PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौंमा अलपत्र परेका भारतीय लिएर दैनिक ३० बस भारततिर



पहिलोपोस्ट

काठमाडौंमा अलपत्र परेका भारतीय लिएर दैनिक ३० बस भारततिर

काठमाडौँ : लकडाउनका कारण सबै हवाइ तथा स्थल यातायातहरु बन्द भएका छन्। लकडाउनको समयमा नेपालमा रहेका विदेशी नागरिकहरु पनि लामो समय यही थुनिए। चीन, अमेरिका, जर्मनी, फ्रान्स, रसिया, अष्ट्रेलिया लगायतका देशहरुले विमान नै चार्टर गरेर आफ्ना नागरिकलाई लिएर गए।

पछिल्लो समय भारतले समेत आफ्नो नागरिकलाई उद्धार गर्न थालेको छ, स्थल मार्गबाटै। काठमाडौं उपत्यका लगायत अन्य ठाउँमा रहेका भारतीय नागरिकलाई केही दिनेदेखि भारत लगातार लगिएको छ। बिहीवार पनि काठमाडौंका केही स्थानबाट मानिसहरु भारततिर लागेका छन्।

'केही दिनदेखि भारतले आफ्ना नागरिकको उद्धार गरिरहेको छ। विभिन्न बसबाट मानिसहरु भारत गएका छन्,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।

भारत सरकारले नेपाल सरकारसँग समन्वय गरेर गाडीको व्यवस्था गरी आफ्ना नागरिक लगेको प्रहरीले जानकारी दिएको छ। ३/४ दिनदेखि ३० देखि ३५ वटा बसले भारतीय नागरिक लगिरहेका छन्। नेपालमा आएर ज्याल मजदुरीदेखि व्यापार व्यवसाय गर्ने समेतलाई भारतले व्यवस्थित तरिकाले लगिरहेको हो।

पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको नेपाल भारत बस सेवाबाट भारतीय नागरिकलाई ओसारिरहेका हुन् उनीहरुले।

भारत सरकारले लकडाउन घोषणा गरेपछि नेपाल आउने नेपालीको सङ्ख्या पनि बढेको छ। सीमामा आएका नेपालीहरु अलपत्र परेका छन्। रोजगारीको लागि भारतमा पुगेका नागरिकलाई कसरी ल्याउने भन्ने सरकारको नीति परैको कुरा सीमामा आइपुगेकालाई देशभित्र भित्र्याएर कसरी व्यवस्थापन गर्ने भन्ने प्रभावकारी योजना समेत भएको देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell