
काठमाडौं : सरकारले शिक्षालाई बजेटमा उच्च प्राथमिकतामा राखेको जनाएको छ। पूर्वाधारको विकास, गुणस्तरीय र जीवनउपयोगी शिक्षाका लागि बजेटमा प्राथमिकता दिइएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।
प्रस्तुत बजेटमा आधारभूत शिक्षामा सबैको पहुँच, माध्यमिक शुल्क निःशुल्क, मदरसा र गुरुकुल शिक्षालाई प्राथमिकता दिइएको छ। बाँकी रहेका ३४ जिल्लालाई पूर्ण साक्षर बनाई आउँदो वर्ष साक्षर नेपाल घोषणा गरिने कुरा पनि बजेटमा उल्लेख छ। राष्ट्रपति शैक्षिक कार्यक्रममा ६ अर्ब विनियोजन गरिएको छ।
कोरोनाबाट प्रभावित पढाइलाई भर्चुअल, अनलाइन, रेडियो टेलिभिजन कक्षा सञ्चालन गरेर अघि बढाइने छ। १ हजार ८ सय भवन र ३८ आंगिक क्याम्पस भवन स्थापना गर्न बजेट विनियोजन गरिएको छ।
छात्रवृतिलाई एकीकृत रुपमा लैजाने र यसबाट २६ लाख छात्रछात्रा लाभान्वित हुने गरी २ अर्ब ७० करोड विनियोजन गरिएको छ।
देशभर दिवा खाजा कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि ७ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको छ। यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन्।
स्थानीय तहबाट छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउन १ अर्ब ८२ करोड विनियोजन गरिएको छ।
निःशुल्क पाठ्यक्रमका लागि २ अर्ब ७६ करोड विनियोजन गरिएको छ। विश्वविद्यालय अनुदानका लागि १७ अर्ब २६ करोड विनियोजन गरिएको छ।