्ये वडा नम्बर १ का २३ वर्षीय पुरुष तथा वडा नम्बर २ का ३० र १७ वर्षीय पुरुष जेठ ९ गते हैदरावादबाट कृष्णनगर नाका हुँदै लमही आएका थिए। यस्तै वडा नम्बर ४ का २६ वर्षीय पुरुष राजस्थान र वडा नम्बर ५ का २० वर्षीया महिला तथा २० र २३ वर्षीय पुरुष पनि भारतका दार्जिलिङ, पञ्जाब र दिल्लीबाट आएका हुन्।

लमही नगर प्रमुख कुलबहादुर केसीका अनुसार दार्जलिङबाट आएकी २० वर्षीया विद्यार्थी भारतको सिलगुडी हुँदै नेपालको झापाबाट धरान आएको र धरानबाट दाङका ५० जनाभन्दा बढी मिलेर गाडी रिजर्भ गरेर दाङ आएका हुन्। ती महिलासँगै घोराही, तुलसीपुर र भालुवाङका यात्रु पनि सँगै आएको महिलाले दिएको जानकारीबाट खुलेको उनले बताए। वडा नम्बर ८ का अर्का २३ वर्षीय पुरुष भने दिल्लीबाट आएका थिए। संक्रमित सबैलाई उपचारका लागि कोरोना अस्पताल बेलझुण्डी पुर्‍याइएको नगर प्रमुख केसीले बताए।

यसअघि घोराहीमा भेटिएका कोरोना संक्रमित पनि दिल्लीबाट कृष्णनगर हुँदै जेठ ३ गते दाङ आई सोझै कुइरेपानी क्वारेन्टाइनमा बसेका थिए। समुदायमा हेलमेल नभएकाले सामुदायिक संक्रमण नभए पनि उनीहरुसँग गाडीमा अरु ३२ जना आएकाले सबैको परीक्षणको तयारी रहेको घोराही उपमहानगरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell