PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आइसीसीको गाइडलाइन अनुसार होला त नेपालमा क्रिकेटको 'कम ब्याक'?



मुकुन्द घिमिरे

आइसीसीको गाइडलाइन अनुसार होला त नेपालमा क्रिकेटको 'कम ब्याक'?

केही दिन अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले क्रिकेटलाई फर्काउनका लागि नयाँ गाइडलाइन्स जारी गर्‍यो। जसमा ४ चरणमा क्रिकेटलाई मैदानमा फर्काउने गाइडलाइनहरु छन्। कडा नियम र सुरक्षित तरिकाले आइसीसीले क्रिकेट फर्काउने योजना बनाएको छ।

अरु खेलहरु जस्तै क्रिकेट खेल ठप्प भएको २ महिनाभन्दा धेरै भइसकेको छ। अरु खेलहरु मैदानमा फर्कन थालेका छन्। हरेक खेलहरुले मापदन्ड बनाउँदै मैदान फर्कन थालेका छन्।

कोरोना पछि रोकिएको जर्मन बुन्डेसलिगा फुटबल चलिरहेको छ। कोरियन लिग पनि चलेको छ। त्यस्तै स्पेनिस, इङलिस, इटालियन फुटबल लिगहरु शुरु गर्ने तयारी छ। मार्सल आर्टका खेलहरु पनि सुचारु हुन थालेका छन्। यस्तोमा आइसीसी पनि क्रिकेट सुचारु गराउने होडमा देखिएको छ। तर, कोभिड १९ को संक्रमणबाट विश्व सामान्य अवस्थामा फर्किइसकेको छैन। दिनप्रतिदिन संक्रमण बढेको बढ्यै छ।

कोभिड १९ को प्रकोप रोक्न लकडाउन सुरुगर्दा नेपाली क्रिकेट विशेषगरी मारमा परेको थियो। एक त फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग रोकिएको थियो। अर्को लिग२ अन्तर्गत नेपालले खेल्ने खेल स्थगित भएको थियो। त्यस्तै क्यानले सुरु गर्दैगरेका आन्तरिक प्रतियोगिताहरु पनि प्रभावित बनेका थिए।

आइसीसीको गाइडलाइन अनुसार नेपाली क्रिकेट मैदान फर्किएला त?

बाहिर देशका कुरा गर्ने हो भने सरकारले नै खेलकुदलाई अनुमति दिने/ नदिने या अभ्यासका लागि मात्र अनुमति दिने या कुनै गतिविधि नदिने भनेर स्पस्टरुपमा निर्देशन दिइरहेका छन्। नेपालको सन्दर्भमा भने कुन कुन क्षेत्रलाई खोल्ने भन्ने बहस चले पनि खेलकुदलाई के गर्ने भन्ने सरकारले आधिकारिक रुपमा केही बताएको छैन।

अर्कोतर्फ राष्ट्रिय खेलकुद परिषदको तयारी छ, इन्डिभिज्वल खेलहरुमा अभ्यासका लागि फुकुवा गर्ने। यसमा सामान्य बहस भए पनि कहिले बाट फुकुवा हुने हो भन्ने निर्णयमा पुगिसकेको छैन। त्यस्तै राखेप सदस्यसचिव रमेशकुमार सिलवालले फुटबल पनि अलि सामान्य अवस्था बन्दै गए बन्द रंगशालामा गराउन सकिने बताएका छन्। तर, अवस्था सामान्य बन्नुको सट्टा ठीक विपरीत देखिएको छ। बन्द रंगशालामा फुटबल गराउने भन्ने कुरा अहिले ‘कुरैका लागि कुरा’ भनेजस्तो मात्र देखिएको छ।

यता, क्रिकेटमा के गर्ने भन्ने बहस चलेको छैन। आइसीसीले गाइडलाइन जारी गरे पनि तत्कालै खेलाडीलाई अभ्यासमा फर्काउने कसरतमा क्यान देखिँदैन।

नेपाल क्रिकेट संघ क्यानका पदाधीकारी ती गाइडलाई तत्कालीन रुपमा टेस्ट राष्ट्रहरुका लागि बढी सान्दर्भिक देखिएको बताउँछन्।

‘त्यो गाइडलाइनहरु खास गरी टेस्ट नेसनहरुका लागि जस्तो देखिन्छ, एसोसिएट सदस्यका लागि भन्दा पनि। ती राष्ट्रहरुमा चाहिँ तत्काल लागू गर्नेगरी निकालेको हो,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने।

गाइडलाइन सबै देशका लागि भए पनि देशपिच्छे अवस्था फरक भएकाले त्यसले फरक पर्ने उनको तर्क छ।

‘अब देशपिच्छे अवस्था पनि फरक छ। कहिले फर्कन सक्ने भन्न सकिने अवस्था छैन। कतिपय देशले चाँडै खोल्ला, कतिपयले ढिला खोल्ला,’ सचिव प्याकुरेलले भने, ‘त्यसैले लोकल लेभलमा कहिले गर्न सकिएला भन्ने हिसाबले मिनिमम यी कुराहरु पालना गर्ने गरी गेम खेल्ने भन्ने गाइडलाइन हो।’

प्याकुरेलले क्रिकेट अभ्यासका लागि मैदानमा फर्कने गाइडलाइन्स हिसाबले भन्दा पनि देश र परिस्थिति अनुसार फरक पर्ने बताए।

‘मूल कुरा चाहिँ हामी अब कहिले मैदान फर्कन सक्छौं, नियमित अभ्यासमा जान सक्छौं, खेलहरु फेरि सुचारु गर्न सक्छौं भन्ने कुराहरु भन्ने कुरा निर्क्योल नभइ ती कुराहरुले अर्थ राख्दैन,’ उनले भने।

बजेटको तयारीमा क्यान

खेल गतिविधिहरु ठप्प भए पनि क्यान अहिले बजेट बनाउने लगायतका नीतिगत पक्षहरुमा केन्द्रीत छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सोमवार सामाजिक सन्जालमार्फत् मैदानको स्तरोन्नती, बजेटको तयारी तथा आगामी योजना तर्जुमा लगायतमा क्यान जुटेको जानकारी दिएका थिए।

क्यानका सचिव तथा प्रवक्ता प्याकुरेलले यस विषयमा तयारी चलिरहेको र आइसीसीसँग संवाद पनि भइरहको अवस्थामा बढेको कोभिड १९ संक्रमणले प्रभावित पारेको बताए।

‘हाम्रो कार्यक्रम अनुसार वार्षिक बजेट त एक वर्ष भरी नेपाल क्रिकेट संघले के गर्ने भन्नेबारे हामीले आइसीसीलाई पेस गर्ने गरी कार्यक्रमहरु बनाइरहेको हो। बनाइरहेको थियौं। आइसीसीसँग कुरा पनि भइरहेको थियो,’ प्याकुरेलले भने, ‘तर अहिले ती कामहरु अड्किएका छन्। वार्षिक बजेट त हामीले बनाएर आइसीसीसँग हामीले अप्रुभ गराउनु छ। पास गर्नु छ। त्यो कामहरु पनि भइरहेको हो। तर, अहिलेको परिस्थितिले गर्दा अलि अलमल भइरहेको छ।’

यसमा आइसीसी नै पनि कोभिड १९ र लकडाउनबाट प्रभावित छ। जसले गर्दा सामान्य अवस्थामा जस्तो नभएर आइसीसीको ध्यान पनि अहिलेको अवस्थाबाट क्रिकेटलाई कसरी सामान्य अवस्थामा ल्याउने भन्ने नै छ।

‘आइसीसीकै पनि दुवई अफिस लकडाउनका कारण प्रभावित छ। उहाँहरुको प्राथमिकता पनि अलि फरक भएको छ,’ प्याकुरलले भने, ‘अहिले हाम्रो बजेट आएर जब सबै कामहरु सुचारु हुन्छ, नियमित रुपमा गर्नुपर्ने कामहरु बमोजिम त्यो अगाडि गइहाल्छ। त्यो त हामी आइसीसीसँग समन्वय गरेर गरिहाल्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell