
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनको खराब उपहार भन्दै आलोचना गरेका छन्। उनले विश्वका लागि चीनले दिएको खराब उपहार भन्दै ट्विट गरेका छन् जसमा कोरोनाले मार्च गरिरहेको र त्यो राम्रो नभएको जनाएका छन्।
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख नाघेपछि ट्रम्पले यस्तो ट्विट गरेका हुन्।
'कोरोना भाइरसको पेन्डामिकबाट मृत्यु हुनेको संख्या एक लाख पुग्दा हामी अत्यन्तै दुखद् माइलस्टोनमा पुगेका छौं,' ट्रम्पले भनेका छन्।
All over the World the CoronaVirus, a very bad “gift” from China, marches on. Not good!
— Donald J. Trump (@realDonaldTrump) May 28, 2020
बुधवार नै अमेरिकामा मर्नेको संख्या १ लाख पार भएको हो। यो विश्वकै सबैभन्दा खराब अवस्था हो।
ट्रम्पले मृतकका परिवार र आफन्तहरुप्रति समवेदना प्रकट गरेका छन्।
अमेरिकाको पत्रिका द न्युयोर्क टाइम्सले मृत्यु भएकाको संख्यालाई कोरीयन युद्ध यताकै भएका सबैखाले युद्धमा मारिने अमेरिकी सेनाको संख्या भन्दा अत्याधिक भनेको छ।
सन् १९६८ मा यस्तै पेन्डामिक हुँदा अमेरिकामा १ लाख १६ हजार जनाको ज्यान गएको थियो। अमेरिकामा यसपालाको संक्रमणले सबै उमेर समूहमा प्रभाव पारेको छ। एसियन मूलका अमेरिकीमा ४.५ प्रतिशत संक्रमण देखिएको छ भने काला अमेरिकनमा २६.३ प्रतिशतमा संक्रमण देखिएको छ। विश्वभर कोरोनाका कारण ३ लाख ५५ हजार मानिसको ज्यान गुमिसकेको छ भने ५६ लाख मानिसहरु संक्रमणबाट गुज्रिएका छन्।