
काठमाडौं : सरकारले खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ। आज बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले खेलकुदका पुराना कार्यक्रम निरन्तरता र नवौ राष्ट्रिय खेलकुद लगायतका विषयलाई समेट्दै २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।
‘संघ प्रदेश र स्थानिय तहको संयोजनमा खेल पूर्वाधारको निर्माण प्रतियोगिताको आयोजना र प्रशिक्षणका कार्यक्रम आयोजना गरिने छ,’ बजेटमा भनिएको छ, ‘निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा हन्य क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिषर निर्माण तथा अन्य प्रादेशिक रंगशाला निर्माणका लागि आवश्वयक रकम विनियोजन गरिएको छ।’
त्यस्तै, सरकारले हरेक स्थानीय तहमा खेलग्राम बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ।
त्यस्तै, नवौं राष्ट्रिय खेलकुदका सञ्चालन गर्न पूर्वाधार निर्माण गर्न र व्यवस्थापन लागिका लागि बजेट विनियोजन भएको छ। त्यस्तै कर्णालीमा खेलकुद पूर्वाधार निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ।
‘खेलकुद पूर्वाधारको कमी भएको कर्णालीमा राष्ट्रियस्तरको खेल सन्चालन हुन सक्ने गरी खेलकुद पूर्वाधार विकास गर्न उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र कभर्ड हल निर्माण गर्न बजेट ब्यवस्था गरेको छु,’ बजेटमा भनिएको छ।
यसअघि सरकारको नीति तथा कार्यक्रममा पनि राष्ट्रपती विद्यादेवी भण्डारीले उच्च पर्वतीय खेलकुद तालिम केन्द्रको निर्माण गरिने उल्लेख गरेकी थिइन्।
अघिल्लो वर्षमा भन्दा यसपटक बजेट घटेर आएको हो। अघिल्लो वर्ष खेलकुदमा ३ अर्ब ९९ करोड बिनियोजित थियो।