
कोरोनाको कारण खराब हालतका मुलुकको सूचीमा भारतले टर्कीलाई उछिनेको छ। यससँगै कोभिड-१९ संक्रमणले सबैभन्दा धेरै प्रभावित हुने मुलुकहरुको सूचीमा भारत नवौं स्थानमा उक्लिएको छ।
भारतमा आज बिहान ५:१७ बजेसम्म १ लाख ६५ हजार ३ सय ८६ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। नवौं स्थानमा रहेको टर्की दशौं स्थानमा झर्दा त्यहाँ संक्रमितको संख्या १ लाख ६० हजार ९ सय ७९ रहेको छ।
भारतमा अहिलेसम्म ४ हजार ७ सय ११ जानको कोरोनाका कारण मृत्यु भइसकेको छ। यद्यपि, मृत्युदरका आधारमा हेर्ने हो भने भारतको अवस्था अमेरिका र युरोपेली मुलुकहरुको तुलनामा कम नै हो। टर्की र भारतमा मृत्युदर करिब करिब उस्तै देखिएको छ।
अमेरिकामा १ लाख १ हजार ५ सय ७३ जनाले ज्यान गुमाइसकेका छन्। यो सबैभन्दा धेरै हो।
सबैभन्दा खराब अवस्थाको पहिलो सूचीमा अमेरिका नै रहेको छ। त्यसपछि ब्राजिल, रसिया र बेलायत क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। युरोपका स्पेन, इटाली र फ्रान्स क्रमश पाचौं, छैटौं र सातौं स्थानमा छन्। आठौं स्थानमा जर्मनी छ भने नवौंमा भारत।
अहिलेकै रफ्तार जारी रहने हो भने भारतले केही दिनमा नै जर्मनी र फ्रान्सलाई उछिन्ने निश्चित छ।