
नयाँ दिल्ली : भारतमा गएको २४ घन्टामा ६ हजार ५ सय ६६ केस थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ३ सय ३३ पुगेको छ।
भारतमा एक दिनमा ६ हजारभन्दा बढी संक्रमित देखिएको यो लगातार सातौं दिन हो। मे २२ मा ६ हजार ८८ जना संक्रमित देखिएका थिए। त्यसयता हरेक दिन ६ हजारभन्दा माथि संक्रमित थपिएका छन्।
बुधवार बिहानदेखि बिहीवार बिहानसम्म भारतमा १ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ४ हजार ५ सय ३१ पुगेको छ।
महाराष्ट्र, तामिल नाडू, गुजरात र दिल्ली सबैभन्दा धेरै संक्रमणको प्रभावित राज्यहरु हुन्। महाराष्ट्रमा संक्रमितको संख्या ५६ हजार ९ सय ४८ पुगेको छ। त्यहाँ कोरोनाका कारण मर्नेको संख्या १ हजार ८ सय ९७ पुगेको छ।
भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ठीक हुनेहरुको संख्यामा सुधार आएको दावी गरेको छ। अहिलेसम्म संक्रमितमध्ये ४२.४५ प्रतिशत ठीक भइसकेका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा ७ सय ९२ नयाँ संक्रमित थपिएका छन्। यससँगै त्यहाँ संक्रमितको संख्या १५ हजार २ सय ५७ पुगेको छ। दिल्लीमा ३ सय ३ जनाले ज्यान गुमाइसकेका छन्।
भारत कोरोना प्रभावित संसारकै खराब मुलुकको सूचीमा १० औं स्थामा छ। विश्वभर कोरोनाबाट ५६ लाख भन्दा धेरै मानिस संक्रमित छन् भने ३ लाख ५० हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन्।