PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दिल्लीमा नेपालको सन्देश : भारतको एकतर्फी नक्साले सहमति तोड्यो, कालापानीबाट सेना हटाउ, चीनसँग जोडेर नहेरौं



पहिलोपोस्ट

दिल्लीमा नेपालको सन्देश : भारतको एकतर्फी नक्साले सहमति तोड्यो, कालापानीबाट सेना हटाउ, चीनसँग जोडेर नहेरौं

काठमाडौं: नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा विवाद खडा गरेको भारतसामु आफ्नो स्पष्ट अडान प्रस्तुत गरेको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै नयाँदिल्लीमा नेपालको सन्देश सुनाएका हुन्। ज्ञवालीले कालापानीबाट भारतीय सेना हटाउनुपर्ने, सडक निर्माण बन्द गर्नुपर्ने सन्देश सुनाउँदै भारत सरकार, मिडिया र जनतालाई नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले चीनसँग जोडेर नहेर्न आग्रहसमेत गरेका छन्।

आफूहरु वार्ताको माध्यमबाटै जान खोजेको तर भारतले एकतर्फी रुपमा नक्सा जारी गरेर सहमति तोडेको, सडक बनाउँदा पनि समय नदिँदा वार्ता हुन नसकेको उनले बताए।

अन्तर्वार्ताको सारसंक्षेप:

नेपाल र भारतले यथास्थितिमा विवाद बढाउनु हुँदैन। सीमा विवाद चाँडो भन्दा चाँडो समाधान गर्नुपर्छ। हामी चाहन्छौं कि भारतले सन् १८१६ को सुगौली सन्धीको सम्मान गरोस्। सबैभन्दा राम्रो यहीँ हुन्छ कि भारत आफ्नो सुरक्षा बललाई फिर्ता बोलाओस्। र हाम्रो जमिन हामीलाई छोडिदेओस्। नेपाली भूभागमा सडक बनाउने काम भारतले गर्न हुन्थेन। अझै पनि विवादलाई जतिसक्दो चाँडो सुल्झाउन जरुरी छ।

पछिल्लो वर्षको नोभेम्बरमा भारतले अचानक राजनीतिक नक्सा जारी गरेर हामीलाई निराश बनायो। यो नक्सा सन् १९९७ मा भारतका तत्कालीन प्रधानमन्त्री आइके गुजरालको नेपाल भ्रमणका क्रममा भएको सहमति विपरित छ। नेपालको सधैको प्रयास थियो कि परराष्ट्र सचिव स्तरमा सीमा विवादमाथि भारतसँग वार्ता प्रारम्भ होस्। तर हुन पाएको छैन। हामीलाई भारतका तर्फबाट कुनै जवाफ आइरहेको छैन।

सुगौली सन्धीकै कारण एक तिहाई भूभाग गुमायौं

ऐतिहासिक दस्तावेजलाई हामी नजरअन्दाज गर्न सक्दैनौं। ब्रिटिश इण्डियासँगको लडाईमा नेपालको हारपछि सुगौली सन्धी भएको थियो। नेपालीका लागि सुगौली सन्धी सम्झन लायक छैन। किनकि ब्रिटिश इण्डियासँगको लडाईमा पराजित हुँदा अफ्नो एक तिहाई भूभाग गुमाएका थियौं। हामी त्यो तथ्यलाई कसरी भुल्न सक्छौं कि जहाँ एक सन्धी भएको थियो, जसको आधारमा सीमाको निर्धारण भएको थियो। सर्वे टिमले १९८१ देखि यहीँ सन्धीकै आधारमा सीमा निर्धारण गर्दै आएको छ। सुगौली सन्धीबाटै नेपाल र भारतबीच सीमा तय भएको हो।

नेपाललाई चीनसँग नजोडौं

नेपालको विदेश नीति पूर्ण रुपमा स्वतन्त्र छ। हाम्रो सम्बन्ध भारत र चीन दुबै देशसँग छ। नेपाललाई चीनसँग जोड्नु र कुनै अन्य सम्बन्ध खोज्नु बेकारको कुरा हो। भारतले गत नोभेम्बरमा एकतर्फी निर्णय लिँदै नयाँ राजनीतिक नक्सा किन जारी गर्‍यो? काली नदीको पूर्वको क्षेत्र जहाँ कालापानी, लिम्पियाधुरा र लिपुलेक छ, त्यो नेपालको हो। सुगौली सन्धीको अनुच्छेद पाँचमा यो कुरा स्पष्टसँग उल्लेख छ।

भारतसँग हाम्रो सम्पर्क धेरै नै राम्रो छ। तर, हामी ट्रान्जिट रूटमा पनि अगाडि बढ्न चाहन्छौं। हामी चाहन्छौं कि भारत र चीन दुबै छिमेकीसँग हाम्रो सम्पर्क होस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell