
सुर्खेत : कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले प्रदेश सभाको बैठकमा पेश गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रमको नारा फेरिएको छ। यद्यपि, लोकप्रिय कार्यक्रम भने उस्तै छन्।
आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार : यसका लागि पूर्वाधार’ भन्ने मूल नारा थियो भने, आगामी आवका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र आपूर्ति : रोजगारी, आजीविका, पूर्वाधार र समृद्धि’ भन्ने नारा सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
प्रदेश सरकारको लोकप्रिय मध्येको कार्यक्रम हो ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’। यो कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिएको छ।
त्यस्तै, अर्काे लोकप्रिय कार्यक्रम ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ लाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिएको छ।
यस्तै लोकप्रिय कार्यक्रम छुटाइएको छैन भने केही नयाँ कार्यक्रम पनि छन्।
आर्थिक तथा सामाजिक रूपमा पछि परेका दलित महिलाको समुचित विकास गर्न स्थानीय तहसँगको साझेदारीमा ‘दलित महिला आयआर्जन कार्यक्रम’ पनि यस वर्ष छुटाइएको छैन।
‘कर्णालीको पानी : जनताको लगानी’ अभियान सञ्चालनका लागि जलस्रोत गुरुयोजना तयार गरिने भएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम सञ्चालन गरी उत्पादनमूलक क्षेत्रमा युवा परिचालन गर्ने उल्लेख छ। मुख्यमन्त्री रोजगार कार्यक्रम परिमार्जन गरी सञ्चालन गर्ने, कृषि र उद्योगमा लगानी गर्ने युवाहरुलाई ऋण सहुलियत उपलब्ध गराइने उल्लेख छ।
त्यस्तै, वडास्तरमा श्रम सहकारी, श्रम कार्यदल र श्रम स्वयंसेवक कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
उक्त नीति तथा कार्यक्रममा कर्णालीमा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेहरुलाई भत्ता उपलब्ध गराइने उल्लेख छ। क्वारेन्टाइनमा बसेकाहरुलाई खाना, बस्नको व्यवस्था सहित निर्वाह भत्ता उपलब्ध गराइने भएको हो।
त्यसैगरी, कर्णाली राजमार्गमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ। कर्णाली राजमार्गमा हुने अत्यधिक दुर्घटनालाई मध्यनजर गरेर दैलेखको आठविस नगरपालिकाको राकममा ट्रमा सेन्टर स्थापना गरिने उल्लेख छ।
कर्णाली सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :