PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

प्रदेश २ मा संक्रमितको संख्या ४ सय : कहाँकहाँ भेटिए एकै दिन ७६ संक्रमित?



राधेश्याम पटेल

प्रदेश २ मा संक्रमितको संख्या ४ सय : कहाँकहाँ भेटिए एकै दिन ७६ संक्रमित?

वीरगंज : प्रदेश २ मा कोरोना संक्रमित हुनेहरूकोसख्या ४ सय पुगेको छ। बिहीवार एकै दिन प्रदेश २ को ८ जिल्लामध्ये ६ जिल्लामा ६ जना महिलासहित ७६ जना संक्रमितहरू थपिएका हुन्। प्रदेश २ मा कूल संक्रमितको संख्या ४ सय पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकासको सूचना केन्द्रका चिकित्सक डा. कमलेश यादवका अनुसार बुधवार रातिसम्म ३ सय २४ जना संक्रमित रहेका थिए। बिहीवार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ ७६ जना थपिए। ७६ जना मध्ये २ जनाको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान र ७४ जनाको राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा भएको पीसीआर परीक्षण गरिएको थियो।

७६ जनामध्ये ३ जना रौतहटमा, ७ जना सर्लाहीमा, १७ जना महोत्तरीमा, २९ जना धनुषामा, ६ जना सिरहामा र १४ जना सप्तरीमा रहेको खुलेको छ। रौतहटको राजदेवी नगरपालिकाका १२, २४, ३० वर्षका तीन जना पुरुष रहेका छन्। उनीहरू राजदेवी नपाको वडा नं ३ मा रहेको मुडबालवा माविको क्वारेन्टाइनमा रहेका छन्। यसरी रौतहटमा अब कूल संक्रमितको संख्या १ सय ९ पुगेको छ। जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् भने १ सय ६ जनाको रौतहटकै विभिन्न आइसोलेशन वार्डमा उपचार भइरहेको रौतहटका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख महेश साहले जानकारी दिए।

त्यसैगरी, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार सर्लाहीको मंलगवा नगरपालिकाको विभिन्न वडामा ७ जना संक्रमित भेटिएका हुन्। ती सबै जना पुरुष हुन्। मलंगवाको वडा नं ३ का २१, ६ का २६, ३० र ३१ वर्ष गरी ३ जना, वडा नं ९ का १७ वर्षे, ११ का १८ र ३० वर्षे गरी दुई जना रहेका छन्। ७ जना नै मलंगवाकै कर्भड हलको क्वारेन्टाइनमा रहेका थिए। उनीहरूलाई आइसोलेशन वार्डमा लगिँदैछ। अब सर्लाहीमा कुल ४० जनामा कोरोना पुष्टि भएको छ भने वीरगंज र काठमाडौंबाट १/१ गरी निको भएर घर फर्किसकेका छन्। सर्लाहीमा २० जना र १८ जना धुनषामा उपचाररत छन्।

त्यसैगरी, महोत्तरीमा भेटिएका १७ जना संक्रमितमध्ये १ महिला र १६ पुरुष रहेका छन्। १६ जना पुरुषहरूको उमेर १५ वर्षदेखि ४५ वर्ष छ। महोत्तरीको १७ जना संक्रमितमध्ये २ जना जलेश्वर पीपीएचएलको क्वारेन्टाइनमा र १५ जना जलेश्वरको एक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। त्यसैगरी, धनुषामा भेटिएका २९ जनामध्ये ५ जना महिला र २२ जना पुरुष रहेका छन्। महिलाहरूका लक्ष्मिनिया स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसिरहेका छन्। उनीहरूको उमेर ४, १४, २८ र ४१ वर्ष रहेको छ। एक जना जलेश्वर क्वारेन्टाइनमा बसिरहेकी २२ वर्षकी महिला पनि संक्रमित छिन्। संख्याको हिसाबले धुनषाको पीपीएचएल क्वारेन्टाइनका ७, जलेश्वर क्वारेन्टाइनका ३, लक्ष्मिनिया क्वारेन्टाइनका १८ जना र जनकनन्दनी क्वारेन्टाइनका १ गरी कूल २९ जना भेटिएका हुन्। २४ जना पुरुषहरूको उमेर १९ वर्षदेखि ७० वर्षको छ।

त्यसैगरी,सिरहाको ६ जना सबै पुरुष हुन्। एक जना पथरीका र ५ जना बरियारपट्टीका संक्रमित हुन्। सिरहा पथरीका १८ वर्ष, वरियारपुरका २५, १८, ४०, २५ वर्षका चार जना पुरुषको उमेर खुलेको छ। एक जनाको उमेर खुलेको छैन। सप्तरीको १४ जनामध्ये १३ जना बोदेबसाइन नगरपालिकाका र १ जना विसुनपुरका रहेका छन्। उनीहरु सबै पुरुष हुन्। १४ जनामध्ये २ जना धरानबाट पुष्टि भएका छन् भने १२ जना राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंबाट। सप्तरीको ३७ वर्षको पुरुषको टेकुबाट गरिएको परीक्षण रिपोर्टमा ठेगानामा सप्तरी (पर्सा) जिल्ला उल्लेख छ भने पालिकाको नाम स्पष्ट नभएको जनाइएको छ।

प्रदेश २ को आठ जिल्लामा ६ सय ४५ आइसोलेशन वार्डको क्षमता रहेकोमा ४ सय संक्रमित पुग्दा आइसोलेशन वार्ड बढाउनुपर्ने देखिन्छ। क्वारेन्टाइन बेडको क्षमता १६ हजार ९ सय १४ रहेकोमा हाल प्रदेश २ को आठ जिल्लामा करिब १३ हजार ४ सय २ जना रहेका छन्। प्रदेश २ को वीरगंजबाट ९३ जना निको भइसकेको समाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश २ मा भेटिएका सबै भारतबाट एक साताअघि नेपाल फर्केकाहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell