PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

सगरमाथाको नयाँ उचाइका विषयमा नेपालले चीनसँग छलफल गर्ने



पहिलोपोस्ट

सगरमाथाको नयाँ उचाइका विषयमा नेपालले चीनसँग छलफल गर्ने

काठमाडौं : उत्तरी छिमेकी चीनले सगरमाथाको उचाइ नाप्नका लागि खटाएको टोलीले बुधवार विहान सगरमाथाको चुचुरोमा पुगेर उपकरण जडान गरिसकेको छ। नेपाल सरकारले सगरमाथाको नयाँ उचाइको घोषणा गर्ने विषयमा चिनियाँ पक्षसँग छलफल गर्ने भएको छ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले चिनियाँ टोली सगरमाथा पुगेसँगै चीनमा चोमोलङ्मा भनेर चिनिने सगरमाथाको उचाइको विषयमा चिनियाँ पक्षसँग छलफल गर्ने बताएकी हुन्।

चिनियाँ सरकारी समाचार एजेन्सीसँगको कुराकानीमा उनले नेपाली पक्षले सगमाताको उचाइ नाप्ने काम सकिसकेको र चिनियाँ पक्षको प्रगतिलाई पर्खिरहेको बताएकी हुन्।

नेपाल र चीनले गरेको सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गरिने छ। यस सम्बन्धी सहमति गत अक्टोवरमा दुई देशबीच भएको थियो। चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणका क्रममा दुवै देशले सगरमाथाको उचाइ मापन गर्न वैज्ञानिक खोज गरिने घोषणा भएको थियो।

सगरमाथाको उचाइ नाप्न खटिएको सर्भेयर टोली चुचुरोमा पुगेकोमा भन्दै नेपाल तर्फबाट सगरमाथाको उचाइ नापेर फर्किएको टोलका प्रमुख खिमलाल गौतमले टोलीलाई बधाई दिएका छन्।

'चिनियाँ सर्भेयर साथीहरु तथा चीनको सर्भे विभागलाई बधाइ छ,' उनले सिन्ह्वासँग भनेका छन्, 'मलाई लाग्छ हामी विश्वका सबै सर्भेयरले एक अर्काको कामप्रति गर्व गर्नुपर्छ। सगरमाथाको ऐतिहासिक मापनमा खटिएको चिनियाँ सर्भेयर टोलीप्रति मलाई गर्व छ।'

गत वर्ष नेपाली टोलीले सगरमाथाको उचाइ नापेर फर्किएको थियो। गौतमले सगरमाथा आरोहणका क्रममा खुटाको बुढीऔला समेत गुमाएका थिए।

गौतम नेतृत्वको टोलीले सगरमाथाको चुचुरोमाथि रहेको हिँउ ग्राउन्ड पेनेट्राटिङ राडरले नापेको थियो। त्यस्तै त्यहाँ सेटलाइट नेभिगेसन डिभाइसको प्रयोग गरेको थियो। यो डिभाइसले चाइनाको पेइथोउ नेभिगेसन सेटलाइट प्रणालीबाट आवश्यक सूचनासमेत संकलन गर्नसक्छ।

गौतमको टोलीले संकलन गरेको तथ्यांक तथा नापी विभागको अन्य टोलीको सर्भेक्षणका आधारमा नेपालले सगरमाथाको उचाई सम्बन्धी तथ्यांकको विश्लेषण गरिरहेको छ।

'हामी तथ्यांक विश्लेषणको अन्तिम चरणमा पुगेका छौं। छिट्टै नै हामी उचाई घोषणा गर्ने अवस्थामा पुगिसक्छौं,' नेपालको नापी विभागका सचिव सुशील डंगोलले भनेका छन्।

२०१५ मा गएको भूकम्प पछि सगरमाथाको उचाइमा परेको असरलाई अध्ययन गर्नका लागि सरकारले टोली खटाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell