PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कोरोनाका कारण पाँचौ मृत्यु, 'जिल्ला बाहिर गएको रेकर्ड छैन, खै कसरी संक्रमण भयो?'



सहयोग रञ्जित

कोरोनाका कारण पाँचौ मृत्यु, 'जिल्ला बाहिर गएको रेकर्ड छैन, खै कसरी संक्रमण भयो?'

काठमाडौं : देशभर कोभिड १९ को संक्रमण फैलिदै गइरहेको अवस्थामा उपत्यकामा भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। ललितपुरको किस्ट अस्पतालमा उपचार गराइरहेका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। 

मृतक ललितपुर महानगरपालिका वडा २२ का बुंगमतीका स्थानीय रहेको बताइएको छ। उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य रहेकी पम्फा भुसालले कोरोनाका कारण एकजनाको मृत्यु भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।

२२ वडा अध्यक्ष अम्बिरराज शाक्यले आफूलाई जनप्रतिनिधि र प्रहरी अधिकारीहरुले फोन गरेर आफ्नो वडामा एकजनाको मृत्यु भएको र उनमा कोरोना पुष्टि भएको जानकारी दिएको बताए।

 'केही समयअघि मात्र मलाई खबर आयो। उहाँ यही कै स्थानीय हुनुहुन्छ,' उनले भने।

शाक्यका अनुसार मृतक व्यक्ति लकडाउनको समयमा बाहिरी जिल्ला गएका थिएनन्। 'स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि अस्पताल लगिएको हो।  उहाँ कतै बाहिर जानु भएको छैन। खै कसरी संक्रमण भयो,' शाक्यले भने।

उनमा कोरोना संक्रमण भएको पुष्टि मृत्युपछिमात्रै भएको थियो।  पहिला उनलाई पाटन अस्पताल लगिएको तर त्यहाँ आइसियु नभएपछि किस्ट अस्पताल रिफर गरिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालले बताए।

मृतकमा कोरोना पुष्टि भएसँगै बुङमती क्षेत्रमा मानिसहरुको हिँडडुलमा कडाई गरिएको छ। कसैलाई पनि घरबाहिर ननिस्कन भनिएको उनले  बताए।

'अब भोलिबाट ट्रेसिङको काम सुरु हुन्छ। त्यसपछि मात्रै उनलाई कसरी कोरोना लाग्यो भनेर थाहा पाउन सकिएला।'

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।  ललितपुरमा हालसम्म एकजनामा मात्रै कोरोना संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell