PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपा र कांग्रेसले गणतन्त्र दिवसलाई उपलब्धी भनिरहँदा कमल थापाको काउन्टर : १२ वर्षअघि त्रुटि !



नेत्र तामाङ

नेकपा र कांग्रेसले गणतन्त्र दिवसलाई उपलब्धी भनिरहँदा कमल थापाको काउन्टर : १२ वर्षअघि त्रुटि !

काठमाडौं : मुलुकमा गणतन्त्र स्थापना भएको दिनको उपलक्ष्यमा सरकार प्रमुखदेखि प्रतिपक्षी नेताहरुले शुभकामना व्यक्त गरेका छन्। नेताहरुले जनआन्दोलन, जनयुद्धको बलमा गणतन्त्र आएको उल्लेख गर्दै यसै व्यवस्थामा जनताले स्वतन्त्रता उपभोग गर्न सक्ने बताएका छन्। गणतन्त्र दिवसलाई उपलब्धि मान्दै नेकपा र काँग्रेसका नेताहरुले १३ औं गणतन्त्र दिवसको शुभकामना दिँदा राप्रपा अध्यक्ष कमल थापाले भने ठीक विपरित यसलाई त्रुटि मानेका छन्।

कसको शुभकामना कस्तो?

मूर्छित सपनाहरुले साकार रुप लिन थालेस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र संमृद्धिका सपनाले सकार रुप लिन थालेको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत् शुभकामना दिदैं ओलीले आफ्नो देश आफैं बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको पनि बताएका छन्।

उनले भने, 'जनताको चेतनाले ठूलो फड्को मारेको छ। वर्षौँदेखि मूर्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन्। आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ। राष्ट्रिय एकता सुदृढ भएको छ।'

प्रधानमन्त्री ओलीले विश्वमा नेपालको छवि बलियो बन्दै गएको दाबी गर्दै विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको बताएका छन्।

'आफ्नो निर्णय आफै गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ। विश्व रङ्गमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ,' उनले दाबी गरे।

ओलीले गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अनुचित भएको भन्दै इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले नसक्ने चेतावदी दिएका छन्।

उनले कोरना विरुद्ध एक जुट भएर लड्न आग्रह गरेका छन्। कोरोनालाई परास्त गर्ने उनको भनाई छ।

'गणतन्त्र प्राप्तिको लामो र कष्टसाध्य सङ्घर्षको अनुभवमाथि आधारित भएर भन्न चाहन्छु यस चुनौतिलाई पनि हामीले परास्त गरिछाड्ने छौँ । भनिन्छ नि, रात जतिसुकै लामो भए पनि बिहानी अवश्यंभावी छ।'

राजतन्त्र प्रणाली फालेपछि गुणात्मक परिवर्तन : प्रचण्ड

यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको स्मरण गर्दै राजतन्त्रलाई फालेपछिको नयाँ राजनीतिक प्रणालीले व्यापाक सुधार आएको बताएका छन्।

'संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको छ,' शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, 'यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ।'

गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरू एकतावद्ध भई जन-अपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको औंल्याउँदै उनले कोरोना भाइरस (कोभिड -१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिएकालाई उच्च प्रशंसासमेत गरेका छन्।

काँग्रेसको नेतृत्वमा आएको हो गणतन्त्र : देउवा

काँग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसमा जनआन्दोलनलाई सम्झेका छन्। देउवाले लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै काँग्रेसको नेतृत्वमा गणतन्त्र आएको बताएका छन्। 'नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतापश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो,' देउवाले शुभकामना वक्तव्यमा भनेका छन्, 'नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।'

शुभकामना मन्तव्यमा उनले संविधान संशोधनको विषयमा काँग्रेसको धारणा पनि समावेश गरेका छन्। उनले भनेका छन्, 'लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू-भाग हुन्। संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं। नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु।'

राजनीतिक प्रयोगको थलो बन्न दिनु हुँदैन : रामचन्द्र पौडेल

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक संकटमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक रहेको पुष्टि कोरोन संक्रमणका बेलामा स्थानीय सरकारले देखाएको भूमिकाले स्पष्ट पारिसकेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले भनेका छन्, "संघीय गणतन्त्र देशलाई परि आउँदा कत्तिको उपयोगी रहेछ भन्ने कुरा कोरोना महामारीको महाविपत्तिमा हाम्रा स्थानीय तहहरुले देखाएको कार्य क्रियाशिलताले प्रमाणित गरेको छ।"

उनले नेपाली नेपाली जनताको सात दशक लामो सर्घषले नेपालमा राजनीति व्यवस्थाको टुंगो लगाएको बताउदै अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुनेमा जोड दिएका छन्।

"नेपाली जनताको ७० वर्ष लामो अथक संघर्षबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको अवस्था छ। देशमा पहिलो चोटी राजनीतिक व्यवस्थाको टुंगो लागेको छ," पौडेलले भनेका छन्, "अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु हुँदैन। यह" व्यवस्थालाई सुदृढ र स्थिर बनाएर मुलुकले विकासको काँचुली फेर्नु पर्छ।"

कमल थापाको काउन्टर यस्तो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भने नेकपा काँग्रेसको शुभकामना सन्देशको काउन्टर गरेका छन्। नेकपा र काँग्रेसका शीर्ष नेताले राजतन्त्र फालेर नयाँ राजनीतिक प्रणाली विकास गरेकोमा गर्व गर्दा राप्रपा अध्यक्ष थापाले भने १२ वर्ष अघिको त्रुटि सच्याउनुपर्ने बताएका छन्। उनले गणतन्त्र नभनी राजतन्त्रसहितको लोकतन्त्र आवश्यक रहेको तर्क गरेका छन्।

गणतन्त्र दिवसको शुभकामना दिँदै थापाले भनेका छन्, '१२ वर्षअघिको त्रुटि सच्याएर नेपालको भूराजनीतिक अवस्था र सामाजिक/सांस्कृतिक परिवेश अनुकुल राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्न आजको दिनले प्रेरणा प्रदान गरोस्।'

थापाले राजतन्त्रलाई सबै अटाउने व्यवस्थासमेत भन्न भ्याएका छन्। 'सबै अटाउने ब्यवस्थामा नै राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्न तथा सम्बृद्ध नेपाल निर्माण गर्न सक्छ,' थापाले लेखेका छन्।

हालै एक भएको समाजवादी जनता पार्टीले भने यो समाचार तयार पार्दासम्म कुनै नेताले शुभकामना सन्देश दिएका छैनन्।

सरकारले गणतन्त्र दिवसका अवसरमा बुधवार नै तीन दिनसम्म दीपावली गर्न सरकारले सबैमा अपिल गरिसकेको छ। जेठ १४, १५ र १६ गते साँझ दीपावली गर्न गृह मन्त्रालयले सबैमा आग्रह गरेको हो। जेठ १२ गतेको मन्त्रिपरिषदले तीन दिन दीपावली गर्ने निर्णय गरेको थियो।

तीनै तहका सरकारले दीपावली गर्ने निर्णय भएको थियो।

सरकारले सबै सरकारी तथा गैरसरकारी कार्यालय, आम नागरिक, विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलाई पनि निर्णयबारे सूचित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell