PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाबाट कायल स्थानीय सरकार : प्रदेशलाई भन्यो केन्द्र देखाउँछ, व्यवस्थापनमा स्थानीयकै अवरोध



प्रकाश भण्डारी

कोरोनाबाट कायल स्थानीय सरकार : प्रदेशलाई भन्यो केन्द्र देखाउँछ, व्यवस्थापनमा स्थानीयकै अवरोध

काठमाडौं : मंगलवार कपिलवस्तुको यशोधरा गाउँपालिकका २४ जनालाई कोरोना संक्रमण पुष्टि भयो। गाउँपालिका आइसोलेसन बेडको खोजीमा रह्यो। अबेर रातिसम्म लगाएर कपिलवस्तु नगरपालिका ११ मा आइसोलेसन कक्ष निर्माण भयो तर सार्ने बेला स्थानीयले विरोध गरे। संक्रमण फैलिने भन्दै स्थानीयले विरोध गरेपछि गाउँपालिका पछि हट्यो। संक्रमितलाई क्वारेन्टाइनमै अलग राखेर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई आवश्यक व्यवस्था गरिदिन आग्रह गर्‍यो।

भारतबाट धमाधम धेरैको संख्यामा स्थानीय फर्किँदा स्थान अभाव छ। यशोधराकै ९ जना यसअघि बुटवलको कोरोना विशेष अस्तपालमा उपचार गराइरहेका छन्। तीन जना घर फर्किए पनि अन्यको उपचार जारी छ।

गाउँपालिकाका सबै क्वारेन्टाइन पनि भरिभराउ छन्। परीक्षण गर्न पीसीआर किटको अभाव छ। जिल्ला जनस्वास्थ्य कार्यालयलाई आग्रह गरे पनि प्राप्त भएको छैन।

गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले भने, 'हामीले जिल्ला जनस्वास्थयलाई आग्रह गरेका थियौँ। उल्टै सकियो अबदेखि नमाग्नु होला भन्नुभयो।'

गाउँपालिकाले प्रदेशलाई गुहार्‍यो। जवाफ उस्तै आयो -हामीसँग किट छैन। केन्द्रलाई नै भन्नु।

बल्लतल्ल केन्द्रबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार २८० पीसीआर किट उपलब्ध गरायो।

किट उपलब्ध भएपछि गाउँपालिकालाई चिन्ता थपियो -परीक्षण ल्याबको।

प्रदेशमा नतिजा पठाउन ढिलाइ भएपछि काठमाडौँ पठाउने तयारी भयो। जेठ ७ गते ४६७ जनाको नमूना प्रादेशिक ल्याबमा पठाए पनि हप्ता दिनसम्म नतिजा नआएको दुबेले बताए।

परीक्षणमा लापरबाही भएको आरोप पनि उनको छ।

'हप्ता दिनसम्म पनि नतिजा आएको छैन। जहाँ धेरै संक्रमित छन् त्यहाँको नतिजा त तत्कालै आउनुपर्ने हो। हामीले जनताको पीसीआर गरिदेउ भनेर कुन नेतालाई सोर्स लाउनुपर्ने हो?,' दुबेले प्रश्न गरे।

नतिजा नआउँदा भारतबाट आएका मानिसहरु रातारात भागेको थालेको दुबेले बताए। कपिलवस्तुका अधिकांश संक्रमित यशोधराकै हुन्।

+++

यशोधरा जस्तै भोगाइ छ बाँकेको नरैनापुर गाउँपालिकाको पनि। दुर्गम ठाउँ हो नरैनापुर। क्वारेन्टाइन समेत व्यवस्था नभएका बेला एकैपटक ५९ जना संक्रमित भेटिएपछि गाउँपालिका निकै अफ्ठेरोमा पर्‍यो। संक्रमितलाई स्थानीय सरकारले ३ दिनसम्म पनि आइसोलेसनमा सार्न सकेन। ३ दिन क्वारेन्टाइनमै राखियो। प्रदेश ५ मा थुप्रै ठाउँका अस्पतालमा आइसोलेसन भए पनि प्रदेश सरकारले त्यसका लागि समन्वय गरेन। नरैनापुरकै स्वास्थ्य चौकीमा आइसोलेसन बनाउन स्थानीयले अवरोध गरे। तीन दिनपछि नेपालगञ्जको लायन्स डेण्टल हस्पिटल र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उनीहरुलाई राखियो। बाँकेका १५३ मध्ये ११४ संक्रमित नरैनापुरका हुन्।

हाल ६ सयभन्दा धेरै भारतबाट आएका क्वारेन्टाइनमा छन्। १४ दिन पूरा गरेका र आरडीटीमा नेगेटिभ आएकालाई घर पठाउने गरिएको छ। एकैपटक हजारौँ मानिस भारतबाट आउँदा गाउँपालिकालाई व्यवस्थान गर्न हम्मेहम्मे भइरहको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले बताए।

'एकैपटक भारतबाट धेरै मानिस आएपछि त हामीले कहाँ राख्ने, कसरी राख्ने समस्या पर्‍यो,' उनले भने।

+++

झापाको कचनकवल गाँउपालिका पनि केही दिनयता धेरै कोरोना संक्रमित भएको स्थानीय तह बनेको छ। ७३ संक्रमित छन् कचनकवलमा। भारतसँग सीमा जोडिएकाले दैनिक सयौँ मानिस आइरहेका छन्। उनीहरुका लागि पर्याप्त क्वारेन्टाइन छैन। क्वारेन्टाइन थप्न बजेटको अभाव भएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीनारायण पौडेलले बताए।

क्वारेन्टाइन बनाउन प्रदेश सरकारले ५ लाख पठाए पनि अरु सहयोग गरेको छैन।

'क्वारेन्टाइन बनाउन पैसा छैन। मानिस त्रसित छन्। आफ्नो ठाउँमा क्वारेन्टाइन बनाउन कोही दिँदैनन्। अहिले स्थानीय सरकारलाई धेरै अफ्ठेरो भएको छ,' उनले भने।

केन्द्र सरकार र प्रदेश सरकारले सहयोग नगर्दा महामारी नियन्त्रणबाहिर जाने चिन्तामा छन् स्थानीय सरकार।

कचनकवललाई पनि यही चिन्ता छ। 'केन्द्र र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने हो। तर हामीलाई सहयोग छैन। हामीलाई डर छ कतै महामारी नियन्त्रणबाहिर जाने पो हो कि,' उनले सुनाए।

+++

प्रदेश २ कोरोनाको रेड जोनमा छ। वीरगंज महानगरपालिकामा मात्रै ७७ जना संक्रमित छन्। निको हुनेको संख्या थपिँदा मिलेको केही राहतबाहेक अन्य ठोस योजना भेटिन्न। ६८ जना निको भएर घर फर्किएकाले तत्कालका लागि केही राहत मिलेको महानगरका प्रवक्ता अरबिन्द लाल कर्णले बताए।

'निको भएर नारायणी अस्पतालबाट घर फर्किने धेरै छन्। हामी खुशी छौँ। तत्कालका लागि केही राहत मिलेको छ। अब बाँकी ९ जना हाम्रो महानगरका छन्,' उनले भने।

भारतबाट वीरगंजमा पनि दैनिक हजारौँ मानिस आइरहेको छन्। उनीहरुलाई कता राख्ने चिन्ता छ महानगरलाई। कतिपय क्वारेन्टाइन समेत बस्न नमान्दा संक्रमण फैलने त्रास पनि छ। यसले स्थानीयमा त्रास फैलिएको महानगरका स्वास्थ महाशाखा प्रमुख डा. अरुणकुमार महतोले बताए।

महतो भन्छन्, 'भारतबाट आएकालाई हामीले सुरुबाटै निगरानीमा राखेका छौँ। परीक्षण पनि त्यही अनुसारले गर्दा अहिले धेरै मानिस निको भएर घर फर्किएका छन्,' उनले भने।

अन्य ठाउँको जस्तै वीरगंजको पनि प्रदेश सरकारसँग गुनासो छ। उपकरण तथा अन्य सहयोग गर्ने आश्वासन पाए पनि अहिलेसम्म नपाएको महतोले बताए।

'हामीलाई अहिले मुख्य चुनौती भनेकै क्वारेन्टाइनमा राख्नु र परीक्षण गर्नु हो। त्यसका लागि बजेट चाहिन्छ। प्रदेशमा कोष पनि छ तर स्थानीय सरकारको लागि भनेर पठाएको छैन्,' उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell