खेतभरी बन्दा फलेको छ। तर धेरै कुहिएका छन्। सन्देश गोसाइ आफ्नो खेतमा उब्जेको बन्दा टिप्दै एक ठाउँमा जम्मा गर्दैछन्। तर बेच्न होइन। मल बनाउन।
भक्तपुरको जगातीमा गोसाइ परिवारले किसानी गर्दै आइरहेको धेरै वर्ष भयो। करिब ६ रोपनी खेतमा बन्दा र मूला रोपेका थिए। तर बजार नपाउँदा बन्द र मूला कुहिएको छ। त्यसैले अब त्यसलाई मल बनाउने तयारीमा छ सन्देशको परिवार।
व्यापारीहरुले बजारमा बन्दा किलोको २० देखि २५ रुपैयासम्म बेच्दै आइरहेका छन्। तर किसानहरुलाई भने किलोको एक दुई रुपैयाभन्दा बढी दिने नगरेको बताउँछन् सन्देश। लाखौंको खर्च गरेर खेती गर्यो, खेतमा श्रम गरेको कदर हुने गरी पैसा पनि आउँदैन। त्यसैले भक्तपुरका किसान हाल बन्दालाई कम मूल्यमा बेच्नुभन्दा मल बनाउने तर्खरमा छन्।
‘धेरै व्यापारीहरुलाई भने तर कसैले पनि एक किलोको एक दुई रुपैया भन्दा बढी दिन्छु भनेन। त्यसैले अब यसलाई मल बनाउने। नबेच्ने।’ सन्देशले भने।
बजारमा व्यापारीहरुको हालिमुहली हुँदा तरकारीले बजार नपाएको बताउँछन् उनी।
हुन त: पहिले पनि तरकारीले बजार पाउन समस्या थियो। तर त्यसबेलामा बाहिर आफै गएर बेच्न जान सकिन्थ्यो। तर अहिले लकडाउनका कारण बन्दा खेतमा कुहियो।
लकडाउनका बेलामा जगातीमा तरकारी बेच्न नगरपालिकाले छुट दिएको छ। तर, प्रहरीले तरकारी बेच्न बस्दा लखेटेको गुनासो छ सन्देशको।
‘म त बिहान बेलुकी आएर आमाबुबालाई खेतको काममा सहयोग गर्ने हो। नगरपालिकाले बेच्न छुट दिएको छ। तर प्रहरीले बेच्न दिएन। बुबालाई चारपटक प्रहरीले लखेटेर पठाएछ। यता महंगोमा तरकारी बेच्न व्यापारीहरुलाई भने खुल्ला छ, ’ सन्देश भन्छन्।
शहरीकरण बढेसँगै खेतीयोग्य जमिन कम हुँदै गइरहेको छ। यद्यपि, केशरी गोसाइको परिवारले आफ्नो किसानी पेशालाई छोडेका छैनन्। तर यस्तै रहे धेरैले किसानी छाड्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन्।
‘अरु बेला ४ – ५ रुपैया थियो। अहिले १ रुपैया भन्छन्। बरु हामीले घाटामा बेच्न भन्दा आश्रममा दान दिने सोच्यौं। बाँकी भएकोको मल बनाउँछौं।’ सन्देश भन्छन्।
करिब ३ रोपनीमा रोपिएको बन्दा र २ रोपनीमा मूला रोपेका थिए। लकडाउनका कारण बजार ठप्प हुँदा तरकारी खेतमा नै कुहिएको बताउँछन् उनी।
‘आमाबुबाले मेहनत गरेको हो। उहाँहरुलाई धेरै घाटा भइसक्यो। नजिकै सडक भएको अवस्थामा यस्तो हाल छ। सडक नभएको अवस्थामा के हालत होला किसानहरुको? ’ उनी प्रश्न गर्छन्।