PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश २ मा कोरोना संक्रमितको संख्या पाँच सय नजिक, भारतबाट आउनेहरुमा धमाधम देखियो संक्रमण



राधेश्याम पटेल

प्रदेश २ मा कोरोना संक्रमितको संख्या पाँच सय नजिक, भारतबाट आउनेहरुमा धमाधम देखियो संक्रमण

वीरगंज : प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ। दैनिक संक्रमित थपिँदै जाँदा र भारतबाट नेपाल फर्किने क्रम जारी रहँदा प्रदेश २ को आठ जिल्लामा संक्रमितको उपचार, ट्रेसिङ र पीसीआर परीक्षणमा पनि समस्या उत्पन्न हुँदै गएको छ।

प्रदेश २ का आठ जिल्लामा १६ हजार बेड क्षमताको क्वारेन्टाइन रहेकोमा अहिले सम्म १३ हजार भन्दा बढि जनालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा रहेका सबै जना १० दिनभित्र भारतको विभिन्न राज्यबाट नेपाल प्रवेश गरेका हुन्। रौतहटमा मात्र ४ हजार २ सय जना भन्दा बढी क्वारेन्टाइनमा छन्।

त्यसैगरी, प्रदेश २ को आठ जिल्लामा ४९० जनामा संक्रमण पुष्टि भइसकेको अवस्था छ। प्रदेश २ को आठ जिल्लामध्ये रौतहट उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले भने, ‘दिन प्रतिदिन भारतबाट आउनेहरु बढिरहेका छन्, शुक्रवार साँझ ४ बजेसम्म करिब ८ सय जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ, भीटीएमको अभावमा क्वारेन्टाइनमा रहेका नागकिरको पूर्ण रुपमा पीसीआर परीक्षण गर्न सकिएको छैन। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको त परको कुरा हो।’

त्यसैगरी, उनले रौतहटमा रहेका क्वारेन्टाइनलाई नै सेमिआइसोलेसन वार्डको रुपमा परिणत गरी संक्रमितहरुको उपचारमा जुटेको बताए।

‘रौतहटका जतिपनि स्कुल कलेजहरु छन्, त्यसैलाई सेमिआइसोलसन बनाएर संक्रमित व्यवस्थापन गर्ने स्थानीय सुरक्षा समिति र जिल्लास्थित कोभिड ९९ संकट व्यवस्थापन केन्द्रमा छलफल भइरहेको छ,’ उनले भने।

रौतहटमा शुक्रवार ५६ जना थपिएसँगै अब १८१ जना कुल संक्रमित भएको बताइएको छ। शुक्रवार राजपुर नगरपालिकामा ३३, ईशनाथ नगरपालिकामा १५, मौलापुरमा ५ र बौद्धिमाई नगरपालिकामा २ गरी कुल ५६ संक्रमित थपिएका हुन्। राजपुरका ३३ जनामध्ये दुईजना महिला छन्। ५६ जना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बताए।

यसैबीच, पर्साको जिराभवनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका सोही पालिका वडा नम्बर ५ बस्ने ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए। अब पर्सामा कुल १० जना संक्रमितको उपचार जारी छ। बाँकी सबै निको भएर घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell