
काठमाडौं : देशको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय सम्पतीका रुपमा जगेर्ना गरिने अर्थ मन्त्री युवराज खतिवडाले बताएका छन्। उनले अर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिसँग जोडिएका विषयको अध्ययन, अनुसन्धान र विकास गरिनेछ बताएका हुन्।
मन्त्री खतिवडाले भने, 'जिवन्त इतिहासको रुपमा रहेका पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण सम्वर्धन र विकास गरिनेछ।'
उनले काठमाडौं उपत्यका भित्रको मौलिक संस्कृति तथा सम्पदाको जगेर्ना र पर्यटन प्रवर्धनमा जोड दिने समेत बताए। भने,'भक्तपुरबाट सुरु गरिएको रात्रीकालीन सम्पदा यात्रा उपत्यकाका अन्य क्षेत्रमा विस्तार गरिनेछ।'
कीर्तिपुरमा राष्ट्रिय संस्कृति संग्राहलय निर्माण कार्य अघि बढाउने, उपयुक्त स्थानमा वृहत सहिद पार्क निर्माण, सम्पदा सूचिमा रहेका सम्पदा संरक्षण र सम्वर्धन, वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा जोड दिने घोषणा समेत भयो। मन्त्री खतिवडाले लुम्बिनीमा निर्माणाधिन पाँच हजार मानिस अट्ने ध्यान केन्द्र तथा सभा हाल निर्माण सम्पन्न गर्ने बताएका छन्।
त्यस्तै जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृति सम्वर्धन र विकासको गुरुयोजना तर्जुमा गर्ने र काम अघि बढाउने बताएका छन्।
देवघाट, पाथीभरा, बराह क्षेत्र, हलेसी, रुरु, खप्तड लगायत क्षेत्र विकासका लागि आवश्यक रकमको व्यवस्था गरेको र रामायण परिपथ निर्माण र अमुर्त सांस्कृतिक सम्पदा जगेर्नाका लागि अभिलेख पुस्तिका तयारीका लागि समेत बजेट छुट्याइएको मन्त्री खतिवडाले घोषणा गरे।