PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खेलकुदमा घटेको बजेट: कसरी सामान्य?



मुकुन्द घिमिरे

खेलकुदमा घटेको बजेट: कसरी सामान्य?

बिहीवार अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे। समग्रमा खुम्चिएको बजेट खेलकुद क्षेत्रमा पनि खुम्चियो। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९९ करोडको खेलकुद बजेट यो आर्थिक वर्षमा आएर २ अर्ब ३६ करोडमा सिमित भयो।

खेलकुद क्षेत्रमा घटेर आएको बजेटलाई कतिपयले सामान्य रुपमा लिएका छन् भने कतिले साग सकिएसँगै खेलकुदलाई कम महत्व दिएको भनेर पनि अर्थ्याएका छन्। कोरोनाले अर्थतन्त्र लगायत खेल क्षेत्रमा नकारात्मक असर पारिरहेको समयमा यो बजेट सामान्य भएको भन्ने विश्लेषणहरु पनि  छन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जीवनराम श्रेष्ठ यस पटकको बजेट सन्तुलित आएको बताउँछन्। अहिले कुल बजेट घटेको र ठूला खेल गतिविधि नरहेका कारण बजेट घटेको उनको भनाइ छ।

‘खेलकुद बजेट घट्नुको पछाडी एउटा कारण त कुल बजेट नै घटेको छ। कोरोनाको महामारीले गर्दा ७७/७८ को कुल बजेट नै खुम्चिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘ कुल बजेट नै घटेपछि त्यसको असर त सबैतिर पर्ने नै भयो।’

अहिले मुलरुपमा कोरोनाबाट कसरी बच्ने भन्ने स्वास्थ्य क्षेत्रको कुरा र त्यसबाट प्रभावित जुन आर्थिक क्षेत्रलाई प्रभावित गरेको छ त्यसलाई पुनरुथ्यान गर्ने भन्ने विषय र रोजगारीको क्षेत्रलाई बजेटले केन्द्रमा राखेको हुँदा अरु क्षेत्र प्रभावित बनेको श्रेष्ठ बताउँछन्।

खेलकुदको सन्दर्भमा अघिल्लो आर्थिकवर्षमा दक्षिण एसियाली खेलकुद साग सम्पन्न भएकाले पूर्वाधार र प्रतियोगितामा धेरै खर्च नहुने हुँदा हालको बजेट सन्तुलित देखिएको सांसद श्रेष्ठले सङ्केत गरे।

‘गएको वर्ष राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको जिम्मेवारी हाम्रो थियो। त्यो सँगै आठौं राष्ट्रिय खेलकुद पनि थियो,’ श्रेष्ठले त्यतिबेलको सन्दर्भसँग जोडदै भने, ‘त्यसले गर्दा आठौंको तयारीको पूर्वाधारहरु तयारीका कुराहरु अनि १३ औं दक्षिण एसियाली खेलकुदको पूर्वाधार तयारीका कुराहरु र त्यसका कार्यक्रमका कुराहरु यी सबैकुराहरुले त्यो बजेटको साइज ठूलो भएको थियो।’

अहिले साग पनि सम्पन्न भइसकेको र सागका लागि पूर्वाधार निर्माण हुने क्रममा नवौं राष्ट्रिय खेलकुदका लागि पनि धेरै पूर्वाधारहरु निर्माण भइसकेको श्रेष्ठको बुझाइ छ।

‘१३औं दक्षिण एसियाली खेलकुद सम्पन्न भएसँगै पूर्वाधारहरु मर्मतसम्भार गर्ने तर्फचाहीँ मुख्यगरी ध्यान दिनुपर्ने हो। चालु योजनाहरुलाई निरन्तरता दिनु पर्‍यो,’ उनले भने, ‘अब ९ औं राष्ट्रिय खेलकुद बाँकी रहेको छ। त्यो पनि १३ औं दक्षिण एसियाली खेलकुद हुने क्रममै कतिपय पूर्वाधारहरु निर्माण भइसकेको छ।’

ठूला प्रतियोगिता अगाडि नभएको र नवौं राष्ट्रिय खेलकुदका लागि धेरै पूर्वाधार निर्माण बाँकी नरहेका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट घट्नु स्वभाविक भएको उनले बताए।

‘जुनखालको कोरोनाको प्रभाव विश्वव्यापी रुपमा छ त्यसले कतिपय कुराहरु चाहेर पनि हुन सक्दैन। अब यो विशेष परिस्थितिमा हामीले कसरी हाम्रो खेलाडीहरुलाई पशिक्षणमा निरन्तरता दिने भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘समग्र हिसाबले हेर्दा खेरी अब यो बजेट सन्तुलित नै छ भनेर मान्नु पर्छ।’

+++

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना अहिलेको बजेट भन्दा पनि योजना घटेको भन्न सहज मान्छन्।

‘यो बजेट घटेको होइन। योजना घटेको हो। प्रोजेक्टहरु घटेका हुन्। इभन्टहरु घटेको हो। त्यसले गर्दा बजेट घटेको जस्तो देखिएको छ,’ तिम्सिनाले भने, ‘जहाँ ३ अर्ब ६५ करोड १३औं सागका लागि विनियोजित थियो गतवर्ष। त्यो बजेट जोडेर गर्दा ९९ करोड बजेट भयो खेलकुदको नाममा आएको।’

अघिल्लो वर्ष साग जस्तो ठूलो इभन्ट भएकाले बजेट ठूलो भएको उनको भनाइ छ। अब अर्को वर्षमात्र १४ साग हुनेछ पाकिस्तानमा। जसका कारण प्रतियोगिता तयारीमा पनि धेरै समास्य नआउने तिम्सिना बताउँछन्। त्यस्तै सागका कारण पूर्वाधारमा पनि उल्लेखनिय सुधार भइसकेका तिम्सिना दाबी गर्छन्।

‘यो वर्षमा हामीले चाहीँ सम्पुर्ण खेल पूर्वाधार निर्माणहरु गरिसकेका छौं। धेरैजसो रंगशालाहरु। खाली क्रिकेट मैदान बाँकी छ। एउटा मूलपानीको सक्नला,’ उनले भने, ‘एउटा कभर्डहल भलिबलका लागि निर्माण गर्ने भनेर बजेटको छलफलमै अर्थमन्त्रीले भन्नु भएको थियो। त्यो बजेटमा आएको छ। प्रदेश सरकारमा र केन्द्र सरकारमा गर्दा बजेट बढी आउँछ।’

त्यस्तै यसपटकको बजेटले खेलकुदका कार्यक्रमहरु घटाएको स्वीकार्छन् उपाध्यक्ष तिम्सिना।

‘खेलकुदको कार्यक्रमहरु घटेको हो। विगतमा जस्तै उपराष्ट्रपति कप, प्रधानमन्त्री कप, उपमेयर कप, मेयर कप, गाविस अध्यक्ष कप त्यस्तो कपको नाममा चाहीँ धेरै इभन्ट हुन्थो,’ उनले थप स्पस्ट पार्दै भने, ‘त्यो कटेको छ। र कट्न जरुरी पनि थियो। किनभने त्यसबाट खेलकुदमा आउटपुटहरु आएन। त्यस्तो धेरै उपलब्धिहरु भएन।’

यस्ता प्रतियोगिताले राम्रा खेलाडी उत्पादनमा सहयोगी नदेखिएकाले यी प्रतियोगिता हटाइको तिम्सिनाको भनाइ छ।

‘कुनै असारमा खेल हुन्छन्। कुनै माघमा हुन्छन्। पर्फमेन्स दिने खालका वरीयताका खेलाडीहरु जन्मदैनन त्यस्ता खेलले,’ तिम्सिनाले थपे, ‘त्यसले गर्दा इभन्टहरु काटिएको कारणले बजेट काटिएको हो कि भन्ने छ।’

+++

यता राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ वजेटमा खेलाडी लाभान्वित हुने गरी खासै केही नआएको बताउँछन्।

‘बजेट घटेर आएको छ। हुन त पहिला बढेर आउँदा पनि खेलाडी धेरै लाभान्वित हुन त सकेनन्,’ उनले भने, ‘खेलाडीले प्रत्यक्ष रुपमा पाउने भनेको त्यही खेल हुँदा पाउने भत्ता पाउने हो। अनि अर्को कुरा पदक जितेबापत पुरस्कार पाउने। त्यति न हो हामीले पाउने।’

यद्यपि खेलकुदमा विकास बजेट बढेर आउँदा पनि खेलाडीहरुलाई राम्रो हुने भए पनि यसपटक घटेर आएकोमा दुखी देखिए।

‘खेलकुद विकासका लागि जति वजेट त्यति नै हामीलाई राम्रो हुने हो। विकास वजेट पोहोरको तुलनामा कम आएको छ,’ श्रेष्ठले भने, ‘सायद कोरोनाका कारण पनि होला। फाल्तु ठाउँमा बजेट नराखौं भन्ने सोचेको हो की? मुख्य कुरा भनेको खेलकुदलाई फाल्तु सोच्नु भएन।’

श्रेष्ठ कोरोनासँग खेलकुदको सन्दर्भ जोड्दै विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थसम्बन्धि निकायहरुले व्यायाम र खेलकुदमा जोड दिन भनिरहँदा खेलकुदमा प्राथमिकता घट्नु दुखद भएको बताए।

‘कोरोनाकै सन्दर्भमा हेर्नेहो भने पनि विश्वस्वास्थ्य संगठन अनि प्रधानमन्त्री स्वयं पनि सबैले अपिल गरेको छ। कमसेकम स्वस्थ रहन खेलकुदका गतिविधि गर्नुहोस। ब्यायाम गर्नुहोस भन्या छ,’ उनले भने, ‘त्यो गर्नका लागि भए पनि खेलकुदले केही न केही योगदान दिएको छ भने खेलकुदलाई किन धेरै खटाएन भन्ने हो।’

उनी यसविषयमा विरोधाभास देख्छन्। खेलकुदमा जोड दिने भनेर वजेट घटाएको तिर सङ्केत गर्दै श्रेष्ठले भने : एकातिर खेलकुद र ब्यायाममा जोड दिन भनेको छ अर्कोतिर खेलकुदमा बजेट चाहीँ घटाएको छ। यो चाहीँ दुख लाग्दो कुरा हो।

त्यस्तै राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा खेलाडीको प्रशिक्षण तथा प्रोत्साहन लगायतका विषय उल्लेख गरे पनि बजेटमा ती कुरा नआएको उनले बताए।

‘सरकारको नीति तथा कार्यक्रममा सबै खेलाडीलाई सबै ठाउँमा प्रशिक्षण देखि लिएर प्रोत्साहन देखिका कुराहरु लिएर गर्‍या थियो,’ उनले भने, ‘यो बजेटमा चाहीँ त्यो समावेश भएन। अब रातो किताबमा रहेछ भने त कुरै सकियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell