PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आउँदा तगडा, संक्रमणको संकेत पनि छैन : परीक्षण गर्‍यो, भटाभट पोजेटिभ !



सविन ढकाल

आउँदा तगडा, संक्रमणको संकेत पनि छैन : परीक्षण गर्‍यो, भटाभट पोजेटिभ !

काठमाडौं : बुधवार देशभर १ सय १४ जना कोरोना सङ्क्रमित थपिए। विभिन्न जिल्लामा संक्रमिति थपिँदा झापा पनि अछुतो रहने कुरा भएन।

झापामा १७ जना सङ्क्रमित पुष्टि भए। थपिएका सङ्क्रमितमध्ये १५ जना कचनकवल गाउँपालिका देखिए। दुई जना भने गौरादह नगरपालिकाका हुन्। गौरादह नगरपालिकामा पहिलो पटक सङ्क्रमित भेटिएका हुन्। उनीहरू भारतबाट आएको खुलेको छ।

प्रदेश नम्बर एकमा सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको गाउँपालिका कचनकवल हो। अहिलेसम्म ४८ जनामा कोरोना पोजेटिभ आएको छ। कचनकवल गाउँपालिकामा यसअघि ३३ जनामा सङ्क्रमण देखिएको थियो। त्यसैले अहिले प्रदेश नम्बर १ को हट स्पट कचनकवल बनेको छ।

उदयपुरको भुल्के वडाको हिसाबले सबैभन्दा धेरै सङ्क्रमित भएको प्रदेश नम्बर १ को हटस्पट हो। भुल्केमा ३२ जनामा सङ्क्रमण देखिएको थियो। तर, भुल्के अहिले सङ्क्रमण फैलिनबाट नियन्त्रणमा आइसकेको छ। ४० दिनदेखि जारी सिल खोलिएको छ। अवस्था सामान्यतर्फ उन्मुख हँदैछ। तर, कचनकवलको अवस्था असामान्यतिर धकेलिँदैछ।

बुधवार सङ्क्रमित १५ जना भारतको मुम्बई र दिल्लीबाट आएका युवा हुन्। उनीहरू भारतको विभिन्न नाकाबाट लुक्दै छिप्दै गाउँ आइपुगेका थिए। अहिले पनि भारतबाट आउने क्रम रोकिएको छैन। दैनिक १० देखि १५ जना युवा गाउँ फर्किने गरेका छन्।

'दैनिक आइरहेका छन्। खबर हुँदैन। एकैचोटी गाउँमा आएपछि थाहा हुन्छ,' गाउँपालिका अध्यक्ष अन्जरा आलमले भने।

यो गाउँपालिका झापा जिल्लाको दक्षिणी भेगमा छ। पूर्व र दक्षिणमा भारतसँग सिमाना जोडिएको, नेपालकै होचो स्थानमा भएको गाउँपालिका हो यो। ९ हजार घरधुरी र ४२ हजार जनसङ्ख्या रहेको गाउँपालिकाका अधिकांश युवा रोजगारीको लागि भारतमा पुगेका छन्। ५ हजार युवा भारतमा रहेको अनुमान गरिएको छ। उनीहरू लकडाउनपछि गाउँ फर्किने क्रम बढेको छ।

'उनीहरू भारतमा ट्रेन चलेपछि आउने क्रम बढेको छ। उनीहरूले नै कोरोना ल्याएको देखिन्छ। अहिलेसम्म यहाँ भएकालाई देखिएको छैन,' अध्यक्ष आलमले भने।

गाउँ फर्किएका युवाहरूमा कुनै कोरोनाको सङ्क्रमणको देखिने गरेको छैन। तगडा नै देखिएका हुन्छन्। तर जब क्वारेनटाइनमा राखेर स्वाब परीक्षण गरिन्छ रिजल्ट पोजेटिभ आउँछ। सङ्क्रमण देखिएका ४८ जनामध्ये १० जनालाई विराटनगर अस्पताल र बाँकीलाई धरानको बीपी कोइराला मेमोरियल अस्पतालमा राखिएको छ। यसरी अस्पतालमा राखिएकामध्ये एक जनामा सामान्य रुघाखोकी छ। बाँकी सामान्य छन्।

'अहिलेसम्म सङ्क्रमण भेटिएका कसैलाई पनि कुनै लक्षण छैन। सबै सामान्य छन्। तर चेक गर्दा पोजेटिभ हुन्छ,' अध्यक्ष आलमले भने।

कचनकवल गाउँपालिकाको ६ वटा क्वारेनटाइनमा ४ सय जना छन्। जसमा अहिलेसम्म २ सय ६७ जनाको स्वाब लिइसकेको छ। पहिलो चरणमा १ सय ५ जनाको स्वाब लिएर परीक्षण गर्दा ३३ जनामा कोरोना देखिएको हो।

त्यसपछि १ सय ६२ जनाको स्वाब लिएर परीक्षणको लागि विराटनगर पठाइएको थियो। बुधवार १ सय ६२ जनामध्ये ६५ जनाको मात्र रिजल्ट आएको हो। जसमा १५ जना सङ्क्रमित भेटिए। बाँकीको रिजल्ट आउन बाँकी नै छ।

अहिलेसम्म गाउँपालिकाले गाउँ फर्किएका युवालाई राख्नको लागि ५ सय क्षमता भएको क्वारेनटाइन बनाएको छ। तर, भारत पुगेका ५ हजार युवा नै गाउँ फर्किए भने के गर्नै? कसरी व्यवस्थापन गर्ने? गाउँका अरूलाई पनि संक्रमण देखिए के गर्ने?

यी प्रश्नको जवाफ गाउँपालिका अध्यक्षसँग छैन। 'सबै फर्किए गाह्रो हुन्छ। हाम्रो क्षमताभन्दा बाहिर जान्छ। त्यसैले प्रदेश सरकारलाई पत्राचार गरेका छौँ। हेरौँ प्रदेश सरकारले के गर्छ,' गाउँपालिका अध्यक्ष आलमले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell